काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरूले गर्ने व्यवसायको ठूलो हिस्सा मोटर बीमाको छ । सरकारले मोटर बीमालाई अनिवार्य गरेकै कारण कम्पनीहरूले गर्ने व्यवसायमा मोटर बीमाको हिस्सा अधिक हुने गरेको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा निर्जीवन बीमा कम्पनीहरूले १२ अर्ब ९० करोड रुपैयाँ बराबरको मोटर बीमा गरेका छन् । यो रकम कुल बीमा व्यवसायको २८.७३ प्रतिशत हो । गत आवमा कम्पनीहरूले ४४ अर्ब ९१ करोड रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको प्राधिकरणको तथ्यांक छ ।
यो अवधिमा कम्पनीहरूले १५ लाख ७४ हजार ४४८ वटा मोटर बीमा पोलिसी जारी गरेका छन् । कम्पनीहरूले जारी गरेको पोलिसीमध्ये मोटर बीमा पोलिसीको हिस्सा भने ४९ प्रतिशत छ । गत आवमा कम्पनीहरूले ३२ लाख ४४ हजार ३८३ वटा बीमा पोलिसी जारी गरेका थिए ।
प्राधिकरणको तथ्यांक अनुसार आव २०८०/८१ मा मोटर बीमाबाट कम्पनीहरूले १२ अर्ब ५६ करोड रुपैयाँ आर्जन गरेका थिए । आव २०७९/८० मा मोटर बीमा व्यवसायबाट कम्पनीहरूले १३ अर्ब ३० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको तथ्यांकमा उल्लेख छ ।
यस्तै, गत आवमा बीमा कम्पनीहरूले मोटर बीमा बापत बागमती प्रदेशबाट सबैभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । तथ्यांक अनुसार बागमती प्रदेशबाट सात अर्ब ४३ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको छ । लुम्बिनी प्रदेशबाट एक अर्ब ५५ करोड, कोशी प्रदेशबाट एक अर्ब १८ करोड, मधेश प्रदेशबाट एक अर्ब दुई करोड, गण्डकी प्रदेशबाट एक करोड ५५ लाख, कर्णाली प्रदेशबाट १७ करोड ७६ लाख र सुदूरपश्चिम प्रदेशबाट ४७ करोड ६७ लाख रुपैयाँ संकलन भएको छ ।
यस्तै, बागमती प्रदेशमा सात लाख २२ हजार ७९९ बीमा वटा पोलिसी जारी भएको छ । कोशी प्रदेशमा एक लाख ८७ हजार ४६८, मधेश प्रदेशमा एक लाख ४६ हजार ९७०, गण्डकी एक लाख ७४ हजार ७५८, लुम्बिनी प्रदेशमा दुई लाख ३३ हजार २२५, कर्णाली प्रदेशमा २५ हजार ८०० र सुदूरपश्चिम प्रदेशमा ८४ हजार ४२८ वटा पोलिसी जारी भएको छ।
सवारी साधन दुर्घटना हुँदा सडक बन्द हडताल हुन थालेपछि सरकारले मोटर बीमालाई अनिवार्य गरेको हो । तत्कालीन बीमा समितिले २०६२ सालमा ‘मोटर बीमादर सम्बन्धी निर्देशिका २०६२’ लागू गरी सवारी साधन बीमाको सुरुवात गरेको थियो ।
हवाई बीमाको हिस्सा ५ प्रतिशत मात्रै
निर्जीवन बीमा कम्पनीहरुले गर्ने बीमा व्यवसायमध्ये हवाई बीमाको हिस्सा धेरै कम छ । गत आवमा हवाई बीमा बापत कम्पनीहरुले दुई अर्ब ३४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो रकम कुल बीमा व्यवसायको ५.२२ प्रतिशत मात्रै हो ।
गत आवमा हवाई बीमा बापत बागमती प्रदेशबाट दुई अर्ब ३३ करोड रुपैयाँ संकलन भएको छ भने गण्डकी प्रदेशबाट ३४ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । बागमती प्रदेशमा १३१ वटा पोलिसी जारी भएको छ भने गण्डकी प्रदेशमा पाँच वटा हवाई बीमा पोलिसी जारी भएको छ ।
लघुबीमा व्यवसायको हिस्सा भने २.१६ प्रतिशत मात्रै छ । लघुबीमा व्यवसायबाट निर्जीवन बीमा कम्पनीहरुले ९७ करोड ६ लाख रुपैयाँ संकलन गरेका छन् । कृषि बीमाको हिस्सा ३.८७ प्रतिशत मात्रै छ । कृषि बीमाबाट कम्पनीहरुले एक अर्ब ७३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । इन्जिनियरिङ बीमाको हिस्सा १७.७७ प्रतिशत छ । गत आवमा इन्जिनियरिङ बीमा बापत कम्पनीहरूले सात अर्ब ९८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
सामुद्रिक बीमाको हिस्सा ५.७० प्रतिशत छ । गत आवमा सामुद्रिक बीमा बापत कम्पनीहरूले दुई अर्ब ५६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । सम्पति बीमाको हिस्सा भने २५.५३ प्रतिशत छ । सम्पति बीमा बापत कम्पनीहरूले ११ अर्ब ४६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
मोटर बीमा भनेको के हो ?
सवारी साधन दुर्घटनाबाट हुने सक्ने भौतिक र मानवीय क्षतिको रक्षावरण गर्नुलाई मोटर बीमा भनिन्छ । बीमा गरिएको मोटरले अर्को पक्ष (भौतिक/मानवीय) को क्षति गरेमा वा क्षति भएमा कम्पनीले दाबी भुक्तानी गर्छ ।
बीमा ऐन अनुसार मोटर बीमा अन्तर्गत मोटरसाइकल, निजी मोटर कार, ट्याक्सी, मालबाहक ट्रक, ट्रयाक्टर तथा पावर ट्रीलर, यात्रुबाहक बस, माइक्रो, विधुतीय गाडी, मालसामान ओसार्ने ट्रेलर तथा ट्रली, सडकमा गुड्ने अनुमति पाएका एग्रिकल्चर र फरेस्ट्री गाडी, कन्सट्रक्सन इक्युपमेन्ट/भेइकल, एम्बुलेन्स र सबै प्रकारका सवारी साधनहरुको बीमा गर्न सकिन्छ ।
सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ बमोजिम सवारी धनी वा ब्यवस्थापकले तोकिए बमोजिम प्रत्येक सवारीको बीमा गराउनु पर्नेछ । साथै बीमा नगरेको सवारीको दर्ताको प्रमाणपत्र नवीकरण नगरिने ऐनमा उल्लेख छ ।
ऐनमा सवारीको चालक, परिचालक, सुरक्षाकर्मी तथा सो सवारीमा काम गर्ने अन्य कर्मचारीको सवारी धनी वा ब्यवस्थापकले बीमा गर्नुपर्नेछ । प्रत्येक यात्रीको पनि तोकिएको रकमको दुर्घटना बीमा गराउनु पर्नेछ । त्यस्तै, सवारीको दुर्घटनाबाट कुनै तेस्रो पक्ष वा कुनै सम्पत्ति कुनै किसिमले नोक्सान भएमा सो नोक्सानीको क्षतिपूर्ति दिने प्रयोजनका लागि सवारी धनी वा ब्यवस्थापकले तोकिएको रकमको तेस्रो पक्षको बीमा गराउनु पर्नेछ ।
निजी सवारी साधन क्षति भएमा ८० लाखसम्म दाबी भुक्तानी
व्यापक मोटर बीमा
सवारी साधनसँग सम्बन्धित सबै प्रकारका जोखिम वहन हुने गरी गरिने बीमालाई व्यापक मोटर बीमा भनिन्छ । जसमा सावरी साधन दुर्घटना हुँदा सवारी साधनलाई नै हुने क्षति, सवारी साधन भित्र रहेको यात्रुलाई हुने क्षति र सवारी साधनले तेस्रो पक्षलाई गर्ने क्षतिको जोखिम समेत वहन गरिन्छ । तुलनात्मक रुपमा यस्तो खालको बीमाको शुल्क बढी हुन्छ ।
यस्तो खालको बीमा अन्तर्गत मोटरसाइकलको बीमामा मोटरसाइकल चालक, मोटर साइकलको पछाडि सवार एक व्यक्ति र तेस्रो पक्षलाई भएको चोटपटक तथा अङ्गभङ्ग भएको अवस्थामा उपचार खर्चका साथै मोटर साइकलको क्षतिको पनि रक्षावरण गरेको हुन्छ । तेस्रो पक्षको सम्पत्ति क्षति भएको खण्डमा पनि अधिकतम दायित्व २५ लाखको सीमामा रही क्षतिपूर्ति भुक्तानी हुने प्राधिकरणका बीमालेख शाखा प्रमुख केशव दाहालले बताए ।
उनका अनुसार निजी सवारीको हकमा सवारी चालक, गाडीमा सवार अन्य बिल बुकमा उल्लेख भएको सीट संख्या अनुसारको सवार यात्रु, तेस्रो पक्षलाई भएको चोटपटक तथा अङ्गभङ्ग भएको अवस्थामा उपचार खर्च, तेस्रो पक्षको सम्पत्ति क्षतिका साथै मोटर गाडीको क्षतिको पनि रक्षावरण गरिएको हुन्छ । तेस्रो पक्षको सम्पत्ति क्षति भएको खण्डमा अधिकतम दायित्व ८० लाखसम्मको क्षतिपूर्ति प्रदान गर्दछ ।
व्यावसायिक सवारी साधन बीमालेख अन्तर्गत सवारी साधनको चालक, परिचालक, चेकर, हेल्पर, वा अन्य कर्मचारी, सवारी साधन दर्ता प्रमाणपत्रमा उल्लेख भएको सिट संख्याको आधारमा सवार यात्री, तेस्रो पक्षलाई भएको चोटपटक तथा अङ्गभङ्ग भएको अवस्थामा उपचार खर्च, तेस्रो पक्षको सम्पत्ति क्षतिका साथै मोटर गाडीको क्षतिको पनि रक्षावरण गरेको हुन्छ । तेस्रो पक्षको सम्पत्ति क्षति भएको खण्डमा अधिकतम दायित्व ५० लाखसम्मको क्षतिपूर्ति प्रदान गर्दछ ।
तेस्रो पक्ष बीमा
आफ्नो सवारी साधनले अर्को सवारी साधन, व्यक्ति वा भौतिक सम्पतिलाई क्षति पु¥याएको अवस्थामा आई पर्ने आर्थिक जोखिम हस्तारन्तण गर्नु नै तेस्रो पक्ष बीमा हो । यस योजना अनुसार आफ्नो सवारी साधनले अन्य साधन वा सम्पतिलाई हानी पु¥याएको अवस्थामा तेस्रो पक्षलाई कम्पनीले नै दाबी भुक्तानी गर्छ । यस्तो अवस्थामा सवारी धनीले आर्थिक भार लिनु पर्दैन । तर, तेस्रो पक्ष बीमा नभएको अवस्थामा सवारी धनीले दुर्घटनामा भएको क्षतिको क्षतिपूर्ति भर्नुपर्छ । क्षतिपूर्ति भर्न नसकेको खण्डमा सजाय समेत भोग्नु पर्ने हुन्छ ।
तेस्रो पक्ष बीमाले मोटरसाईकल दुर्घटना भई तेस्रो पक्षलाई क्षति पुराएको अवस्थामा अधिकतम २५ लाख रुपैयाँ र समानको क्षति भएमा अधिकतम २५ लाख रुपैयाँ भुक्तानी गर्छ । त्यस्तै, निजी गाडीले व्यक्ति वा समानमा क्षति पुराएमा अधिकतम ८० लाख रुपैयाँ भुक्तानी गर्छ । त्यस्तै, व्यवसायीक गाडीहरूबाट भएको दुर्घटनामा अधिकतम ५० लाख भुक्तानी गर्छ ।
सवारी साधनले ठक्कर दिएर तेस्रो पक्षको जिउधन क्षति भएमा कम्पनीले तोकिएको सीमा भित्र रहेर प्रत्येक व्यक्तिको लागि पाँच लाख रुपैयाँसम्म भुक्तानी गर्छ । पूर्ण स्थायी अशक्तता भएमा, निको नहुने गरी दुवै आँखाको दृष्टी क्षति भएमा, दुवै हातको नाडी वा दुवै खुट्टाको गोली गाँठोको जोर्नी वा सो भन्दा माथिदेखि शारिरीक रुपले काम नलाग्ने भएमा पनि कम्पनीले पाँच लाख रुपैयाँ नै भुक्तानी गर्छ । एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गाँठोको जोर्नी वा सोभन्दा माथिदेखि र एउटा आँखाको दृष्टी पूर्णरुपले क्षति भएमा पनि कम्पनीले पाँच लाख रुपैयाँ भुक्तानी गर्छ ।
सावरी साधनले ठक्कर दिएर घाइते भई उपचार गरेको अवस्थामा ४५ दिनसम्मको कुरुवा खर्च भुक्तानी गर्छ । घाइतेलाई एउटा अस्पतालबाट अर्को अस्पतालमा लैजानु पर्ने भएमा १० हजार रुपैयाँसम्म एम्बुलेन्स खर्च भुक्तानी गर्छ । क्रिया खर्च बापत ५० हजार रुपैयाँ कम्पनीले भुक्तानी गर्छ ।
यो बाहेक बीमाशुल्क थप गरी अन्य सुविधा पनि लिन सकिन्छ ।
मोटर बीमा कसरी गर्ने ?
बीमा गर्दा आफुलाई विश्वास लागेको कम्पनी छनोट गर्नुपर्छ । बीमा लागी ब्लुबुकको फोटोकपी वा शोरुमले दिएको भ्याट विलको कपी, सवारी धनीको परिचय पत्र खुल्ने प्रमाणपत्र, एक कपी फोटो आवश्यक पर्छ । यी कागजपत्र जुटाईसकेपछि एउटा फारम भर्नुपर्छ । जुन कम्पनीमा उपलब्ध हुन्छ । साथै सवारी धनीले केवाईसी फारम पनि भर्नुपर्छ । यदि सवारी साधन कुनै संस्थाको नाममा छ भने संस्थाको प्रबन्धपत्र नियमावलीको एक कपी फोटोकपी, संस्था प्रमुखको परिचयपत्र खुल्ने प्रमाणपत्र तथा बीमा कम्पनीसँग डिल गर्ने व्यक्तिको परिचयपत्र पनि बुझाउनु पर्छ । माथि उल्लेखित कागजपत्र बुझाईसके पछि कम्पनीको प्रतिनिधि गएर साधनको परिक्षण गरि फोटो खिच्छ । कम्पनीले पनि बीमा सम्झौतालाई स्वीकार गरेपछि दुई पक्ष बीचको बीमा सम्झौता हुन्छ । यदि एक बर्षसम्म पनि सवारी साधनको दुर्घटना भएन भने अर्को बर्ष कम्पनीले प्रिमियमा छुटको सुविधा प्रदान गर्छ।
दाबी भुक्तानी कसरी लिने ?
तेस्रो पक्ष बीमाको दाबी गर्नका लागी दुर्घटना हुनासाथ कम्पनीलाई खबर गर्नुपर्छ । साथै प्रहरीलाई पनि खबर गर्नुपर्छ । कम्पनीले दुर्घटनाको प्रकृति हेरेर सर्भेयर खटाउन पनि सक्छ । कम्पनीको प्रतिनिधि आफै गएर पनि हेर्न सक्छ । कुनै अवस्थामा भने कम्पनीले आवश्यक कागजपत्र मात्रै पनि मगाउन सक्छ । जस्तै, तेस्रो पक्ष को हो ? मृत्यु भएमा मृत्यु हुनेको विवरण, प्रहरी प्रतिवेदन, लाश जाँचको रिपोर्ट, मृतकको नागरिकताको प्रमाणपत्र, नजिकको हकदारको प्रमाणपत्र, जिल्ला कार्यलयबाट प्रमाणित गरेको नाता प्रमाणित पत्र आदी माग्न सक्छ । मृतकको हकमा नजिकको व्यक्तिलाई कम्पनीले रकम भुक्तानी गर्छ । त्यस्तै, दुर्घटना भएको अवस्थामा सम्बन्धित व्यक्तिलाई नै दिन्छ । कहिलेकाही बीमित अर्थात् सवारीे धनीलाई पनि भुक्तानी गर्छ । तेस्रो पक्ष घाइते भएको अवस्थामा सवारी धनीले नै सबै खर्च व्यहोरेको छ भने कम्पनीले उसलाई नै दाबी भुक्तानी दिन्छ । यसको लागि भने कागजपत्र बुझाउँनु पर्छ ।
आर्थिकन्यूज