शीर्षकहरू

घट्यो सगरमाथा लुम्बिनी इन्स्योरेन्सको खुद नाफा, यस्ता छन् अन्य सूचक

घट्यो सगरमाथा लुम्बिनी इन्स्योरेन्सको खुद नाफा, यस्ता छन् अन्य सूचक

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा सामान्य घटेको छ । 

अघिल्लो वर्ष ४६ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले गत वर्ष ४० करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । तुलनात्मक रुपमा कम्पनीको नाफा १२.५१ प्रतिशतले घटेको हो । 

गत वर्ष कम्पनीले १ लाख ५३ हजार ७०४ वटा बीमा पोलिसि जारी गर्दा ५ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो अवधिमा कम्पनीले १ अर्ब ६९ करोड ४० लाख रुपैयाँ बढी दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष १ अर्ब २९ करोड ५९ लाख रुपैयाँ बढी दाबी भुक्तानी गरेको थियो । यो अवधिसम्म कम्पनीले करिब ६ अर्ब ७२ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ । जसमध्ये २ अर्ब ८ करोड रुपैयाँ दीर्घकालिन लगानी र ४ अर्ब ६३ करोड अल्पकालीन लगानी रहेको छ । 

२ अर्ब ६२ करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी रहेका कम्पनीको प्रति शेयर आम्दानी १५.३७ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष प्रति शेयर आम्दानी २३.३४ रुपैयाँ थियो ।  प्रति शेयर नेटवर्थ २३९.१२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४७.२३ गुणा र प्रति शेयर कुल सम्पत्तिको मूल्य ५७७.७० रुपैयाँ रहेको छ ।