शीर्षकहरू

बुढीगण्डकीमा १० बैंकले साढे ५२ अर्ब रुपैयाँ ऋण लगानी गर्ने

बुढीगण्डकीमा १० बैंकले साढे ५२ अर्ब रुपैयाँ ऋण लगानी गर्ने

काठमाडौं । बुढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा १० बैंक तथा वित्तीय संस्थाल ५२ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् । तीन सय ४१ मेगावाटको यो परियोजनामा ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबिच प्रवद्र्धक कम्पनी टाइम्स इनर्जी र बैंक तथा वित्तीय संस्थाबिच ऋण लगानी सम्झौता भएको हो । 

सम्झौतापत्रमा टाइम्स इनर्जीका सञ्चालक सुशील थापा र नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।

यस परियोजनामा नेतृत्व गर्ने नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १० अर्ब रुपैयाँ ऋण लगानी गर्नेछ । सहनेतृत्व गर्ने बैंकहरू नबिल बैंकले ८ अर्ब, लक्ष्मी सन्राइज बैंकले ८ अर्ब र ग्लोबल आइएमई बैंकले ७ अर्ब रुपैयाँ ऋण दिनेछन् ।

यसैगरी, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले ४ अर्ब, माछापुच्छ्रे बैंकले ४ अर्ब, सिटिजन्स बैंकले ३ अर्ब, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ३ अर्ब, प्रभु बैंकले ३ अर्ब र कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ सदस्यका रूपमा ऋण लगानी गर्नेछन् । परियोजनाको ऋण भुक्तानी अवधि ५ वर्ष ४ महिना तोकिएको छ ।

७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनामा ७५ प्रतिशत लगानी ऋणमार्फत जुटाइएको हो । बाँकी २५ प्रतिशत लगाानी अर्थात् १७ अर्ब ५० करोड रुपैयाँ भने प्रवद्र्धक कम्पनीले स्वपुँजीका रूपमा लगानी गर्नेछन् । टाइम्स इनर्जीमा साहस ऊर्जाको ५१ प्रतिशत शेयर स्वामित्व छ । 

तीन सय ४१ मेगावाटको यो परियोजना प्रतिमेगावाट २० करोड ५३ लाख रुपैयाँमा बन्नेछ । नेपालमा परियोजना लागत प्रतिमेगावाट औसत २० करोडभन्दा बढी नै छ । तर, कतिपय परियोजनाको लागत प्रतिमेगावाट ३० करोड रुपैयाँभन्दा माथि पनि हुने गरेको छ, त्यो अवस्थामा यो लागत सस्तो भएको कम्पनीको दाबी छ ।

टाइम्स इनर्जीले परियोजना निर्माण तथा विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट अनुमति पाइसकेको छ भने परियोजनाको विद्युत् बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद-बिक्री सम्झौता (पिपिए) पनि भइसकेको छ ।