शीर्षकहरू

विदेशका अस्पतालमा कोमामा रहेका श्रमिकको उपचारका लागि नेपालको सरकारी अस्पतालमा डेडिकेटेड वेडको व्यवस्था गरिने

विदेशका अस्पतालमा कोमामा रहेका श्रमिकको उपचारका लागि नेपालको सरकारी अस्पतालमा डेडिकेटेड वेडको व्यवस्था गरिने

काठमाडौं । वैदेशिक रोजगार बोर्ड सचिवालयले विदेशका विभिन्न अस्पतालमा कोमामा रहेका नेपाली श्रमिकका लागि नेपाल स्थित सरकारी स्वास्थ्य संस्थामा नै डेडिकेटेड वेडको व्यवस्था गर्ने भएको छ । सचिवालयले चालु आर्थिक वर्ष २०८२/८३ देखि कोमामा रहेका श्रमिकलाई नेपाल झिकाई सरकारी स्वास्थ्य संस्थामा नै उपचारको व्यवस्था गर्ने तयारी गरेको छ ।

सचिवालयले यो वर्ष श्रमिकको उपचारका काठमाडौं उपत्यका भित्र रहेका सरकारी अस्पतालसँग डेडिकेटेड वेड छुट्टाउनका लागि सम्झौता गर्ने सचिवालयका सूचना अधिकारी गुरुदत्त सुवेदीले बताए । ‘यो वर्ष पाइलट प्रोजेक्टको रुपमा काम गर्नेछौ । त्यसैले उपत्यका भित्रका एउटा सरकारी स्वास्थ्य संस्थासँग उपचारको लागि सम्झौता गर्नेछौ,’ उनले भने । आगामी वर्ष देखि जिल्ला बाहिरका अस्पतालसँग पनि सम्झौता गर्नेछौ ।

सम्झौता गरिएका अस्पतालले दुई वटा वेड अनिवार्य रुपमा कोमामा रहेका नेपाली श्रमिकका लागि छुट्टाउनु पर्नेछ । कोमामा रहेका श्रमिक काठमाडौं स्थित विमानस्थलमा झर्ने वित्तीकै सिधै सम्झौता गरिएको अस्पतालमा पुग्नेछन् । तत्काल उनीहरुको उपचार सुरु हुने सूचना अधिकारी सुवेदीले बताए । बोर्डको विशेषज्ञ समितिको निर्णयअनुसार श्रमिकको उपचारका लागि बोर्डले बढीमा सात लाख रुपैयाँसम्म उपलब्ध गराउने छ । बाँकी रकम श्रमिकका परिवारले व्यहोर्नुपर्नेछ ।

सम्झौताका लागि सचिवालयले वीर अस्पताल र पाटन अस्पताललाई प्राथमिकतामा दिएको छ । ‘सुविधाको दृष्टिकोणले पाटन अस्पताल उपयुक्त हुन्छ कि भन्ने हामीले ठानेका छौ,’ उनले भने । यस विषयमा सचिवालयले पाटन अस्पतालसँग प्रस्ताव गर्नेछ । यस्तो सुविधाको लागि बोर्डले यो वर्ष ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कोमामा भएका श्रमिक नेपालमा नै ल्याएर उपचार गर्न सके परिवारको रेखदेख पनि हुने बोर्डको ठम्माई छ । ‘विदेशी अस्पतालमा हुँदा न त परिवारका मानिस उता जान सक्छन् । आफनो मान्छे के कस्तो अवस्थामा छ भनेर यता परिवार चिन्तित हुने अवस्था छ,’ उनले भने ‘कतिपय यस्ता विरामी परिवारको नजिक रहँदा छिटो रिकभर भएको पनि पाइयो । त्यसैले नेपालमा नै झिकाई उपचारको व्यवस्था गर्ने तयारी गरेका हौ ।’ 

तत्कालीन श्रममन्त्री डोल प्रसाद अर्यालले पनि विदेशी अस्पतालमा कोमामा भएका र जटिल प्रकृतिको रोग लागेर विदेशी अस्पतालमा उपचार गराई रहेका श्रमिकलाई नेपाल ल्याउन पहल गरेका थिए । उनले सरकारी अस्पतालहरूलाई पत्राचार गरी डेडिकेटेड वेड छुट्टाउन पनि आग्रह गरेका थिए ।

विभिन्न मुलुकमा रहेका नेपाली दूतावासको तथ्यांक अनुसार मलेसियाको अस्पतालमा पाँच जना नेपाली श्रमिक कोमामा छन् । साउदीकोअस्पतालमा सात जना नेपाली श्रमिक कोमामा छन् । कतारको अस्पतालमा ११ जना कोमामा छन् भने ओमानमा एक जना नेपाली महिला श्रमिक लामो समय देखि कोमामा रहेको दूतावासले जनाएको छ । कुवेत स्थित अस्पतालमा एक जना श्रमिक कोमामा छन् । बहराइनमा पनि एक जना श्रमिक कोमामा छन् भने युएईमा नौ जना श्रमिक कोमामा भएको दूतावासको तथ्यांक छ । साउथ कोरियामा चार जना र इजरायलमा दुई जना नेपाली श्रमिक कोमामा रहेको दूतावासले जानकारी दिएको छ ।

कार्यस्थल दुर्घटना, सडक दुर्घटना र उक्त रक्तचापका कारण श्रमिकहरू कोमामा जाने गरेका छन् । राम्रा रोजगारदाता परेमा श्रमिकको राम्रो उपचार पनि गर्छन् । तर, अधिकांश रोजगारदाताहरु कोमामा भएका श्रमिकलाई नेपाल फर्काउन चाहन्छन् । कोमामा गएका श्रमिकको उपचार अवधि र खर्च निश्चित नहुने हुँदा सम्बन्धित मुलुकका रोजगारदाता विरामीलाई नेपाल पठाउन चाहन्छन् । तर, श्रमिकका परिवार भने कोमामा र जटिल प्रकृतिको रोग लागेका श्रमिकलाई नेपाल फर्काउन चाहदैनन् । कमजोर आर्थिक अवस्थाका कारण परिवारले विरामीको जिम्मा लिन नचाहने कतारमा लामो समय देखि काम गर्दै आएका दिपजंग ठकुरी बताउँछन् । ‘बिरामीलाई नेपाल फर्काए पनि उपचार गर्ने परिवारसँग पैसा हुँदैन । पैसा विना अस्पतालले भर्ना पनि लिदैनन् । त्यसैले कोमामा र जटिल प्रकृतिका रोग लागेको श्रमिक विदेशमा अलपत्र पर्छन्,’ उनले भने