शीर्षकहरू

चर्को मूल्यमा हवाई टिकट विक्री गरी विद्यार्थी ठग्दै कन्सल्टेन्सीहरू

चर्को मूल्यमा हवाई टिकट विक्री गरी विद्यार्थी ठग्दै कन्सल्टेन्सीहरू

काठमाडौं। वैदेशिक अध्ययनका लागि परामर्श प्रदान गर्न खोलिएका शैक्षिक परामर्शदाताहरूले अधिकार क्षेत्र भन्दा बाहिर गएर हवाई टिकट विक्री गर्ने गरेको पाइएको छ । अध्ययन लागि अन्तिम प्रक्रियामा पुगेका विद्यार्थीलाई अनावश्यक डर, त्रास र धम्की देखाएर परामर्शदाताहरूले चर्को शुल्कमा हवाई टिकट विक्री गर्ने गरेको पाइएको छ । 

परामर्शदाताको मुख्य कार्य क्षेत्र भनेको विदेश अध्ययन सम्बन्धी परामर्श दिने, भाषा कक्षा सञ्चालन गर्ने, कागजात तयारी र भिसा प्रक्रियामा सहयोग गर्ने हो । तर, विद्यार्थीलाई ठग्ने नियतले परामर्शदाताहरूले हवाई टिकट विक्री गर्दै आएको पाइएको छ । 

२०२५ को सेटेम्बर इन्टेकमा दक्षिण कोरिया जाने भिसा प्राप्त गरेका करिब २५ जना विद्यार्थीहरूलाई बागबजार स्थित खुशी इन्टरनेशनल कन्सल्टेन्सीले जबरजस्ती हवाई टिकट खरिद गर्न लगाएको एक पीडित विद्यार्थीले बताए । भिसाको अन्तिम प्रक्रिया सकिएपछि परामर्शदाताले जबरजस्ती टिकट आफैसँग लिन लगाएको उनले गुनासो गरे  । 

बजारमा ५० हजार रुपैयाँ पर्ने टिकटलाई खुशी इन्टरनेशनले ८५ हजार देखि ९० हजार रुपैयाँसम्ममा खरिद गर्न बाध्य पारेको पीडितहरू बताउँछन् । विद्यार्थी र अभिभावकले आफैले टिकट काट्छौ भन्दा पनि कन्सल्टेन्सीले कोरिया पुगेपछि केही भएमा जिम्मा नलिने भन्दै धम्की दिएको पीडितहरूले गुनासो गरे । यस्तै, टिकट विक्री गर्दा कानुन अनुसार दिनुपर्ने भ्याट विल समेत नदिएको पीडितहरूले बताए । 

नेपालको हवाई सेवा सञ्चालन तथा विक्री सम्बन्धी व्यवस्था अनुसार हवाई टिकट विक्री गर्न नेपाल सरकारको पर्यटन विभाग वा नेपाल नागरिक उड्डयन प्राधिकरणमा आधिकारिक ट्राभल एजेन्सीका रुपमा दर्ता हुनुपर्ने प्रावधान छ । शैक्षिक परामर्शदाता संस्था भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दर्ता भएर सञ्चालन गर्न सक्नेछन् । तर, यी संस्थाहरूले हवाई टिकट विक्री गर्ने अनुमति भने पाएका हुँदैनन् । 

यस्तै, उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार बजार मूल्य भन्दा बढी मूल्य असुल्नु भनेको ठगी र उपभोक्ता अधिकार हननको अपराध हो । विल वा रसिद नदिने कार्य कानुनी विपरित हो । तर, परामर्शदाताहरूले ऐन विपरित आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर हवाई टिकट विक्री गर्दै खुलेआम विद्यार्थीहरूलाई ठग्दै आएका छन्  । 

भिसा पाएपछि विदेश जाने अन्तिम तयारीमा रहेका विद्यार्थीहरूलाई समयको दबाब र भविष्यको डर देखाएर अनावश्यक रकम असुलिएको पीडितहरुको गुनासो छ । परामर्शदाताको दबाबमा अभिभावकहरू ऋण लिएर भएपनि महँगो टिकट खरिद गर्न बाध्य भएका छन् ।