काठमाडौं । ग्लोबल आइएमई बैंकको वितरणयोग्य मुनाफा उल्लेख्य रुपमा वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार वितरणयोग्य मुनाफा ९६१.५९ प्रतिशतले वृद्धि भएको हो ।
यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो मुनाफा ५० करोड ६७ लाख रुपैयाँ थियो । यससँगै बैंकको लाभांश वितरण क्षमता १.४० प्रतिशतबाट वृद्धि भएर १४.११ प्रतिशत पुगेको छ ।
खुद नाफा सामान्य वृद्धि भएको छ । अघिल्लो वर्ष ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले गत वर्ष ६ अर्ब २० करोड रुपैयाँ कमाएको छ । बैंकको खुद ब्याज आम्दानी घटेको छ भने फी तथा कमिसनबाट हुने आम्दानी वृद्धि भएको छ । यसैगरी, कुल सञ्चालन आम्दानी पनि वृद्धि भएको छ ।
अघिल्लो वर्ष १६ अर्ब ८५ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत वर्ष १६ अर्ब ७१ करोडमा झरेको छ । अघिल्लो वर्ष २ अर्ब ६८ करोड रुपैयाँ रहेको खुद फी तथा कमिशन आम्दानी गत वर्ष ३ अर्ब २२ करोड पुगेको छ भने कुल सञ्चालन आम्दानी २० अर्ब ६५ करोडबाट २१ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।
खराब कर्जा सामान्य वृद्धि भएको छ । अघिल्लो वर्ष ४.१७ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ४.८७ प्रतिशतमा उक्लिएको छ । प्रतिशेयर आम्दानी १६.९९ रुपैयाँबाट १६.२८ रुपैयाँमा झरेको छ भने प्रति शेयर कुल सम्पत्तिको मूल्य १ हजार ८०९.६१ रुपैयाँ रहेको छ ।
प्रति शेयर नेटवर्थ १७७.६३ रुपैयाँ, तरलता अनुपात ३७.७५ प्रतिशत र मूल्य आम्दानी अनुपात १५.९५ गुणा रहेको छ ।
आर्थिकन्यूज