चितवन । दुग्ध उत्पादक सहकारीले दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको चितवनमा सम्पन्न ३१ औँ सञ्चालक समिति बैंठकले दूधको भुक्तानी नपाएमा आगामी भदौ ४ गते देखि चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
दुग्ध उत्पादक सहकारीले भुक्तानी नपाउँदा किसानलाईसमेत भुक्तानी गर्न नसकिएको जनाउँदै आन्दोलन गर्ने चेतवनी दिएका हुन् । संघका अध्यक्ष अम्बरबहादुर कुँवरले भदौ ४ गते जिल्ला सहकारी संघका अध्यक्षहरुको भेला आयोजना गर्ने र सोही भेलाले थप निर्णय लिने बताए । उनले भने “दुग्ध उत्पादक किसान सम्मानित हुन चाहन्छौँ । अपमानित होइन । यसका लागि आन्दोलनमा जाने निर्णय गरेका हौँ ।”
अहिले देशभरका दुग्ध उत्पादकले सरकारी र निजी क्षेत्रबाट गरी ४ अर्ब बढी भुक्तानी पाउन बाँकी रहेको उनले जानकारी दिए । पटक-पटक वार्ता र छलफल गर्दासमेत भुक्तानी पाउने सम्भावना नदेखेपछि आन्दोलनमा जुट्नु परेको उनले बताए । उनका अनुसार दुग्ध विकास बोर्डको १ अर्ब र निजी क्षेत्रबाट ३ अर्ब भुक्तानी पाउनुपर्ने छ। सरकारसँग भएको वार्तापछिको ११ बुँदे सहमति कार्यान्वयनमा नआएको भन्दै संघले आन्दोलनको तयारी गरेको हो ।
बैठकपछि आज पत्रकार सम्मेलनको आयोजना गर्दै संघले दुग्ध उत्पादक किसानको रकम तिर्ने र नतिर्ने उद्योगको वर्गीकरण गरेर सार्वजनिक गर्नेसम्मका कार्यक्रम गरिने संघका महासचिव राम आचार्यले जानकारी दिए। उनले भने “कतिपय उद्योगले भुक्तानी गरिरहेका छन् । त्यस्ता उद्योग र भुक्तानी नगर्ने उद्योगको वर्गीकरण गरेर भुक्तानी पाउनुपर्ने रकमसहित सार्वजनिक गछौंँ ।”
पटक-पटकका छलफलबाट निकास नआएको भन्दै उनले एक सातासम्म भुक्तानी बाँकी भएका उद्योगलाई भुक्तानी गर्नसमेत आग्रह गरे । उनले थपे “हामी भुक्तानी बाँकी रहेका उद्योगलाई भुक्तानीका लागि पत्राचार गरेर ४ गते सम्मको समय दिन्छौ। त्यतिबेलासम्म पनि नभए आन्दोलनमा जान्छौँ।”
संघका उपाध्यक्ष भागिरथ तिमिल्सिनाले दूध बेचेर घरगृहस्थी सञ्चालन गर्ने किसानलाई उद्योगीले अपहेलित गरेकाले आन्दोलनमा जाने तयारी गरिएको बताए । उनका अनुसार दुग्ध विकास बोर्ड र निजी उद्योगले सामान बिक्री भएपछि भुक्तानी दिने भनेर बताए पनि लामो समयदेखिको भुक्तानी बाँकी रहेको बताए । उनले भने “यसपालिको आन्दोलनबाट किसानले न्याय पाउने छन् ।” दुग्ध विकास बोर्डले गत माघ महिनादेखिको भुक्तानी दिन बाँकी रहेको छ, भने निजी क्षेत्रको मङ्सिरदेखिको भुक्तानी दिन बाँकी रहेको छ ।
संघका सचिव थानेश्वर सापकोटाले विभिन्न बाहनामा किसानको दूधको भुक्तानी उद्योगीले नदिएको भन्दै आक्रोश व्यक्त गरे । यही अवस्था रहे दुग्ध उत्पादक किसान समस्यामापर्ने भन्दै सरोकारवालाले समस्या समाधानमा चासो दिनुपर्ने बताए । सरकार र निजी क्षेत्र उदाशिन बन्दा दुग्ध उत्पादक किसान समस्यामा रहेको उनको भनाइ छ ।
देशभर ६४ वटा जिल्लामा दूध उत्पादन हुँदै आएको छ । ३६ वटा जिल्लामा जिल्ला दुग्ध उत्पादक सहकारी रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । ती जिल्लाबाट दैनिक ७० लाख लिटर दूध उत्पादन हुँदै आएको छ । एक हजार आठ सय ७२ वटा दुग्ध उत्पादक सहकारीले दैनिक १३ लाख लिटर दूध उत्पादन गर्दै आएको सो अवसरमा जानकारी दिइयो । ती सहकारीमा ६ लाख परिवार आवद्ध रहेको जानकारी दिँदै सङ्घले ३० लाख भन्दा बढी किसान दूध उत्पादनमा जोडिएको संघका महासचिव आचार्यले जानकारी दिए ।
आर्थिकन्यूज