काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । यससँगै गत वर्षको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो इन्स्योरेन्स कम्पनी बनेको छ ।
विवरण अनुसार कम्पनीको खुद नाफा सामान्य वृद्धि भएको छ । अघिल्लो वर्ष ६८ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले गत वर्ष ७१ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । तुलनात्मक रुपमा कम्पनीको नाफा ३.६३ प्रतिशतले वृद्धि भएको छ ।
गत वर्ष कम्पनीले २ लाख ९८ हजार ९५७ वटा बीमा पोलिसि जारी गर्दा ४ अर्ब १६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो अवधिमा कम्पनीले ६२ करोड ८४ लाख रुपैयाँ बढी दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष २ अर्ब १३ करोड ८१ लाख रुपैयाँ बढी दाबी भुक्तानी गरेको थियो । यो अवधिसम्म कम्पनीले करिब ९ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ । जसमध्ये २ अर्ब ६० करोड रुपैयाँ दीर्घकालिन लगानी र ६ अर्ब ३९ करोड अल्पकालीन लगानी रहेको छ ।
२ अर्ब ८० करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी रहेका कम्पनीको प्रति शेयर आम्दानी २५.४१ रुपैयाँ, प्रति शेयर नेटवर्थ ७४.५६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३३.०७ गुणा र प्रति शेयर कुल सम्पत्ति ५५२.२० रुपैयाँ रहेको छ ।
आर्थिकन्यूज