शीर्षकहरू

माबिलुङ्ग इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

माबिलुङ्ग इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडकाे आईपीओमा आवेदन दिने आज साउन २९ गते अन्तिम दिन रहेको छ । साउन २६ गतेदेखि आम सर्वसाधारणका लागि खुला भएकाे साे आईपीओमा आजसम्म आवेदन दिन सकिने छ । 

कम्पनीले आम सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९०४ कित्ता आईपीओ निष्काशन गरेकाे हाे । जसको अंकित मूल्य १०० रुपैयाँ रहेको छ । कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालिहरुका लागि यसअघि नै आईपीओ निष्काशन गरेर बाँडफाँड गरिसकेको छ । 

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

सो आईपीओमा न्यूनतम् १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको ४.९५ मेगावाटको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ रहेको छ । सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र ३१ वर्ष बाँकी रहेको छ । यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.४३ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १७.०९ वर्ष रहेको छ ।