काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै गर्दा शेयर बजार भने ओरालो लागेको छ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २६.२२ अंक घटेर २७९६.२४ विन्दुमा झरेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ ।
सोमबार १० अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । १३ उपसमूहमध्ये यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक मात्र बढेको छ ।
हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका झण्डै तीन दर्जन कम्पनीमध्ये अधिकांशले नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १० बैंकले आफ्नो वार्षिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । तीमध्ये नबिल बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, एनएमबि बैंक, सानिमा बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, हिमालयन बैंक र सिटिजन बैंक रहेका छन् । सार्वजनिक विवरण अनुसार तीमध्ये सिटिजन बैंक बाहेक ९ बैंकको नाफामा वृद्धि भएको छ । बैंकहरुको नाफा मात्र होइन लाभांश क्षमत समेत वृद्धि भएको छ । तर पनि लगानीकर्ताको मनोबल भने खासै उकास्न सकेन ।
वित्तीय विवरण सार्वजनिक गरेका १० बैंक मध्य नबिल बैंकको नाफा सर्वाधिक रहेको छ । बैंकले ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ नाफा गरेको छ । दोस्रो स्थानमा रहेको एभरेष्ट बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै, कृषि विकास बैंकको नाफा ३ अर्ब ८२ करोड, सिद्धार्थ बैंकको ३ अर्ब २८ करोड र एनएमबि बैंकको ३ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।
सानिमा बैंकको २ अर्ब ५७ करोड छ । कुमारी बैंकको नाफा २ अर्ब ११ करोड ६४ लाख रुपैयाँ पुगेको छ । माछापुच्छ्रे बैंकले २ अर्ब १ करोड र हिमालय बैंकले १ अर्ब ५१ करोड रुपैयाँ नाफा गरेका छन । सिटिजन बैंकको नाफा भने २ प्रतिशतले घटेर १ अर्ब २९ करोड रहेको छ ।
त्यस्तै गत आवको वित्तीय विवरण प्रकाशित गरेका डेढ दर्जन बढी माइक्रोफाइनान्स र केही विकास बैंकहरुले पनि नाफामा आकर्षक बढोत्तरी सहितको प्रगति विवरण सार्वजनिक गरिसकेका छन् । कतिपय म्युचुअल फण्डहरुले त गत आवको प्रतिफल नै घोषणा गरेका छन् ।
सूचीकृत कम्पनीहरुले आकर्षक नाफा र अधिकांश वित्तीय सूचकहरु सुधारसहितको प्रगति विवरण सार्वजनिक गर्दै गर्दा शेयर बजारमा भने भारी गिरावट आएको छ । हालसम्म प्रकाशित भएका वित्तीय विवरण हेर्दा अधिकांश वाणिज्य बैंकहरुको सुधारिएको विवरण आउने आँकलन गर्न सकिन्छ ।
पछिल्लो समयमा बैंकहरुको रिकभरी राम्रो भएकाले धेरैको विवरण आकर्षक आउने अनुमान छ । त्यस्तै वित्तीय विवरण निकालेका अधिकांश लघुवित्तीय संस्थाहरुले पनि सुधारिएको विवरण निकालेका छन् । बैंक ब्याजदर न्युन भएकाले जलविद्युत कम्पनीहरुको पनि नाफा बढेर आउने देखिन्छ । तर, यस्तो अवस्थामा भने शेयर बजारका लगानीकर्ता प्यानिक भएका छन् ।
अहिले बजारमा लघुवित्तको वार्षिक प्रतिवेदन स्वीकृत गर्नुअघि लाभांश सीमा पुनरावलोकन हुने वा नहुने भन्ने विषय वहस देखिएको छ । मौद्रिक नीति मार्फत लघुवित्तको लाभांश पुनरावलोकन गर्ने घोषणा गरेको केन्द्रीय बैंकले पहिलो त्रैमासिक भित्रै गर्छ वा पछि गर्छ भन्ने अन्यौलतमा लगानीकर्ता रहेकाले लघुवित्तका शेयरहरुमा उतारचढाब बढेको छ । केन्द्रीय बैंकले आगामी पुससम्म पुनरावलोकन गरिसक्ने भनी कार्ययोजना समेत तय गरिसकेको भएपनि लगानीकर्ताहरुमा अझै दुविधा देखिन्छ ।
अर्कातर्फ बैंक तथा वित्तीय संस्था एंवम बीमा बाहेकका कम्पनीमा पनि संस्थापक र सर्वसाधारण शेयरको छुट्टाछुटै आइजिन नम्बर दिने बिषय सतहमा आएपछि यसले शेयर बजारलाई पनि प्रभाव पारेको छ । निजीक्षेत्रका केही संस्थाहरु मुख्यगरी जलविद्युत व्यवसायीहरुको संस्थापक र सर्वसाधारण शेयरको छुट्टाछुटै आइजिन नम्बर दिने सिडिएससीको प्रस्तावको विरोध गर्दै आएका छन् । बजारका सर्वसाधरण लगानीकर्ताहरुले भने यसको समर्थन गरेका छन् । यो बिषयमा विवाद बढीरहदा पनि शेयर बजारमा त्यसको प्रभाव देखिएको हो । अर्कोतर्फ शेयर कारोबार राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने कुराले पनि शेयर कारोबार प्रभावित भएको छ ।
मुख्यतया प्रोफिट बुकिङकै प्रेशरले गर्दा शेयर बिक्रीमा चाप पर्दा नेप्से ओरालो लागेको अधिकांशको बुझाई छ । साउन र भदौ महिना शेयरबजारको लागि सिजन रुपमा मानिन्छ । विगतका केही वर्षहरुमा पनि यो समयमा शेयरबजार बुलिस ट्रेन्डमा चलेकाले पनि लगानीककर्ताहरु बजार लयमा आउनेमा भने आशावादी देखिएका छन्।
नेप्से घटेपनि यस दिन सिटि होटलको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन सिक्लेस हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २६ करोड ७७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
आर्थिकन्यूज