शीर्षकहरू

विकासका लागि नेपाल मोडेल जरुरी छ : पूर्वाधारमन्त्री दाहाल

विकासका लागि नेपाल मोडेल जरुरी छ : पूर्वाधारमन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माण पूर्वको अध्ययनलाई जोड दिन आवश्यक रहेको बताएका छन् । नेपाल इन्जिनियरिङ काउन्सिलले बिहिबार काठमाडौंमा आयोजना गरेको इन्जिनियरिङ पेशा र नेपाल इन्जिनियरिङ काउन्सिलको भूमिका विषयक कार्यशालामा उनले पूर्वाधार निर्माणको कामलाई दिगो र सुरक्षित बनाउन विशिष्ट अध्ययन र अनुसन्धान जरुरी रहेको बताए ।

नेपालको भुधरातलिय बिशिस्टता सुहाउँदो बिकास मोडेल आवश्यक रहेको जनाउँदै नेपालको भौगोलिक चुनौती खेप्न सक्ने प्रविधिबारे समेत अध्ययन गर्न समेत उनले आग्रह गरे । आवश्यक नीति र कानुन निर्माण र शंसोधनका लागि सरकार तयार रहेको पनि उनले जनाए । 

ठूला राजमार्गहरुको विकास र विस्तार, आधुनिक सुरुङहरूको निर्माण, नेपालको विशिष्ट भुबनोट सुहाउँदा सुरक्षित सडक लगायतका संरचना निर्माणमा नेपाली ईन्जिनियरहरुले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै मन्त्री दाहालले नेपाली ईन्जिनियरहरुको शिक्षा र क्षमतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने काम अघि बढ्नुले यस क्षेत्रलाई थप उत्साही बनाएको विश्वास व्यक्त गरे ।

कार्यक्रममा मन्त्रालयका सचिव केशव कुमार शर्माले नेपालको पूर्वाधार विकासलाई नयाँ चरणमा पुर्याउन इन्जिनियरिङ क्षेत्रको महत्वपूर्ण भुमिका रहने बताए । नेपालको पूर्वाधार क्षेत्र अहिले तीव्र निर्माणको चरणमा भएकाले यस पछि नयाँ चरण शुरु हुने उनको धारणा छ। 

उनले उपयोगबाट आर्थिक समृद्धीलाई अघि बढाउन सकिने पनि बताए । नेपालमा उत्पादित स्तरीय जनशक्तिबाट नै पूर्वाधार क्षेत्रलाई आधुनिक दिशातर्फ अघि बढाउन सकिने भन्दै उनले नेपाली ईन्जिनियरहरुको वृत्ति विकास र योगदानलाई महत्वका साथ हेरिएको बताए । 

यस्तै काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीले ईन्जिनियर र ईन्जिनियरीङ् क्षेत्रले विकासका विभिन्न आयामलाई समेट्ने भएकाले यस क्षेत्रको योगदान नभई आधुनिक विकास सम्भव नहुने बताए । 

कार्यक्रममा इन्जिनियरिङ पेशा र नेपाल इन्जिनियरिङ काउन्सिलको भूमिकाका विभिन्न विषयमा विज्ञहरु सहित छलफल भएको  काउन्सिलका रजिस्ट्रार ध्रुवराज भट्टराईले जानकारी दिए ।