काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय टोलीका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र क्यानका अध्यक्ष चतुर्बहादुर चन्दले जर्सी सार्वजनिक गरेका हुन् । नीलो रंगको जर्सीको कलर र बाउलाको बोर्डरमा सुन्तला कलर राखिएको छ ।
दुवैतर्फको काँधमा राष्ट्रिय झण्डा राखिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेल्ने खेलमा अब यही जर्सी लगाउने छन् । जर्सी सार्वजनिक कार्यक्रममा नेपाली क्रिकेट टोलीका खेलाडीहरू उपस्थित थिए ।
शेयर ब्रोकर कम्पनी नासा सेक्युरिटिज नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजक बनेको छ । सम्झौताअनुसार नासाले वार्षिक २ करोड ३६ लाख दिनु पर्नेछ । प्रायोजनको अवधि ३ वर्षको रहेको छ ।
नेपाली टोली टी-२० विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया प्रस्थान गर्नु अघि जर्सी प्रायोजन सार्वजनिक गरिएको हो । नेपालले अस्ट्रेलियाको डार्विनमा अगस्ट १४ देखि २४ सम्म हुने टप एन्ड टी–२० सिरिज खेल्दैछ ।
यसैगरी क्यानले अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टी-२० सिरिज खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ । टप एण्ड टी-२० सिरिज खेल्ने टोलीको बिदाइ गरेको हो । टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ ।


आर्थिकन्यूज