शीर्षकहरू

गत आवमा जीवन बीमा कम्पनीले एक खर्ब ८१ अर्ब बीमाशुल्क संकलन गरे

गत आवमा जीवन बीमा कम्पनीले एक खर्ब ८१ अर्ब बीमाशुल्क संकलन गरे

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ जीवन बीमा कम्पनीहरूले एक खर्ब ८१ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार कम्पनीहरूले ४० अर्ब १७ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् भने एक खर्ब ३७ करोड रुपैयाँ नवीकरणीय बीमाशुल्क संकलन गरेका छन् । वैदेशिक रोजगार बीमा बापत कम्पनीहरूले तीन अर्ब ५२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । 

तथ्यांक अनुसार गत आवमा पनि व्यवसाय विस्तारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रपंक्तिमा छ । गत आवमा संकलन भएको कुल बीमा शुल्कमध्ये नेपाल लाइफको हिस्सा २६.४८ प्रतिशत छ । नेपाल लाइफले गत आवमा ४८ अर्ब ३ करोड ८० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीले १० अर्ब ४९ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ भने ३७ अर्ब २९ करोड नवीकरणीय बीमाशुल्क संकलन गरेको छ । 

नेशनल लाइफ इन्स्योरेन्सले भने गत आवमा २२ अर्ब ४२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीले प्रथम बीमाशुल्क बापत पाँच अर्ब ८४ करोड रुपैयाँ संकलन गरेको छ भने १६ अर्ब ३७ करोड नवीकरणीय बीमाशुल्क संकलन गरेको छ । 

लाइफ इन्स्यारेन्स कर्पोरेशनले गत आवमा १९ अर्ब ९२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीले प्रथम बीमाशुल्क बापत तीन अर्ब तीन करोड र नबीकरणीय बीमाशुल्क बापत १६ अर्ब ८८ करोड रुपैयाँ संकलन गरेको थियो ।

राष्ट्रिय बीमा कम्पनीले नौ अर्ब ८५ करोड रुपैयाँ संकलन गरेको छ । मेट लाइफ ६ अर्ब २५ करोड, एशियन लाइफ १० अर्ब २४ करोड, आइएमई लाइफ पाँच अर्ब ६५ करोड, सन नेपाल लाइफ पाँच अर्ब ४५ लाख, रिलायबल लाइफले पाँच अर्ब २८ करोड, सिटिजन लाइफ सात अर्ब ५१ करोड, सूर्यज्योति लाइफले ११ अर्ब १८ करोड, सानीमा रिलायन्सले सात अर्ब, हिमालयन लाइफले १७ अर्ब ६६ करोड र प्रभु महालक्ष्मीले पाँच अर्ब ३७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । 

कम्पनीहरुमा एक करोड ४१ लाख २ हजार ४८९ वटा बीमा पोलिसी सक्रिय रहेको छ । 

यस्तै, तीन वटा लघु जीवन बीमा कम्पनीले गत आवमा ८४ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले नवीकरणीय बीमाशुल्क बापत तीन करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् भने प्रथम बीमाशुल्क बापत ७६ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस्तै, वैदेशिक रोजगार बीमा बापत कम्पनीले पाँच करोड ८ लाख रुपैयाँ संकलन गरेका छन् । 

तथ्यांक अनुसार गत आवमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले ३१ करोड ९९ लाख रुपैयाँ संकलन गरेको छ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले ३१ करोड २९ लाख रुपैयाँ संकलन गरेको छ भने लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले २१ करोड ५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

वैदेशिक रोजगार बीमाबाट भने सबैभन्दा बढी एसियन लाइफले १ अर्ब ५ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ भने सबैभन्दा कम हिमालयन लाइफ इन्स्योरेन्सले १ करोड ५ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।