शीर्षकहरू

नेपालगन्ज-दिल्ली सिधा हवाई उडानका लागि प्रभावकारी पहल आवश्यक : अध्यक्ष ढकाल

नेपालगन्ज-दिल्ली सिधा हवाई उडानका लागि प्रभावकारी पहल आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानको लागि प्रभावकारी पहल आवश्यक भएको बताएका छन ।  नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानको सन्दर्भमा नेपाल उद्योग वाणिज्य संघ बांकेको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा आज काठमाडौंमा आयोजित सर्वपक्षिय छलफल कार्यक्रममा बोल्दै उनले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडान गर्न सके सो क्षेत्रको समग्र विकासमा टेवा पुग्ने बताए ।

‘नेपालगन्ज पर्यटन, कृषि लगायतका क्षेत्रको लागि पर्याप्त सम्भावना भएको क्षेत्र हो । सिधा उडान हुन सके यसले पश्चिम नेपालको क्षेत्रीय सम्पर्क र आर्थिक विकासका लागि महत्वपूर्ण योगदान दिन सक्छ । यहाँहरुको यो पहल र प्रयास प्रति महासंघ एक्यवद्धता जाहेर गर्दछ । ’ अध्यक्ष ढकालले भने । नेपालजञ्ज दिल्ली सिधा उडानले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको समग्र विकाससँग जोडिएको विषय भएको बताए ।

यस्तै अध्यक्ष ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको आशन्न भारत भ्रमणमा यो एजेण्डालाई प्राथमिकताका साथ उठाउन महासंघको तर्फबाट प्रधानमन्त्री समक्ष आग्रह गर्ने धारणा राखे । उनले सबैको साझा प्रयासले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानको सपना चाँडै साकार हुने विश्वास व्यक्त गर्दै सबैले आ–आफ्नो तहबाट पहल गर्नु पर्नेमा जोड दिए ।

यस्तै अध्यक्ष ढकालले पर्यटन पूर्वाधारमा राज्यको ठूलो लगानी भईसकेको अवस्थामा निर्माण भएका विमानस्थलहरुको प्रभावकारी सञ्चालन आवश्यक रहेको समेत बताए ।

“नेपालगन्ज, जसलाई पश्चिम नेपालको प्रवेशद्वारको रूपमा चिनिन्छ । पूर्वाधार बनेको छ । बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज सहित लुम्बिनी जस्ता गन्तव्यहरूमा भारतीय पर्यटकहरूको लागि महत्वपूर्ण प्रवेश हुन सक्छ । सीमा क्षेत्र भएकाले कार्यक्रम र विवाह (इभेन्ट र वेडिङ) का लागि पनि यो क्षेत्रको व्यापक सम्भावना छ ।” उनले भने ।

उनले देशको आर्थिक विकासका लागि निजी क्षेत्रले ठूलो लगानी गरिसकेको उल्लेख गर्दै देशमा नै केही गर्न सकिन्छ भन्ने मनोविज्ञानका साथ काम गर्न सके यसबाट प्रतिफल प्राप्त गर्न सकिने धारणा राखे ।

यस्तै उनले देशमा लगानी मैत्री वातावरण निर्माण गर्न महासंघले नीतिगत सुधारको पहल गरेको र महासंघको पहलमा सरकारले ३० भन्दा बढि कानूनहरु संसोधन गरेको उल्लेख गरे । 

देश विकासका लागि आन्तरिक र बाह्य पूँजी आवश्यक रहेपनि आन्तरिक पूँजीबाट पनि देशमा पूर्वाधार विकास गर्न सकिन्छ भनेर महासंघको पहलमा १० अर्ब रुपैयाँ पूँजीको नेपाल पब्लिक लिमिटेड कम्पनी खोलेर काम शुरु गरि सकिएको जानकारी दिए । कार्यक्रममा पूर्वमन्त्रीहरु, सांसदहरु, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पर्यटन व्यवसायी, पत्रकार र अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।