शीर्षकहरू

चुरे क्षेत्रको संरक्षण गर्न तीनै तहको सरकार र स्थानीयबीच सहकार्य आवश्यकः कार्यवाहक प्रधानमन्त्री सिंह

चुरे क्षेत्रको संरक्षण गर्न तीनै तहको सरकार र स्थानीयबीच सहकार्य आवश्यकः कार्यवाहक प्रधानमन्त्री सिंह

सिरहा । कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले चुरे क्षेत्रको संरक्षण तथा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि तीनै तहको सरकार र स्थानीयबीच सहकार्य आवश्यक रहेको बताएका छन् । 

लहानमा निर्माण सम्पन्न भएको नयाँ व्यापारिक भवनको आज यहाँ एक समारोहबीच उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले चुरेको दीर्घकालीन संरक्षणले मधेसमा देखिएको वातावरणीय समस्या समाधान हुने उल्लेख गरे । 

“नेपालको अर्थतन्त्रलाई अघि बढाउने क्रममा सहरी विकास तथा भवन निर्माण विभागले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दछु”, उनले भने । भवन निर्माण समयमै सम्पन्न गरेकामा प्रशंसा गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले यसले आयोजना समयमै सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको उल्लेख गरे । भवनको सही व्यवस्थापन र उपयोग गरिनुपर्नेमा उनले जोड दिए । 

कार्यक्रममा संविधानसभा सदस्य तथा नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले जिल्लाको कृषि क्षेत्रको विकासका लागि कमला नदी र कोशी नदीबाट पानी ल्याई सिँचाइ आयोजना निर्माण गर्न आवश्यक रहेको बताए । किसानलाई आवश्यक मलखाद सहज रुपमा उपलब्ध गराउन उनले सरकारसँग माग गरे ।