काठमाडौं । रसुवाको ल्हेन्दे खोलामा आएको बाढीका कारण भएको क्षतिबाट बीमा कम्पनीहरूमा दाबी पर्ने क्रम बढ्दै गएको छ । नेपाल बीमा प्राधिकरणको साउन २२ गतेसम्मको विवरण अनुसार कम्पनीहरूमा ९८ करोड ५९ लाख ८२ हजार रुपैयाँ बराबरको दाबी परेको छ । गत सातासम्ममा कम्पनीहरूमा जम्मा ८४ करोड रुपैयाँ बराबरको दाबी परेको थियो ।
प्राधिकरणको तथ्यांक अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै ५५ करोड रुपैयाँ बराबरको दाबी परेको छ । शिखर इन्स्योरेन्स कम्पनीमा १६ करोड ९६ लाख रुपैयाँ बराबरको दाबी परेको छ । नेपाल इन्स्योरेन्स कम्पनीमा आठ करोड ७३ लाख, सानिमा जिआईसीमा ६ करोड ८४ लाख, नेको इन्स्योरेन्समा पाँच करोड ६७ लाख, सगरमाथा लुम्बिनीमा दुई करोड ६५ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
यस्तै, युनाइटेड अजोड इन्स्योरेन्समा ९१ लाख रुपैयाँको दाबी परेको छ । आइजिआई प्रुडेन्सियलमा ७६ लाख ७० हजार रुपैयाँ, एनएलजीमा ४७ लाख, सिद्धार्थ इन्स्योरेन्समा ३१ लाख र प्रभु इन्स्योरेन्समा २८ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
बाढीबाट उत्पन्न क्षतिले ११ निर्जीवन बीमा कम्पनीमा बीमा दाबी परेको छ । जसमध्ये सबैभन्दा बढी नेपाल इन्स्योरन्स कम्पनीमा १६ वटा र शिखर इन्स्योरेन्स १५ वटा दाबी परेको छ । आइजिआई प्रूडेन्सियलमा १० र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ७ वटा बीमा दाबी परेको छ । हिमालयन एभरेष्टमा र सगरमाथा लुम्बिनीमा २÷२ वटा बीमा दाबी परेको छ भने युनाइटेड अजोडमा तीन र नेकोमा ५ वटा बीमा दाबी परेको छ । यस्तै बाढीका कारण सानिमा जिआईसी, एनएलजी र प्रभु इन्स्योरेन्समा ६÷६ वटा बीमा दाबी परेको छ ।
बाढीका कारण बीमा कम्पनीहरूमा पर्ने बीमा दाबीमध्ये सम्पत्ति बीमामा परेको दाबी रकम धेरै छ । प्राधिकरणका अनुसार सम्पति बीमामा ६१ करोड ४७ लाख रुपैयाँ दाबी छ । दोस्रोमा सामुन्द्रिक बीमा परेको छ । सामुन्द्रिक बीमामा २२ करोड ४ लाख १० हजार रुपैयाँ दाबी परेको छ । इन्जिनियरिङ्ग र ठेकेदार जोखिममा बीमा ५ करोड ९५ लाखको दाबी परेको छ भने मोटर .बीमा (सार्वजनिक) मा तीन करोड ५५ लाख र मोटर बीमा (निजी) मा पाँच करोड ५८ लाख रुपैयाँको दाबी परेको छ । तर, मोटर बीमा (सार्वजनिक) को सबैभन्दा धेरै ४२ वटा दाबी परेको छ । मोटर बीमा (निजी) १६, सामुन्द्रिक बीमाको ९, सम्पति बीमाको ६ र इन्जिनियरिङ्गको ५ वटा दाबी परेको छ ।
बाढीका कारण २३ वटा मालवाहक कन्टेनर, ६ मालवाहक ट्रक, ३५ वटा नयाँ विद्युतीय सावरी साधन बगेका थिए ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना क्षतिग्रस्त भएको छ । नेपाल विद्युत प्राधिकरणको ५१ प्रतिशत लगानी रहेको यस परियोजनामा सबैभन्दा धेरै क्षति भएको प्रारम्भिक सुचना प्राप्त भएको इप्पानले जनाएको छ । परियोजनाको खोलामा बनाइएको संरचना, गेट, बाध लगायतको संरचनामा क्षति भएको छ ।
२२ मेगावाट क्षमताको चिलिमे जलद्यिुत परियोजना पनि क्षतिग्रस्त भएको छ । नेपाल विद्युत प्राधिकरणको ५१ प्रतिशत लगानी रहेको यस परियोजनाको बाधमा क्षति भएको छ । भित्र क्षति नभए पनि परियोजनामा ठूलो क्षति भएको अनुमान गरिएको छ । २१६ मेगावाट क्षमताको अपर त्रिशुली एक जलविद्युत आयोजना पनि क्षतिग्रस्त भएको छ । कोरियन लगानी रहेको निर्माधिन सो परियोजनाको बाधमा क्षति पुगेको इप्पानले जनाएको छ । ६० मेगावाट क्षमताको त्रिशुली थ्रीए जलविद्युत परियोजनाको पनि बाधमा क्षति पुगेको छ । सो परियोजनमा पनि धेरै क्षति पुगेको अनुमान गरिएको छ । त्रिशुली थ्रीएमा पनि नेपाल विद्युत प्राधिकरणको लगानी रहेको छ ।
३७ मेगावाट क्षमताको त्रिशुली थ्रीबी जलविद्युत परियोजना पनि प्रभावित भएको छ । नेपाल विद्युत प्राधिकरणको लगानीमा रहेको निर्माणाधीन सो परियोजनामा सामान्य क्षति भएको इप्पानले जनाएको छ । २१ मेगावाट क्षमताको त्रिशुली जलविद्युत परियोजनाको बाधमा क्षति पुगेको छ । तर, ठूलो क्षति छैन । भारतको सरकारको सहयोगमा नेपाल विद्युत प्राधिकरणले सो परियोजनामा निर्माण गरेको हो ।
१५ मेगावाट क्षमताको देवीघाट जलविद्युत परियोजना पनि क्षति पुगेको छ । १०० मेगावाट क्षमितको निर्माणाधीन सुपर त्रिशुली जलविद्युत परियोजना पनि क्षतिग्रस्त भएको छ । निजी क्षेत्रमो लगानी रहेको सो परियोजना गत असोजमा आएको बाढीले पनि क्षति पुराएको थियो ।
बाढीका कारण १८ जना वेपत्ता छन् भने २३ वटा मालवाहक कन्टेनर, मालवाहक ट्रक र विद्युतीय सवारी साधन बगाएको प्रारम्भिक विवरण छ ।
आर्थिकन्यूज