काठमाडौं । सरकारले आम नागरिकमा बीमाको पहुँच विस्तार गर्न विभिन्न योजना ल्याए पनि जीवन बीमा कम्पनीहरू भने अझै गाउँ जानै सकेका छैनन् । बीमा कम्पनीहरू सेवामुखी भन्दा पनि नाफामुखी भएपछि शहरी क्षेत्रमा नै झुम्मिएका हुन् ।
सरकारले बीमा नाफा हैन सुरक्षा हो भन्दै आएको छ । बीमा कम्पनीहरूले पनि बीमा पोलिसीले सम्भावित जोखिमको रक्षावरण गर्ने भन्दै प्रचार गर्दै आएका छन् । तर, उच्च जोखिम हुने क्षेत्रलाई वेवास्ता गर्दै कम्पनीहरू भने शहरी र सुगम क्षेत्रमा नै सक्रिय भएका छन् ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्ममा जीवन बीमा कम्पनीहरूमा एक करोड ५६ लाख ३१ हजार बीमा पोलिसी सक्रिय छन् । सक्रिय रहेका बीमा पोलिसीमध्ये कर्णाली र सुदूरपश्चिम प्रदेशको हिस्सा क्रमशः ३.४८, ३.७० प्रतिशत छ । जबकी बागमती प्रदेशको हिस्सा भने ६५.१३ प्रतिशत छ ।
यस्तै, कम्पनीहरूमा सक्रिय रहेको बीमा पोलिसीमध्ये कोशी प्रदेशको हिस्सा ११.१८, मधेश प्रदेशको ४.१६, गण्डकीको ५.४५ र लुम्बिनी प्रदेशको हिस्सा ६.८७ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।
तथ्यांक अनुसार बागमती प्रदेशमा एक करोड एक लाख ८१ हजार ८६० बीमा पोलिसी सक्रिय छन् । बागमती पछि कोशी प्रदेशमा सबैभन्दा धेरै पोलिसी जारी भएका छन् । कोशी प्रदेशमा १७ लाख ४८ हजार १७९ पोलिसी सक्रिय छन् ।
गण्डकी प्रदेशमा १० लाख ७४ हजार ३६६, मधेशमा ६ लाख ५० हजार ६६१, लुम्बिनीमा १० लाख ७४ हजार ३६६, कर्णालीमा पाँच लाख ४४ हजार ७४ र सुदुरपश्चिममा पाँच लाख ७९ हजार ४५८ वटा पोलिसी सक्रिय छन् ।
सक्रिय बीमा पोलिसी वृद्धिमा लघुबीमाको टेको
जीवन बीमा कम्पनीहरूमा सक्रिय रहेका बीमा पोलिसीमा लघुबीमा पोलिसीको योगदान अधिक छ । प्राधिकरणको तथ्यांक अनुसार कम्पनीहरूमा सक्रिय रहेको बीमा पोलिसीमध्ये लघुबीमा पोलिसीको हिस्सा ३१.६७ प्रतिशत छ । लघुबीमा कम्पनी बाहेकका कम्पनीहरुले जारी गरेका पोलिसीको हिस्सा पनि २१.९८ प्रतिशत छ ।
तथ्यांक अनुसार कम्पनीहरूमा ४९ लाख ५१ हजार ७१२ वटा लघुबीमा पोलिसी सक्रिय छन् । लघुबीमा कम्पनी बाहेकका कम्पनीहरूमा पनि ३४ लाख ३५ हजार २० वटा पोलिसी सक्रिय छन् । सक्रिय म्यादी जीवन बीमा पोलिसीको संख्या ३४ लाख १९ हजार ५६७ छन् । यो संख्या कुल सक्रिय पोलिसीको २१ प्रतिशत हो ।
वैदेशिक रोजगार म्यादी जीवन बीमा पोलिसीको संख्या २५ लाख ८६ हजार ३१३ छ । यो संख्या कुल सक्रिय बीमा पोलिसीको १६.५४ प्रतिशत हो ।
यस्तै, २१ लाख ६० हजार २२७ सावधिक जीवन बीमा, चार लाख ६० हजार ४५० अग्रिम भुक्तानी सावधिक जीवन बीमा, पाँच लाख ७९ हजार ८१३ रूपान्तरित सावद्यिक जीवन बीमा, १० लाख ७३ हजार ५७८ बालबच्चा सावधिक जीवन बीमा, एक लाख ७७ हजार १९२ आजीवन जीवन बीमा पोलिसी सक्रिय छन् ।
सक्रिय रहेका एकल बीमाशुल्क जीवन बीमा पोलिसीको संख्या ९८ हजार २११ छ भने अन्य बीमा पोलिसीको संख्या एक लाख २३ हजार ३३६ रहेको छ ।
जीवन बीमा व्यवसायमा बागमती प्रदेशको हिस्सा ४३ प्रतिशत
गत आवमा जीवन बीमा कम्पनीहरुले संकलन गरेको बीमाशुल्कमा बागमती प्रदेशको हिस्सा ४३.९० प्रतिशत रहेको छ । प्राधिकरणको तथ्यांक अनुसार गत आवमा बागमती प्रदेशबाट ८० अर्ब रुपैयाँ बीमाशुल्क संकलन भएको छ । जबकी कर्णाली प्रदेशबाट बीमा कम्पनीहरूले पाँच अर्ब २४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो रकम कुल बीमाशुल्कको २.८७ प्रतिशत हो । गत आवमा कम्पनीहरूले एक खर्ब ८२ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।
कोशी प्रदेशबाट २२ अर्ब ३२ करोड रुपैयाँ संकलन भएको छ । यो रकम कुल बीमाशुल्कको १२.२४ प्रतिशत हो । मधेश प्रदेशबाट १६ अर्ब ३१ करोड रुपैयाँ संकलन भएको छ । यो रकम कुल बीमाशुल्कको ८ंं.९५ प्रतिशत हो । गण्डकी प्रदेशबाट भने कम्पनीहरूले १८ अर्ब ४५ करोड रुपैयाँ संकलन भएको छ । यो रकम कुल बीमाशुल्कको १०ंं.१२ प्रतिशत हो ।
यस्तै, लुम्बिनी प्रदेशबाट कम्पनीहरूले २८ अर्ब ७१ करोड र सुदूरपश्चिमबाट ११ अर्ब १८ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।
बीमा कम्पनीहरुले बढी नाफामुखी भएको बीमा विज्ञ रविन्द्र घिमिरे बताउँछन् । ‘जोखिम गाउँमा झनै बढी छ । ग्रामीण क्षेत्रमा बाढी पैरो देखि आगलागी जस्ता जोखिम छन् । तर, कम्पनीहरू यस्ता जोखिमको बीमा गर्न चाहदैनन्,’ उनले भने ‘गाउँमा जाँदा सञ्चालन खर्च धेरै भई नाफा कम हुने हुँदा यस्ता क्षेत्र कम्पनीको प्राथमिकतामा नपरेका हुन् ।’
तर, बीमा कम्पनीहरू शहरी क्षेत्रमा जोखिम बढी भएको दाबी गर्छन् । शहरी क्षेत्रमा बीमाको बारेमा बुझाउन पनि सहज छ । त्यसैले शहर केन्द्रित भएको कम्पनीहरूको दाबी छ ।
आर्थिकन्यूज