शीर्षकहरू

वित्तीय प्रणालीमा तरलताको चाप : महिना दिनमै सातौ पटक प्रशोचन, आज थप २५ अर्ब तान्दै केन्द्रीय बैंक

वित्तीय प्रणालीमा तरलताको चाप : महिना दिनमै सातौ पटक प्रशोचन, आज थप २५ अर्ब तान्दै केन्द्रीय बैंक

काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलताको चाप यथावत रहेको छ । चालु आर्थिक वर्ष सुरु भए यता मात्रै राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि वित्तीय प्रणालीबाट २ खर्ब ४२ अर्ब ५० करोड तरलता प्रशोचन गरिसकेको छ । केन्द्रीय बैंकले आज फेरि थप २५ अर्ब रुपैयाँ  तरलता प्रशोचन गर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले लगालग निक्षेप तानिरहेको छ । निक्षेप संकलन उपकरणको माध्यमबाट बैंकले २५ दिनको लागि २५ अर्ब निक्षेप संकलन गर्न लागेको हो। केन्द्रीय बैंकले साउन लागेपछि सातौं पटक तरलता प्रशोचन गर्न लागेको हो ।

अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो ३ बजे बोलकबोल हुने निक्षेप संकलन आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप संकलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी भदौ २२ गते हुनेछ ।

केन्द्रीय बैंकले  साउन लागेपछि ६ पटक तरलता प्रशोचन गरिसकेको छ । यसअघि गत साउन ४ गते ५० अर्ब तथा साउन ७ गते ७८ अर्ब २५ करोड, साउन ११ गते ४१ अर्ब १० करोड, साउन १४ गते ७ अर्ब ६५ करोड तथा साउन १८ गते ५० अर्ब, साउन २१ गते १५ अर्ब ५० करोड तरलता प्रशोचन गरिसकेको छ । साउन महिना लागेपछि मात्रै २ खर्ब ४२ अर्ब निक्षेप संकलन उपरकण मार्फत तरलता खिचिसकेको छ । केन्द्रीय बैंकले निक्षेप संकलन मार्फत नभई स्थाई निक्षेप सुविधा (एसडिएफ) मार्फत पनि नियमित तरलता प्रशोचन गर्दै आएको छ ।

लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । अपेक्षा अनुसार कर्जा प्रवाह हुन सकेको छैन । ब्याजदर निरन्तर घटे पनि कर्जा प्रवाह सुस्त छ। यसैकारण तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पटकपटक प्रणालीबाट पैसा तान्दै आएको छ ।