शीर्षकहरू

एमसिसी अन्तर्गत २१ अर्ब ६३ करोड लागतमा १८० किमि ४०० केभी प्रसारण लाइन निर्माण सम्झौता

एमसिसी अन्तर्गत २१ अर्ब ६३ करोड लागतमा १८० किमि ४०० केभी प्रसारण लाइन निर्माण सम्झौता

काठमाडौं । संयुक्त राज्य अमेरिकाको आर्थिक सहयोगमा सञ्चालित मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट अन्तर्गत विद्युत प्रसारण आयोजना अगाडि बढाउन क्रममा आज (बिहिबार) दुई प्रमुख सम्झौतामा हस्ताक्षर भएको छ । 

एमसिए–नेपालले प्रतिस्पर्धात्मक अन्तराष्ट्रिय बोलपत्र प्रक्रियाबाट रातमाटे नयाँ दमौली प्रसारण लाइनको निर्माण सम्झौता एन्जेलिक स्किपर संयुक्त उपक्रमसँग र नयाँ दमौली नयाँ बुटवल प्रसारण लाइन निर्माण सम्झौता वाइवा सलासर संयुक्त उपक्रमसँग भएकाे हाे ।

संयुक्त लागत १५ करोड ४५ लाख अमेरिकी डलर (२१ अर्ब ६३ करोड रुपैयाँ) रुपैयाँमा १८० किमि लामो ४०० केभी प्रसारण लाइनहरूको डिजाइन, स्थापना, परीक्षण र सञ्चालन लगायतका कामका लागि सम्झौता भएकाे छ ।

अर्थ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, एमसीसीका कार्यवाहक उपाध्यक्ष, एमसीसी आवासीय राष्ट्रिय नियोगका प्रतिनिधिहरू, अमेरिकी दूतावासका अधिकारीहरूको समुपस्थितिमा एमसिए-नेपालका कार्यकारी निर्देशक खड्ग वहादुर विष्ट र दुई कम्पनीका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा हस्ताक्षर गरी एमसिसीले पारस्परिक प्राथमिकता र नेपालको विकास लक्ष्यहरूमा संयुक्त राज्य अमेरिकाको सहयोगलाई पुनः पुष्टि गरेको छ, “एमसीसीका कार्यवाहक उपाध्यक्ष जोन विङ्गलले भने, “नेपालमा विजुलीको उपलब्धता र विश्वसनीयतामा सुधार गर्नुका साथै क्षेत्रीय विद्युत् व्यापार र अन्तरआवद्धता अभिवृद्धि गर्न नेपाली समीक्षकहरूसँग मिलेर काम गर्न पाउँदा हामी गौरवान्वित भएका छौं ।”

अर्थ मन्त्रालयका सचिव तथा एमसिए-नेपाल सञ्चालक समितिका अध्यक्ष घनश्याम उपाध्यायले प्रसारण लाइन र सबस्टेशनहरू निर्माणसम्बन्धी नेपाल सरकारको योजनालाई कार्यान्वयन गर्ने अमेरिकी सरकारबाट प्राप्त आर्थिक सहयोगको सराहना गर्नुहुँदै यस कार्यक्रमका लागि सरकारी सहयोग निरन्तर रहने बताए । 

निर्माण सम्झौता एउटा उपलब्धि मात्र नभई नेपालको विकास र समृद्धि प्रति संयुक्त राज्य अमेरिकाको स्थायी प्रतिवद्धताको मूर्त प्रतीक हो, “नेपालस्थित अमेरिकी दूतावासका नियोग उप-प्रमुख श्री जेसन मीक्सले भने, ‘यस साझेदारी मार्फत हामी विद्युत् प्रसारण लाइन र आर्थिक पूर्वाधार मात्र निर्माण गरिरहेका छैनौं, नेपालको दीर्घकालीन विकासलाई पनि तीव्र पारिरहेका छौं । एमसीसी कम्प्याक्ट नेपाल नेपाल र संयुक्त राज्य अमेरिका बीचको सहकार्यको आधारशिला हो । सम्पूर्ण नेपाली नागरिकलाई लाभान्वित गर्न सँगै अगाडि बढ्न पाउँदा गर्वको अनुभूति गरिरहेका छौं ।”

एमसिए–नेपालका कार्यकारी निर्देशक विष्टले भने, “कम्प्याक्टलाई अगाडि बढाउन अमेरिकी सरकारबाट भइरहेको निरन्तर सहयोग र पछिल्लो अनुमतिको हामी सराहना गछौं । आजको यो महत्वपूर्ण उपलब्धिमा यस राष्ट्रिय गौरव आयोजनाप्रति नेपाल सरकार र सबै सरोकारवालाको साझा प्रतिबद्धता प्रतिबिम्बित भएको छ। हामी दिगो सहकार्य गर्दै सफल कार्यान्वयनमा केन्द्रित छौं ।”

एमसीसी नेपाल कम्प्याक्ट निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि सकारात्मक वातावरण निर्माण गर्दै नेपालको दीर्घकालीन आर्थिक विकासका लागि गरिएको ६९ करोड ७० लाख डलरको ऐतिहासिक लगानी हो । विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना कार्यान्वयन गरी महत्वपूर्ण पूर्वाधार सुदृढीकरण, सीमापार ऊर्जा व्यापार अभिवृद्धि र नेपालको यातायात सञ्जालमा सुधार गरेर अन्तर आबद्धता विस्तार गर्दै आर्थिक वृद्धिमा टेवा पु¥याउन एमसीसी नेपाल कम्प्याक्ट तयार गरिएको हो।