काठमाडौं । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीमा गएका श्रमिक र श्रमिकका परिवारलाई लक्षित गरी खुलाएको कार्यक्रम अधिकृत र स्वयंसेवकका लागि १३१ जनाले आवेदन दिएका छन् । कार्यक्रममा अधिकृतका लागि १५४ र स्वयंसेवकका लागि ७७ जनाले आवेदन दिएको बोर्डले जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा सामी कार्यक्रमबीच सुरक्षित आप्रवास सम्बन्धी काम गर्ने विषयमा सम्झौता भएको छ । सोही सम्झौता अनुसार रिक्त भएका पदमा बोर्डले श्रमिक वा श्रमिकका परिवारलाई नै अवसर दिने गरी आवेदन खुला गरेको हो । यस अघि बोर्डले श्रमिकका छोराछोरीको लागि प्रशिक्षार्थीको अवसर प्रदान गर्दै आएको थियो । प्रशिक्षार्थीहरुलाई बोर्ड र मन्त्रालय अन्तर्गत निकायहरूमा खटाइन्थ्यो । तर, प्रशिक्षार्थी कार्यक्रम प्रभावकारी नभए पछि बोर्ड यस आव देखि कार्यक्रम संयोजक र स्वयंसेवकमा अवसर दिने निर्णय गरेको बोर्डका सूचना अधिकारी गुरुदत्त सुुवेदीले बताए । ‘प्रशिक्षार्थी गराउँदा उनीहरुले पनि काम गरेको अनुभव गरेनन् । पारिश्रमिक मात्रै वितरण भए जस्तो भयो,’ उनले भने ‘पद नै सृजना गरेर काम नै दिए पछि व्यक्तिको विकास पनि हुने भयो संस्थाको विकास पनि हुने भयो ।’
कार्यक्रम संयोजक र स्वयंसेवकको छनौटका लागि लागि बोर्डले कार्यविधि नै बनाएको छ । कार्यविधि अनुसार शैक्षिक योग्यता र मृतक श्रमिकका परिवारलाई प्राथमिकता दिइएको सूचना अधिकारी सुवेदीले बताए ।
बोर्डले कार्यक्रम अधिकृतमा चार र स्वयंसेवकका लागि १२ जना माग गरेको थियो । कार्यक्रम अधिकृतका लागि न्यूनतम् योग्यता स्नातक तह तोकिएको छ । २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको, महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
कार्यक्रम अधिकृत छनौट सम्बन्धी आन्तरिक मादपण्ड २०८२ अनुसार शैक्षिक योग्यताको कुल अंक ३० हुनेछ । शैक्षिक योग्यता स्नातक तह प्रथम श्रेणीको लागि २०, द्धितीय श्रेणी १५ र तृतीयको लागि १० अंक हुनेछ । स्नातहकोत्तर तह प्रथम श्रेणीको १०, द्धितीय श्रेणी ७, र तृतीय क्षेत्रीको ५ अंक हुनेछ ।
वैदेशिक रोजगारीमा न्यूनतम एक वर्ष काम गरेको अनुभव भएमा १० अंक थप हुनेछ । प्रति वर्ष २ अंकका दरले बढीमा ५ वर्षसम्मको लागि १० अंक दिइनेछ ।
कम्प्यूटरको दक्षता सम्बन्धी प्रमाणपत्र भएमा १० अंक दिइनेछ । आधारभूत स्तरको तालिम प्रमाणपत्र भएमा ५ अंक (एक महिना देखि ३ महिनासम्म), तीन महिना भन्दा बढी अवधिको डिप्लोमा वा कम्प्यूटर ईन्जिनियर वा विएससि सिएसआईटी वा सो सरहकाहरुलाई १० अंक हुनेछ ।
लिखित परिक्षा १०० अंकको हुनेछ । ४० प्रतिशत अंक प्राप्त गर्ने मात्र उर्तिण हुनेछन् । कम्प्युटर सीप परिक्षणको १० अंक हुनेछ । व्यक्तिगत अन्तवार्ता ४० अंक हुनेछ ।
वैदेशिक रोजगारीमा गई मृत्यु/अंगभंग भएका, रोजगारीमै रहेका वा फर्किएका व्यक्ति र परिवारका सदस्यहरुलाई स्वयं सेवक कर्मचारीसम्बन्धी आन्तरिक मापदण्ड २०८२ अनुसार स्वयंंसेवक कर्मचारीका लािग माध्यमिक तह उर्तिण गरेको हुनुपर्नेछ ।
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारको सदस्य भएमा २० अंक दिइनेछ । अंगभंग भएका श्रमिक भएका १५, रोजगारीमै रहेका वा फर्किएका व्यक्ति र परिवारका सदस्य भएमा १० अंक दिइनेछ ।
अबको एक दुई दिनमा नै छनौट प्रक्रिया पुरा हुने सूचना अधिकारी सुवेदीले बताए ।
आर्थिकन्यूज