काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका अनुसार, 'आयकर ऐन २०५८' बमोजिम करकट्टीको विवरण नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा सञ्चालन भइरहेको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक आवश्यक भएको हो ।
ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एपमा रहेको 'प्यान अपडेट' विकल्प प्रयोग गरी वा आफूलाई सुविधाजनक कुनै पनि शाखामा उपस्थित भई प्यान अद्यावधिक गर्न सक्नेछन् । प्यान अद्यावधिक भएपछि निक्षेपकर्ताको ब्याज भुक्तानीमा काटिएको करको विवरण सो प्यानमा प्रविष्ट हुनेछ, जसले गर्दा आयकर प्रणालीले स्वचालित रूपमा करकट्टीको विवरण मिलान गर्नेछ । यसले करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र सहज रूपमा प्राप्त गर्न सकिनेछ, साथै बैंकसम्म प्रत्यक्ष जानुपर्ने आवश्यकता हट्नेछ ।
बैंकले प्यान अद्यावधिक नगरिएकै कारण ब्याज कर दाखिला नहुने वा त्यसमा थप समायोजन गर्नुपर्ने अवस्थामा जिम्मेवारी नलिने स्पष्ट पारेको छ । साथै, यसअघि प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएका ग्राहकहरूले नजिकको शाखा वा ग्राहक सम्पर्क केन्द्र -फोन : १६६०-०१-७७७७१, ०१-५९७०१०१० मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
आर्थिकन्यूज