शीर्षकहरू

घोराही सिमेन्टको खुम्चियो घाटा, ईपीएस अझै १४.४६ रुपैयाँ ऋणात्मक

घोराही सिमेन्टको खुम्चियो घाटा, ईपीएस अझै १४.४६ रुपैयाँ ऋणात्मक

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको व्यापारमा सुधार आएपछि आम्दानी बढोत्तरी भएको छ। जसले गर्दा घाटा खुम्चिएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ६६ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १ अर्ब ४४ करोड घाटा व्यहोरेको थियो ।

कम्पनीको आम्दानी बढेपछि घाटा खुम्चिएको हो । कम्पनीले ५ अर्ब ५ करोड बढीको आफ्ना उत्पादन अर्थात सिमेन्ट बिक्री गरेको छ । सिमेन्ट उत्पादनमा ४ अर्ब २ करोड खर्च भएको छ । कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब २ करोड रुपैयाँबराबरको खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २३२ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३० करोड ८५ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो ।कम्पनीले यो अवधिसम्म २ करोड ८३ लाख रुपैयाँ बराबरको अन्य आम्दानी गरेको छ ।

विकास निर्माणको कार्यमा आएको ह्रास, प्रतिस्पर्धात्मक बजारमा बिक्री मूल्यमा अपेक्षा अनुसार वृद्दी गर्न नसकिने तथा सिमेन्टको कच्चा पदार्थ चुनढुङा उत्खनन् अनुमतिमा धेरै समय लाग्ने र  खपतको तुलनामा सिमेन्ट उत्पादन अधिक हुनुको प्रत्यक्ष असर आम्दानीमा परेको कम्पनीको भनाई छ । 

कम्पनीको उत्पादन बिक्रीको आम्दानी बढेको छ भने उत्पादन खर्च घटाएको छ । त्यस्तै कम्पनीको प्रशासनिक, बिक्री तथा वितरण खर्च २८ करोड ९० लाख रुपैयाँ, ह्रासकट्टी खर्च ६७ करोड ४३ लाख र वित्तीय खर्च ८९ करोड २० लाख रुपैयाँ रहेको छ ।  कम्पनीको वित्तीय र ह्रासकट्टी खर्च बढेको छ भने प्रशासनिक खर्च घटेको छ । 

बैंकको ब्याजमा कटौती, लागत खर्चमा सुधार तथा कोइलाको मुल्य कम हुन गएको कारण यस त्रैमासिकमा सकारात्मक प्रभाव देखिएको भएतापनि सिमेन्ट उद्योगहरुलाई समग्ररुपमा अझै सुधार गर्नुपर्ने देखिएको छ । नगद प्रवाह लगायतका कुरालाई तत्काल तात्विक असर पर्न सक्ने घटना, अवस्था भने रहेको छैन ।

कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ३८ करोड रुपैयाँ कायम छ । कम्पनीले शेयर प्रिमियम शीर्षकमा २ अर्ब ६५ करोड रुपैयाँ राखेको छ ।  जसको शेयर पुँजी ४ अर्ब ५६ करोड रुपैयाँ छ । 

सिमेन्ट उद्योगको लागि बर्षायामको समय अन्य अवधि भन्दा तुलनात्मक रुपमा निर्माण कार्य सुस्त हुने हुदा बिक्री वितरणको लागि सो अवधि कमजोर मानिन्छ र यस बर्ष विशेषरुपमा मनसुन अत्याधिक सक्रिय भएको हुनाले आगामी त्रैमासिकमा  सिमेन्टको माग कमजोर हुने अपेक्षा गरिएको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १४.४६ रुपैयाँ ऋणात्मक, प्रतिशेयर नेटवर्थ १८८.४७ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य ४९६.८२ रुपैयाँ र तरलता अनुपात ०.७५ प्रतिशत कायम भएको छ ।