यो साता शेयर बजार परिसूचक नेप्से ७२ अंकले घटेको छ । गत साताको अन्तिम दिन दुई २९२२.६३ विन्दुमा रहेको परिसूचक यो साता घटेर २८५०.३७ विन्दुमा ओर्लिएको छ ।
पाँच कारोबार दिनमा तीन दिन परिसूचक घट्यो भने दुई दिन बढ्यो । साताको पहिलो दिन आइतबार ६३.७३ अंकले घटेको बजार सोमबार भने १६.४६ अंकले बढेको थियो । मंगलबार र बुधबार भने क्रमशः ४१.३५ र १.९५ अंकले घटेको बजार साताको अन्तिम कारोबार दिन बिहिबार भने १८.३ अंकले बढेर बन्द भएको छ ।
यो साता नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । साताको पहिलो दिन १२ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ शेयर कारोबार भएकोमा सोमबार भने १० अर्ब ६३ करोड ६० लाख रुपैयाँ कारोबार भएको थियो । यस्तै, मंगलबार नौ अर्ब १५ करोड, बुधबार सात अर्ब ४६ करोड र बिहिबार आठ अर्ब ३३ करोड रुपैयाँ शेयर कारोबार भएको थियो ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेसँगै उत्साहित देखिएको बजार भने लामो समय टिक्न सकेन । नेपाल राष्ट्र बैंकले मार्जिन कर्जा र घरजग्गा कर्जालाई लचिलो बनाए पछि शेयर बजार सकारात्मक हुने अपेक्षा गरिएको थियो ।
मौद्रिक नीति जारी भएपछिका केही दिन बजार उच्च अंकले बढे पनि पछिल्ला केही दिन भने बजार घटी रहेको छ । केन्द्रीय बैंकले गत असार २७ मौद्रिक नीति जारी गरेको थियो । मौद्रिक नीति जारी भए पछिको पहिलो कारोबार दिन अर्थात् असार २९ गते बजार २९ अंकले बढेको बढेको थियो । तर, त्यसको भोलिपल्ट नै बजार २५ अंक भन्दा धेरैले घट्यो ।
त्यसपछिका आठ कारोबार दिन निरन्तर रुपमा बजार बढ्यो । साउन एक गते ७५.८४ र साउन ६ गते बजार सबैभन्दा धेरै ८०.९७ अंकले बढ्यो । साउन १३ गते ३.७६ अंकले बढेर करिब एक वर्ष पछि बजार ३००२ विन्दुमा पुगेको थियो । २०८१ भदौ २ गते ३०१७ विन्दुमा पुगेको थियो । तर, सो उचाई भने नेप्सेले धेरै समय कायम गर्न सकेन । त्यसपछि भने बजार घट्ने क्रममा छ ।
यो साताको अन्तिम दिन बिहिबार दोहोरो अंकले बजार बढेपछि यो वृद्धि करेक्सन हो वा बजार वुलिशवाला वृद्धि हो त्यो भने हेर्न बाँकी छ । तर, बजारमा आएको ठाडो गिरावटमा भने ब्रेक लागेको छ ।
बुधबार १.९४ अंकले बजार घटेको थियो । नेप्सेले रातो उल्टो ह्यामरवाला क्यान्डलस्टिक बनाएको थियो । यो आकृतिले बजारमा खरिद प्रेसर भएको संकेत गर्छ । सो दिन बजार बढ्न खोजे पनि अन्तिममा सेलर प्रेसर आएपछि यस्तो खालको आकृति बनेर बजार बन्द भएको थियो । यसले अर्को दिन बजारमा खरिदकर्ताको दबाब रहने संकेत गर्छ । सोही अनुसार बिहिबार बजार बढेर बन्द भएको थियो । आइतबार पनि हरियो उल्टो हयामरको आकृति बनेर बजार बन्द भएको छ । यसले बजारमा लगानीकर्ताको संख्या बढेको संकेत गर्छ । आगामी आइतबार बजार बढ्न सक्ने अनुमान गर्न सकिन्छ ।
यो साता बजार घटेपछि बजार टे«ण्ड भने डाउन टे«ण्डमा रहेको भनि हाल्न सक्ने अवस्था भने छैन । गत असार १२ गते पछिको नेप्सेको मुभलाई हेर्ने हो भने बजार अपटे«ण्डमा देखिन्छ । नेप्सेले असार १९ गतेसम्म इम्पल्स मुभ गरेको छ । त्यसपछि करेक्सन मुभ ग¥यो । त्यसपछि फेरी हायर हाई पोइन्ट बनायो । फेरी असार ३० गते करेक्सन भयो । फेरी हायर हाई पोइन्ट बनाउँदै गर्दै बजारले तीन हजार विन्दु पार गरेको थियो । असार १३ गतेसम्म बजार अपटे«ण्डमा नै देखिन्छ ।
यो साता धेरै कमाएका कम्पनीहरू
यो साता समाज लघुवित्त वित्तीय संस्था, सिकलेस हाइड्रोपावर, विन नेपाल लघुवित्त वित्तीय संस्था, माहुली सामुदायिक लघुवित्त संस्था, लिवर्टी इनर्जी कम्पनी, इन्फिनिटि लघुवित्त वित्तीय संस्थ, युनाइटेड मोदी हाइड्रोपावर, सिवाईसि नेपाल लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्था र गुराँश लुघवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा धेरैले बढ्यो।
समाज लघुवित्तको शेयरमूल्य १८.२३ प्रतिशतले बढेर दुई हजार ८०५ रुपैयाँ कायम भएको छ । सिकलेसको शेयरमूल्य १४.२६ प्रतिशतले वृद्धि भएर एक हजार १७५ रुपैयाँ कायम भएको छ । यस्तै, विन नेपालको १४ प्रतिशत, माहुलीको ११.६९, लिबर्टीको ११.१७, इन्फिनिटिको ८.१३, युनाइटेड मोदीको ६.७९, सिवाईसिको ६.७९, आशाको ६.३७ र गुराँश लघुवित्तको शेयरमूल्य ६.२६ प्रतिशतले बढेको छ ।
यो साता सान्भि इनर्जीको शेयरमूल्य सबैभन्दा धेरैले घटेको छ । यस्तै, ग्रिन भेन्चर, सप्तकोशी डेभलपमेन्ट, समता घरेलु लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, मन्दाकिनी हाइड्रोपावर, कर्पोेरेट डेभलपमेन्ट बैंक, हिमालयन रि इन्स्योरेन्स, रिभर फल्स पावर र सयपत्री हाइड्रोपावर कम्पनीको शेयरमूल्य धेरैले घटेको छ ।
यो साता सान्भिको शेयरमूल्य १३.२८ प्रतिशतले घटेर अन्तिममा दिनमा ७७३.१४ रुपैयाँमा कारोबार भएको छ । ग्रिन भेन्चरको शेयरमूल्य १०.३० प्रतिशतले घटेर ५५८ रुपैयाँ कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्टको शेयर ९.६७ घटेको छ भने समता घरेलुको शेयरमूल्य ९.४३ प्रतिशतले घटेको छ । ग्रिन डेभलपमेन्टको ९.०२, मन्दाकिनी ८.८२, कर्पोरेट डेभलपमेन्टको ८.५२, हिमालयन रि इन्स्योरेन्सको ९.०९, रिभर फल्सको ७.५६ र सयपत्री हाइड्रोपावरको शेयरमूल्य ७.३४ प्रतिशतले घटेको छ ।
तर, यो साता हिमालय रि इन्स्योरेन्स कम्पनीको शेयर सबैभन्दा बढी दुई अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ । शिवम् सिमेन्टको एक अर्ब ९३ करोड, नेपाल रि इन्स्योरेन्सको एक अर्ब ६९ करोड, नाङ्दीको एक अर्ब ४८ करोड, हिमालयन डिस्ट्रीलरीको एक अर्ब ४७ करोड, लुम्बिनी विकास बैंकको एक अर्ब २४ करोड, बुटवल पावरको एक अर्ब १५ करोड, ट्रेड टावरको ९५ करोड ७४ लाख, कालिका पावरको ८६ करोड १८ लाख र लिबर्टी इनर्जी कम्पनीको ७९ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आरएसआई
नेप्सेको पछिल्लो प्रवृतिको आरएसआई (रिलेटिभ स्टेन्थ इन्डेक्स) आकृतिले पर्ख र हेरको संकेत गरेको छ । बजार घटेसँगै आरएसआई पनि डाउनमा छ । त्यसैले यतिबेला खरिद वा विक्री गर्ने निर्णय गर्नुभन्दा पनि पर्ख र हेरको अवस्थामा रहनु उचित हुने प्राविधिक विश्लेषणले देखाउँछ ।
आरएसआईमा ७० अंकलाई विक्री संकेत र ३० अंकलाई खरिदको संकेत मानिन्छ । नेप्सेको आरएसआई ५१ अंकको नजिक छ । त्यसैले यसलाई आधार मान्ने हो भने अहिले बजारमा कारोबार गर्नुभन्दा पनि पर्खनु उपयुक्त देखिन्छ ।
पिभट पोइन्ट
नेप्सेको कारोबार अहिले बनाएको पिभट टेबलले बजारले २६९३.२६ मा पहिलो टेवा पाउने देखाउँछ । त्यसपछि पनि बजार घटेको २४६४.६० मा टेवा पाउने देखाएको छ भने २२९७.०२ विन्दुलाई टेस्रो टेवा देखाएको छ ।
त्यस्तै, बजारले पहिलो प्रतिरोध ३०९०.२२ मा पाउने देखिन्छ । दोस्रो प्रतिरोध ३२५७.८० र तेस्रो प्रतिरोध ३४८६.८२ मा पाउने देखाउँछ । प्राविधिक विश्लेषण अनुसार पिभट टेबललाई विश्वसनीय आधार मानिन्छ ।
मुभिङ्ग एभरेज
नेप्सेमा बनेको एक्पोन्सियल मुभिङ्ग एभरेजको आकृतिले यतिबेला बजार वियरिश टे«ण्डमा जान लागेको हो कि भन्ने जस्तो देखाउँछ । १४ कारोबार दिनको मुभिङ्ग एभरेजको लाइन मूल्य भन्दा तललाई नै छ । तर, पछिल्लो चार कारोबार दिनमा लाइनले मूल्यलाई काटेर हल्का माथि पुगेको छ । प्राविधिक विश्लेषण अनुसार तलबाट काटेर माथि गएको अवस्थामा बजार घट्ने संकेत गर्छ ।
आइतबार फेरी मुभिङ्ग लाइनले मूल्यलाई काटेर तल झयो बजार बुलिश टेण्डमा नै फर्कन सक्छ । वियरिश टे«ण्ड हो भनेर सुनिश्चित गर्न केही दिनको टे«ण्ड हेर्नुपर्ने हुन्छ ।
प्रोफिट बुकिङले बजार घटायो : लगानीकर्ता
लगानीकर्ताले प्रोफिट बुकिङ गर्न खोज्दा बजार घटेको शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेलले बताए । केही दिन बजार बढेपछि लगानीकर्ताले प्रोफिट बुकिङ गर्न चाहे । त्यसैले बजार घटेको उनको दाबी छ । तर, यो घटाई लामो समय नरहने उनले बताए ।
‘बजारका सबै सूचक सकारात्मक छन् । मौद्रिक नीति लचिलो आएको छ । बैक तथा वित्तीय संस्थाले लाभांश वितरण गर्नै बेला भएको छ । यि कारण पनि बजार बढ्ने निश्चित छ,’ उनले भने । केही दिन बजार बढ्नु, घट्नु र साइडवेजमा रहनु त बजारको प्रकृति हो ।
बजार बढ्ने टे«ण्डमा रहेको शेयर लगानीकर्ता रमेश भट्टराईले बताए । उनका अनुसार गत साता बजार घट्नु भनेको नियमित करेक्सन हो । यसलाई सामान्य लिनुपर्ने उनले बताए । ‘शुरु शुरुमा इन्ट्रा डे करेक्सन भएको थियो । अहिले नियमित लामो करेक्सन भएको हो । यसलाई बजार घटेको भन्नु मिल्दैन,’ उनले भने । बैक तथा वित्तीय संस्थाले राम्रो नाफा वितरण गरेका छन् । त्यसैले आगामी साता बजार बढ्छ ।
बजार घट्नु पर्ने कुनै पनि कारण नभएको शेयर लगानीकर्ता मेघनाथ कुँवरले बताए । बजारमा सामान्य करेक्सन हुँदा लगानीकर्तामा परेको मनोबैज्ञानिक प्रेसरले बजार घटेको उनको दाबी छ । ‘बैकमा तलरता प्रशस्त छ । ब्याज घटेको छ । गर्भनर बजारमैत्री छन् । सबै लो क्यापमा छ । त्यसैले बजार बढ्छ,’ उनले भने ।
बैंकको ब्याजदर घट्नु, सरकारी नीति बजार अनुकुल बन्दै जानु, बजार अनुकूल वातावरण सिर्जना हुनु, खुद्रा लगानीकर्ताको सक्रियता बढ्नु, डिजिटल एप्स, सामाजिक सञ्जाल र वित्तीय शिक्षा कारण संस्थागत लगानीकर्ता पुनः सक्रिय हुँदै, पोर्टफोलियो पुन : सन्तुलन हुनु, सेक्टर रोटेसन हुनु लगायतका कारणले पनि बजार बढ्नु पर्ने लगानीकर्ताहरुको दाबी छ ।
आर्थिकन्यूज