शीर्षकहरू

विद्युत उत्पादनको अन्तिम चरणमा मध्यभोटेकोशी, आम्दानी नहुँदा नोक्सानी बढ्यो

विद्युत उत्पादनको अन्तिम चरणमा मध्यभोटेकोशी, आम्दानी नहुँदा नोक्सानी बढ्यो

काठमाडौं । विद्युत उत्पादनको अन्तिम चरणमा रहेको मध्यभोटेकोशी हाइड्रोपावरको घाटा बढेर ४ करोड रुपैयाँ माथि पुगेको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको वित्तीय विवरण अनुसार कम्पनी ४ करोड १० लाख ८० हजार रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो आवमा पनि कम्पनीले २ करोड ८ लाख ५७ हजार रुपैयाँ नोक्सानमा थियो । एक वर्षको अवधिमा कम्पनीको घाटा दोब्बर पुगेको छ ।

कम्पनीको वित्तीय र अन्य आम्दानी घटेकाले घाटा चुलिएको हो । अघिल्लो आवमा कम्पनीको कुल आम्दानी २ करोड ६६ लाख रुपैयाँ रहेकोमा सो घटेर ३१ लाख ४० हजार रुपैयाँ मात्रै कायम भएको छ । यस कम्पनी अन्तर्गत एउटा मात्र आयोजना रहेको र उक्त आयोजना निर्माणाधीन रही हाल निर्माण सम्पन्न हुने अन्तिम बिन्दुमा रहेकाले खास आम्दानी नभएको कम्पनीको भनाई छ ।

कम्पनीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिका (तत्कालीन मार्मिङ र गाती गा.वि.स.) भएर बग्ने भोटेकोशी नदीको जलसम्पदा प्रयोग गरी १०२ मे.वा. क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माणको कार्य अगाडि बढाएको छ । उक्त आयोजनाका कामहरुलाई मुख्यतः तीन भागमा विभाजन गरी निर्माणको चरणमा लगिएको र सोही अनुसार कार्य सम्पन्न हुने अन्तिम विन्दुमा पुगेको कम्पनीले जानकारी गराएको छ ।

महा भूकम्प, बाढी–पहिरो जस्ता प्राकृतिक प्रकोप र कोभिड-१९ महामारीका कारण मध्य भोटेकोशी जलविद्युत आयोजनाको निर्माण कार्यमा ढिलाइ भएको थियो । यद्यपि, कम्पनी व्यवस्थापन, ठेकेदार कम्पनी र परामर्शदाताहरूको संयुक्त प्रयासले सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल लगायतका सबै कामले गति लिएर आयोजना अब विद्युत उत्पादनको अन्तिम चरणमा पुगेको छ ।

हाल विद्युत उत्पादन सुरु गर्नका लागि मुख्य चुनौती भनेको नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको बाह्रबिसे सबस्टेसनको निर्माण सम्पन्न नहुनु रहेको कम्पनीको भनाई छ । यसको वैकल्पिक उपायका रूपमा आयोजनाले नेपाल विद्युत प्राधिकरणको न्यू खिम्ती सबस्टेसनमा रहेको ४०० के.भी. ग्यास इन्सुलेटेड स्विच गियरलाई बाइपास गरी अपर तामाकोशीको २२० के.भी. लाइनमा जोडेर राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत प्रवाह गर्ने तयारी भइरहेको जनाएको छ ।

कम्पनीको चुक्तापूँजी ६ अर्ब रुपैयाँ रहेको छ । जसको रिटेन्ड अर्निङ ३९ करोड ४२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी ०.६८ रुपैयाँ ऋणात्मक, प्रतिशेयर नेटवर्थ ९३.४३ रुपैयाँ र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ३६४.५९ रुपैयाँ रहेको छ ।