काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ६७ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ०.१५ प्रतिशत अर्थात १० लाख रुपैयाँ मात्रै बढी हो । अघिल्लो आवमा कम्पनीले ६७ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चिलिमेले यस अवधिमा विद्युत बिक्री मार्फत १ अर्ब १२ करोड ४९ लाख आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको भन्दा सामान्य बढीको हो । अघिल्लो आवको यसै अवधिमा विद्युत बिक्री मार्फत १ अर्ब ११ करोड ५९ लाख आम्दानी गरेको थियो । कम्पनीले यस अवधिमा ८५ करोड ८५ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ८४ करोड ६३ लाख रुपैयाँबराबरको आम्दानी गरेको थियो । कम्पनीले यो अवधिमा १३ करोड ४० लाख वित्त आम्दानी र ३ करोड ४३ लाख अन्य आम्दानी गरेको छ ।
भोटेकोशी नदीमा भिषण वाढी आउँदा प्लान्ट बन्द हुन गएको र जसले गर्दा विद्युत उत्पादन अवरुद्ध भै विद्युत आपूर्ति नै बन्द हुन गएकोले विद्युत बिक्री आम्दानी पनि सोही अनुसार न्युन हुन गएको कम्पनीको भनाई छ । त्यस्तै गरी नदीमा पानीको वहावमा कमी आएका कारण पनि कुनै कुनै महिनामा सम्पुर्ण कन्ट्र्याक्ट इनर्जि समेत आपुर्ति हुन नसक्दा विद्युत आम्दानीमा ह्रास आएको कम्पनीको भनाई छ । समिक्षा अवधिमा मुद्दती डिपोजिटमा व्याज दर क्रमशः घट्दै गएकोले व्याज आम्दानीतर्फ २ करोड़ ६८ लाख ७३ हजारले घटेको उल्लेख गरेको छ ।
कम्पनीको प्रत्यक्ष खर्च १३ करोड १७ लाख, रोयल्टी खर्च १३ करोड ४६ लाख, कर्मचारी खर्च ३ करोड १८ लाख, प्रशासनिक खर्च २ करोड ८९ लाख र ह्रासकट्टी खर्च ८ करोड ७६ लाख रहेको छ । ८ अर्ब ७८ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको रिटेन्ड अर्निङ २ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब ८४ करोड रुपैयाँ र कुल चालु दायित्व १२ करोड १८ लाख रुपैयाँ रहेको छ ।
कम्पनीले हालको नगद मौज्दातलाई लाभांश दिन, नयाँ आयोजनाको पहिचान एवं विकास गर्न, चिलिमे कर्पोरेट टावर निर्माण गर्न तथा कार्यालय सञ्चालनार्थ लगायतका कामहरुका लागि उपयोग गर्दै लगिने जनाएको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ७.७४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३०.५९ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य १३५.०९ रुपैयाँ, तरलता अनुपात २३.३२ प्रतिशत र मूल्य आम्दानी अनुपात ६०.७० गुणा कायम भएको छ।
संस्थाले अपेक्षित नाफा आर्जन गर्न सफल भएको र आगामी दिनमा अझ बढी सफलता हासिल गर्ने कुरामा व्यवस्थापन विश्वस्त रहेको छ । चिलिमेको अगुवाइमा गठन भएका जलविद्युत कम्पनीहरु मार्फत अगाडि बढाइएका चार वटा जलविद्युत आयोजनाहरुः सान्जेन (माथिल्लो) जलविद्युत आयोजना (१४८ मे.वा.) सान्जेन जलविद्युत आयोजना (४२.५ मे.वा.), रसुवागढी जलविद्युत आयोजना (१११ मेवा) सम्पन्न भै नेपाल विद्युत प्राधिकरणलाई आपूर्ति हुन शुरु भै सकेको छ । त्यस्तै गरी मध्य भोटेकोशी जलविद्युत आयोजनाको हकमा एकदुई दिनमा नै उत्पादन शुरु हुने जनाएको छ ।
यस कम्पनीले संभाव्यता अध्ययनका लागि अनुमति प्राप्त गरेका सेतिनदी- ३ अर्धजलासययुक्त जलविद्युत आयोजना (८७ मेगावाट), बूढीगण्डकी प्रोक जलविद्युत आयोजना (८१ मेवा), बूढीगण्डकी जलविद्युत आयोजना (९१ मेवा) र चुमचेत स्थारखोला जलविद्युत आयोजना (४५ मेगावाट) आयोजनाहरु निर्माण कार्य शुरु हुने चरणमा रहेका छन् ।
बूढीगण्डकी प्रोक जलविद्युत आयोजना (८१ मेवा), स्यारखोला जलविद्युत आयोजना (४५ मेगावाट) तथा सेतिनदी -३ जलविद्युत आयोजनाको निर्माणको अनुमति पत्र प्राप्त नै सकेको छ । यस्तै मध्ये बूढीगण्डकी जलविद्युत आयोजना (९१ मेवा) अनुमति पत्र प्राप्त भै सकेको छ र कामहरु पनि अगाडि बढाइएको छ । सेतिनदी– ३ अर्धजलासययुक्त जलविद्युत आयोजना (८७ मेगावाट) का लागि वित्तिय व्यवस्थापन गर्नका लागि विभिन्न वित्तिय संस्थाहरुसंग छलफल भै रहेको कम्पनीले जनाएको छ ।
आर्थिकन्यूज