शीर्षकहरू

मुख्यमन्त्री बानियाद्वारा निवास र कार्यालयमा हुने सुविधा ५० प्रतिशतले कटौती

मुख्यमन्त्री बानियाद्वारा निवास र कार्यालयमा हुने सुविधा ५० प्रतिशतले कटौती

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले ५० प्रतिशतले कटौती गर्ने घोषणा गरेका छन् । मुख्यमन्त्री निवास र कार्यालयमा हुने सुविधा बापतको ५० प्रतिशत खर्च कटौति गर्ने घोषणा गरेका हुन ।   

बुधबार बसेको प्रदेशसभाको विशेष समयपछि समय माग गरेर सम्बोधन गर्दै उनले विगतका मुख्यमन्त्रीहरुले गर्दै आएको खर्चलाई ५० प्रतिशत कटौती गर्ने बताए । आफ्नो कार्यकालमा सुशासन र पारदर्शिता कायम गर्दै जवाफदेहीता सहित काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

उनका अनुसार आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकबाट सेवा सुविधा बापत प्राप्त हुने रकम निर्वाचन क्षेत्रमा गरिब विपन्नको घर बनाउन खर्च गर्ने घोषणालाई तत्काल कार्यान्वयनमा अघि बढाइने छ । आगामी दशैँ अगाडि नै आफ्नो निर्वाचन क्षेत्र मकवानपुर क्षेत्र नम्बर २ ९ख०का विपन्न नागरिकको घर आवास निर्माण गर्ने उनले घोषणा गरे ।

उनले भने, ‘मैले मुख्यमन्त्रीको हैसियतले पाउने मासिक सुविधाबाट मलाई निर्वाचन जिताउने निर्वाचित गर्ने प्रदेश क्षेत्रका ३० वटा वडाध्यक्षको सबैभन्दा विपन्न गरिबको घर दसैँ अगावै बनाइसक्ने छु । गरिबमुखी काम दसैँ अगाडी नै घर हस्तान्तरण गरेर त्यहाँबाट सुरु गर्नेछु ।’

मुख्यमन्त्री बानियाका अनुसार आफ्नो पहिलो क्याबिनेटले गरिब विपन्न वर्ग लक्षित छात्रवृत्ति वितरणको निर्णय गरिएको छ । आर्थिक अवस्था कमजोर भएर पढ्न नपाएर निराशा बनेका सीमान्तकृत जातजाति वनकरिया, थामी, चेपाङ, जिरेल, पहरी लगायतका प्रदेशभित्रका पछाडि परेका वर्गलाई सरकारले अध्ययन छात्रवृत्ति वितरण गर्ने उनको भनाइ छ ।