काठमाडौं । सरकारले कार्य गतिविधिबाट श्रमिकहरूमा लाग्ने रोगहरु सुची सार्वजनिक गरेको छ । श्रम नियमावली २०७५ को नियम ५२ अनुसार सरकारले मंगलबार राजपत्रमा सूचना प्रकाशित गर्दै रोगहरु सुची सार्वजनिक गरेको हो ।
सरकारले नियमावली जारी भएको सात वर्ष पछि कार्यस्थलमा हुने रोगहरुको सुची सार्वजनिक गरेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्रवक्ता मणिनाथ गोपले बताए । ‘ऐन र नियमावलीमा रोगहरू सुची सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । सोही बमोजिम हामीले विगत दुई वर्ष देखि यो प्रक्रिया अगाडि बढाएका थियौ,’ उनले भने ।
अब देखि सामाजिक सुरक्षा कोषले यी रोग लागेमा श्रमिकलाई क्षतिपूर्ति दिनुपर्ने विभागका प्रवक्ता गोपले बताए । ‘कोषले श्रमिकको स्वास्थ्य सुरक्षा गर्ने भने पनि रोगहरूको सुची सार्वजनिक नहुँदा यी रोग लागेका श्रमिकहरूले क्षतिपूर्ति पाएका थिएनन् । अब भने तीन श्रमिकले क्षतिपूर्ति पाउने छन्,’ उनले भने ।
‘राष्ट्रिय स्तरको कल्याणकारी कोषले प्रत्येक प्रदेशका एउटा सार्वजनिक अस्पतालसँग सम्झौता गर्नेछ । सम्झौता गरिएको अस्पतालमा गएर श्रमिकले यो रोग लागेको प्रमाणित गर्नुपर्नेछ । अस्पतालले प्रमाणित गरेको आधारमा श्रमिकहरूले कोषबाट क्षतिपूर्ति पाउनेछन्,’ गोपले भने ।
सरकारले व्यवसायजन्य रोगहरूलाई विभिन्न तीन वर्गमा विभाजन गरेको छ । जसमध्ये कार्य गतिविधिहरूबाट उत्पन्न हुने एजेन्टहरूको सम्पर्कको कारण हुने व्यवसायजन्य रोगहरूलाई पनि तीन वटा उपवर्गमा विभाजन गरेको छ ।
जसमध्ये रासायनिक एजेन्टहरूको कारण हुने रोगहरूमा क्रोमियम वा यसको कम्पाउण्डहरुको कारण हुने रोगहरु, मक्र्यूरी वा यसको कम्पाउण्डहरुको कारण हुने रोगहरु, लिड वा यसको कम्पाउण्डहरुको कारण हुने रोगहरु, बेन्जिन वा यसको समरुपताहरुबाट हुने रोगहरु, अल्कोहल, ग्लाइकोल वा किटोन्सको कारण हुने रोगहरु, श्वासप्रश्वासजन्य पदार्थहरुबाट हुने रोगहरु, जिंक वा यसको कम्पाउन्डहरुको कारण हुने रोगहरु, सल्फर अक्साइडका कारण हुने रोगहरु, अर्गानिक सोल्भेन्ट्सका कारण हुने रोगहरु, क्लोरीनको कारण हुने रोगहरु पहिचान गरेको छ ।
भौतिक एजेन्टहरूको कारण हुने रोगहरूमा उच्च ध्वनीका कारण श्रवण शक्तिमा हस, लेजर सहित अप्टिकल विकिकरणहरुबाट हुने रोगहरु, अत्याधिक तापक्रमको सम्पर्कबाट हुन रोगहरु तोकेको छ । जैविक एजेन्टका कारण हुने संङ्क्राकम वा परजीवी रोगहरूमा ब्रुसलोसिस, हेपाटाइटिस भाइरस, एचआईभी, टेटनस क्षयरोग, एन्थे्रक्स र लेप्टोस्पायरोसिस रोग भनेको छ ।
लक्षित अङ्ग प्रणालीद्धारा हुने व्यवसायजन्य रोगहरुलाई पनि तीन वटा उपवर्गमा विभाजन गरेको छ । जसमध्ये श्वासप्रश्वास सम्बन्धी रोगमा फाइब्रोजेनिक मिनरल डस्टको कारण हुने निमोकोनियोसिस, सिलिको क्षयरोग, नन् फाइब्रोजानिक मिनरलको धूलोको कारण हुने न्यूमोकोनिओसिस, साइडरोसिस, कडा मेटलको धुलोबाट हुने ब्रोक्नकोपल्मोनरी रोगहरु, उखुको धुलोको कारण हुने ब्रोन्कोपल्मोनरी रोगहरु, दिर्घकालिन अवरोधक पल्मोनरी रोगहरु, सुचीकृत गरेको छ ।
छाला सम्बन्धी रोगहरुमा डर्माटोसिस र कन्टयाक्ट उर्तिकेरिया जस्ता एलर्जी, इरीटेन्ट कन्टयाक्ट डर्माटोसिस रोगहरु तोकेको छ । मांसपेशीगत विकारहरु रेडियल स्टाइलोइड टेनोसिनोभाइटिस, हात र नाडीको दीर्घकालिन टेनोसिनोभाइटिस, ओलेक्रानन बर्साइटिस, प्रीपाटेलर बर्साइटिस, एपिकोन्डिलाइटिस, मेनिस्कस लिजन्स, कार्पल टनेल सिंड्रोम रोग तोकेको छ ।
मानसिक तथा व्यवहारिक विकारहरु आघातपछिको तनाव विकार, एस्बेस्टोस, क्रोमियम भिई कम्पाउन्ड, कोइला टार्स, कोइला टार पिचहरु वा सुट्स, बेन्जिन, आयनीकरण विकिरणहरु, टार, पिच, विटुमेन, खनिज, तेल, एन्थ्रासाइट वा यी पदार्थहरुको यौगिक, उत्पादन वा अवशेष, काठको धूलो, आर्सेनिक र यसका कम्पाउन्डहरु, क्याडमियम र यसका कम्पाउन्डहरु, हेपाटाइटिस बी र सी भाइरस रोग तोकेको छ ।
आर्थिकन्यूज