शीर्षकहरू

नाइमा एक्सपोमा देखिए २ वटा हाइब्रीड गाडी, यस्ता छन् फिचर्स र मूल्य

नाइमा एक्सपोमा देखिए २ वटा हाइब्रीड गाडी, यस्ता छन् फिचर्स र मूल्य

काठमाडौं । साउन २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा विभिन्न ५० भन्दा धेरै अटोमोबाइल्स ब्राण्डहरुले आफ्नो प्रोडक्ट प्रदर्शनीमा राखेका छन् । जसमध्ये ४ वटा पांग्रेका २३ ब्राण्डहरु सहभागी रहेका छन् । 

२३ वटा ब्राण्डमध्ये २ वटा ब्राण्डले भने हाइब्रीड गाडी पनि प्रदर्शन गरेका छन् । टोयोटाले यारीस क्राेस हाइब्रीड गाडी प्रदर्शन गरेको छ भने ग्रेटवाल मोटर्सको ट्यांक ५०० मोडलकाे हाइब्रीड गाडी प्रदर्शनमा रहेकाे छ । टोयोटा जापानिज ब्राण्ड हो भने ग्रेटवाल चाइनिज ब्राण्ड हो ।

वैद्य ग्रुप अन्तर्गतको यूनाइटेड ट्रेडर्स सिण्डीकेट नेपालमा टोयोटाको आधिकारीक आयातकर्ता तथा बिक्रेता कम्पनी हो भने ग्रटवाल मोटर्सको आधिकारीक आयातकर्ता तथा बिक्रेता कम्पनी भीजी इम्पेक्स प्राली हो । 

टोयोटाकाे यारीस क्राेस

nullएक करोड २९ लाख रुपैयाँ मूल्य पर्ने सो गाडीमा १.५ लिटर, ४ सिलिण्डर पेट्रोल इन्जीन रहेको छ, जसले १२० एनएम टर्क उत्पादन गर्दछ । यसका साथै ५९ किलोवाट क्षमताको विद्युतीय मोटर रहेको छ, जसले १४१ एनएम टर्क उत्पादन गर्दछ । सो गाडीले २५ किलोमिटरसम्म रेन्ज दिन्छ ।

४ हजार ३१० मिमि लम्बाई रहेको यस गाडीको चौडाइ १ हजार ७७० मिमि, उचाई १ हजार ६५५ मिमि र २१० मिमि ग्राउण्ड क्लियरेन्स रहेको छ । ४६६ लिटर बराबर बुट स्पेस यो गाडीमा पाउन सकिन्छ । यो गाडीलाई सेमि अफरोड गाडी मानिन्छ । यसमा भएको ग्राउण्ड क्लियरेन्सले कच्ची बाटोमा पनि गाडी गुड्दा सहज नै हुन्छ । हल्का ट्रेकिङ बाटोका लागि डिजाइन गरिएको हो ।

गाडीमा ३६ लिटरको पेट्रोल ट्यांकी रहेको छ, फुल ट्यांकीमा ८०० किलोमिटरसम्मको यात्रा गर्न सकिन्छ । यो गाडी १ हजार ५०० सीसीको हो ।

ग्रेटवाल मोटर्सको ट्यांक ५००

nullनेपालका लागि ग्रेटवाल मोटर्सको आधिकारिक आयातकर्ता तथा बिक्रेता कम्पनी भीजी इम्पेक्स प्रालीले ट्यांक ५०० मोडलको हाइब्रीड गाडी प्रदर्शनीमा राखेको छ । 

जसको मूल्य २ करोड १५ लाख ९९ हजार रुपैयाँ रहेको छ । ५ हजार ७८ मिमि लम्बाइ रहेको सो गाडीको चौडाइ १ हजार ९३४ मिमि, उचाई १ हजार ९०५ मिमि, ग्राउण्ड क्लियरेन्स २२४ मिमि र व्हीलबेस २ हजार ८५० मिमि रहेको छ । 

२ लिटर टर्बो पेट्रोल, ४ सिलिण्डर इन्जीन रहेको सो गाडीमा ७५ किलोवाटको इलेक्ट्रिक मोटर रहेको छ । जहाँ पेट्रोल इनजीनले ३८० एनएम टर्क उत्पादन गर्दा इलेक्ट्रिक मोटरले २६८ एनएम टर्क उत्पादन गर्छ । ७५ लिटरको इन्धन ट्यांकी रहेको सो गाडीले १२ किलोमिटर रेन्ज दिन्छ । ७ सिटर सो गाडीमा ९८ लिटरको स्पेश रहेको छ । यो गाडी २ हजार सीसीको हो ।

नेपालमा हाइब्रीड गाडीको अवस्था 

नेपालमा हाइब्रीड गाडीमा आइस भेहिकल सरह नै भन्सार महसुल लाग्ने गर्दछ । हाइब्रीड गाडी आयात गर्दा त्यसमा भएको सीसीका आधारमा भन्सार शुल्क लाग्ने गर्दछ । अधिकतम २५८ प्रतिशतसम्म भन्सार महसुल लाग्ने गर्दछ ।  

यसका अलवा १३ प्रतिशत भ्याट पनि लाग्ने गर्दछ । विद्युतीय सवारीमा सरकारले प्रोत्साहन गरिरहेको अवस्थामा हाइब्रीड गाडीलाई पनि प्रोत्साहन गर्नुपर्ने व्यवसायीहरूले माग गर्दै आएका छन् । 

नेपाल अटोमोबाईल इम्पोटर एण्ड म्यानुफेक्चरर्स एशोसिएशनकी अध्यक्ष ऋतु सिंह वैद्यले पनि हाइब्रीडमा सरकारले प्रोत्साहन मूलक प्याकेज ल्याउनुपर्ने बताउँदै आएकी छिन् । विशेषगरी भन्सार महसुलमा हाइब्रीडलाई प्रोत्साहन गरिनुपर्ने उनको भनाई छ । 

नेपालमा हाइब्रीडको हिस्सा नगन्य रहेको छ । वर्षमा १०० युनिट भन्दा कम हाइब्रीड गाडी आयात हुन्छ । गत आर्थिक वर्ष २०८१/०८२ मा मात्रै ८५ वटा हाइब्रीड नेपाल भित्रिएका थिए ।