शीर्षकहरू

नाइमामा भएकाे प्राइस रिडक्सनबारे अनुसन्धान गर्दै वाणिज्य विभाग, डिजी भन्छन्, ‘कालोबजारी ऐन नहुँदा मनपरी भयो’

नाइमामा भएकाे प्राइस रिडक्सनबारे अनुसन्धान गर्दै वाणिज्य विभाग, डिजी भन्छन्, ‘कालोबजारी ऐन नहुँदा मनपरी भयो’

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा बुकिङ भएका सवारी साधनमा कम्पनीहरूले भारी छुट दिएपछि वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभाग चनाखो भएको छ । कम्पनीहरूले अस्वभाविक छुट दिएको समाचार प्रकाशित भए पछि विभागको अनुगमन टोलीले नाइमा एक्स्पोको स्थलगत अवलोकन गरेको छ । 

विभागले कम्पनीहरूले सावरी साधनमा छुट दिँदा र नदिँदा राखेको नाफा र भारी छुट दिइएका सवारी साधनको गुणस्तरमा समेत चासो देखाएको छ । विभागको अनुगमन टोली नाइमा एक्स्पोमा नै पुगेर यस विषयमा सुक्ष्मअवलोकन गरेको विभागका अनुगमन अधिकृत अमित झाले बताए । ‘सवारी साधनमा ४४ प्रतिशतसम्म छुट दिइएको सुनियो । यसरी छुट दिदा कम्पनीले कति नाफा राखेका छन् ? छुट नदिँदा कति राखेका छन् ? यस विषयमा हामीले अनुगमन गर्दै छौ,’ उनले भने ‘भारी छुट दिएका सावरी साधनको गुणस्तरको पनि अनुसन्धान गर्दै छौ ।’ विभागले अस्वाभाविक छुट दिएको सवारी साधनको मूल्य विश्लेषण गर्दैछ । 

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४ को उपदफा २ को ‘क’ मा उत्पादक, बिक्रेता तथा वितरकले अबान्छनिय तरिकाले मूल्य निर्धारण वा वृद्धि गर्न नपाउने व्यवस्था छ । यसैगरी, सोही ऐनको दफा १६ उपदफा २ (क) अनुसार वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी, लुकाई, छिपाई वा झुक्याई त्यस वस्तु वा सेवाको बिक्री गरेमा त्यसलाई अनुचित व्यापारिक क्रियाकलाप मानिने उल्लेख छ । 

सोही ऐनको दफा २२ अनुसार नियम मिचेर वस्तु विक्री गरेको पाइएमा तीन लाख देखि ६ लाखसम्म जरिवाना, पाँच वर्षसम्म जेल वा दुवै सजाय हुने व्यवस्था छ ।

कम्पनीहरूले विदेशबाट गाडी आयात गर्दा मूल्य विश्लेषण सुची वाणिज्य र भन्सार विभागमा बुझाउनु पर्ने प्रावधान छ । जसमा कम्पनीले उत्पादकसँग खरिद गरेको मूल्य, नेपालसम्म आयात गर्दा लाग्ने ढुवानी खर्च, भन्सार महसुल, अन्तशुल्क लगायत सबै दायित्वको हिसाब सहित विभागमा मूल्य विश्लेषण सुची बुझाउनु पर्छ । त्यसैका आधारमा कम्पनीले अंकित मूल्य तय गर्छन् ।

नाइमा बुकिङ गर्दा ४४ प्रतिशतसम्म छुट, यी हुन् धेरै छुट दिइएका गाडीहरु

गत साउन २१ गतेदेखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा कम्पनीहरूले गाडीहरुमा ४४.४२ प्रतिशतसम्म छुट दिएका छन् । 

नाइमा धेरै जसोको ब्राण्डका गाडी तथा मोटरसाइकलमा छुट अफर थियो । सबैभन्दा धेरै छुट निसान ब्राण्डको लिफ गाडीमा थियो । ६४ लाख ९९ हजार रुपैयाँ अंकित मूल्य (एमआरपी) रहेको सो गाडीमा १९ लाख ९९ हजार छुट थियो । अर्थात् सो गाडीमा ४४.४२ प्रतिशतसम्म छुट दिइएको थियो । 

निसानको लिफमा २० लाख छुट थियो भने ८४ लाख ९९ हजार पर्ने जिकर एक्समा १५ लाख छुट दिइएको थियो । यो गाडी ६९ लाख ९९ हजारमा बिक्रीमा राखिएको थियो । यसैगरी, ४८ लाख ९६ हजार पर्ने केई एक्स३ गाडी नाइमा एक्स्पोमा ३९ लाख ९६ हजार रुपैयाँ मूल्य कायम गरिएको थियो । 

म्याक्ससमा १० लाख, हुण्डाईको गाडीमा आठ लाख, लिपमोटरका गाडीहरुमा पाँच देखि सात लाख रुपैयाँसम्म, फरथिङ फ्राइडेमा ६ लाख र जेको जे५ मा चार लाखसम्म छुट थियो । यसका साथै अन्य विभिन्न गाडीमा एक देखि दुई लाखसम्म छुट अफर थियो । 

कालोबजारी ऐन नहुँदा मनपरि नाफा राख्दै कम्पनीहरू

वाणिज्य विभागका महानिर्देशक कुमार प्रसाद दाहालले राज्यको नीति नै उपभोक्तालाई ठगीमा पार्ने खालको भएको बताएका छन् । विदेशबाट बस्तु आयात गर्दा एजेन्सीबाट नै आयात गर्नुपर्ने र ति एजेन्सीहरूले नाफा जति पनि राख्न पाउने सरकारी व्यवस्था कै कारण उपभोक्ता ठगिने गरेको उनले बताए । 

कालोबजारी ऐन अनुसार २० प्रतिशतभन्दा धेरै नाफा राख्न नपाइने व्यवस्था छ । सो ऐन अनुसार कसैले २० प्रतिशतभन्दा बढी नाफा राखेमा कारबाही गर्नुपर्थ्यो । तर, सरकारले सो ऐन खारेज गरेर एकसय रुपैयाँको बस्तुलाई एक लाख रुपैयाँमा पनि विक्री गर्न सकिने बाटो खोलिदिएको उनले गुनासो गरे ।

यसैगरी, व्यक्तिगत रुपमा विदेशबाट सामान आयात गर्न नपाइने व्यवस्था बनाएर पनि उपभोक्तालाई मारमा पारिएको उनको धारणा छ । ‘व्यक्तिगत रुपमा पनि बिल बिजक देखाएर, कर तथा भन्सार तिरेर पनि व्यक्तिले सामान ल्याउन नपाउने व्यवस्थाले उपभोक्ता मारमा परेका छन्,’ उनले भने । 

व्यक्तिले पनि बस्तु आयात गर्ने पाउने व्यवस्था गर्नुपर्ने उनले बताए । ‘यदि तपाइको साथी जापान छ, उसले तपाइलाई कार उपहार दियो भने तपाईले भन्सार लगायतका कर तिरेर नेपालमा ल्याएर चलाउँन किन नपाउँने ? तर अहिलेको कानूनले त्यसरी ल्याउन दिँदैन,’ उनले भने ।

स्टक क्लियर गर्न घाटा खाएर बिक्री गरेको कम्पनीको दाबी

नेपालका लागि निसान ब्राण्डको आधिकारिक आयातकर्ता तथा बिक्रेता कम्पनी पायोनियर मोटोकोर्पका जनरल म्यानेजर ज्ञानेन्द्र चन्दले निसान लिफ गाडी घाटा खाएर बिक्री गरिएको दाबी गरे । ‘गाडी २०२२ मोडलको हो । स्टक क्लियर गर्नका लागि घाटामा बिक्री गरिएको हो,’ उनले भने । 

उनका अनुसार कम्पनीसँग २०२२ मोडलको गाडी ६ वटा स्टकमा थिए । स्टक क्लियर गर्नुपर्ने भएकाले कम्पनीले घाटा खाएरै भएपनि भारी छुट दिएर विक्री गरेको उनले स्पष्ट पारे । सोही गाडी अहिले चिनबाट ल्याउने हो भने ९० लाख रुपैयाँ पर्ने पनि उनले बताए । नाइमा निसानको लिफमा २० लाख छुट दिइएको थियो ।