शीर्षकहरू

व्यापारमा सुधार र खर्च कटौतीले शिवम् सिमेन्टको नाफा तीन गुणाले बढ्यो

व्यापारमा सुधार र खर्च कटौतीले शिवम् सिमेन्टको नाफा तीन गुणाले बढ्यो

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको व्यापारमा सुधारसँगै खर्च समेत घटेपछि नाफामा उच्च बढोत्तरी भएको छ । साथै बैंकको ब्याजदर घटेको लाभ समेत उठाएको छ । कम्पनीले गत आर्थिक वर्षमा ७९ करोड ४१ लाख खुद नाफा गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा तीन गुणा बढी हो । अघिल्लो आर्थिक वर्ष कम्पनीले २५ करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । 

कम्पनीको व्यापारमा सुधार तथा बिक्री लागत र खर्चहरु घटाएका कारण नाफामा आकर्षक सुधार भएको हो । यसअवधिमा कम्पनीले आफ्ना उत्पादन बिक्री मार्फत ७ अर्ब ७६ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत आवको भन्दा ६ करोड बढी हो । कम्पनीले आफ्नो उत्पादन बिक्रीमार्फत १ अर्ब ७२ करोड रुपैयाँ खुद आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने  १ अर्ब ३ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तै कम्पनीले १३ करोड ९४ लाख अन्य आम्दानी गरेको छ । यो शिर्षकको आम्दानी भने झण्डै ७ करोडले घटेको छ । कम्पनीको उत्पादन लागतमा उच्च गिरावट आएको छ । कम्पनीको उत्पादन लागत ६ अर्ब ३ करोड रहेको छ । अघिल्लो आवमा ६ अर्ब ६६ करोड रहेको थियो । कम्पनीको उत्पादन खर्च नै ६३ करोडले घटेको छ । 

यस्तै कम्पनीको प्रशासनिक २७ करोड ५१ लाख, बिक्री वितरण खर्च ६५ करोड ५३ लाख, वित्तीय खर्च १० करोड १८ लाख रहेको छ  कम्पनीको प्रशासनिक खर्च बढेपनि बिक्री वितरण खर्च र वित्तीय खर्च भने उच्चरुपमा घटेको छ । बैंक ब्याजदर घट्दा वित्तीय खर्च घटेको हो । कर्जाको ब्याजदर घट्दा कम्पनीको वित्तीय खर्च झण्डै ४० करोडले घटेको छ ।

शिवम् सिमेन्ट्सको चुक्ता पुँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । यसको शेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ । नाफा बढेसँगै यसको प्रतिशेयर आम्दानी १४.५५ रुपैयाँ पुगेको छ । प्रतिशेयर नेटवर्थ भने १८८.५७ रुपैयाँ रहेको छ ।