काठमाडौं।बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल(बीएफआइएन)ले आफ्नो सातौं वार्षिकोत्सवका अवसरमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।
विहीबार काठमाडौंको र्याडिसन होटलमा ‘विश्वव्यापी आर्थिक तथा प्राविधिक परिदृश्यः विकासलाई सुदृढ पार्ने, स्थिरता सुनिश्चित गर्ने र नवप्रवर्तनलाई अँगाल्ने’ शिर्षकमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु गरेको हो ।
सम्मेलनमा सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रकाश कुमार श्रेष्ठले आर्थिक क्षेत्रमा विश्वव्यापी रुपमा नै तनावको माहोल रहेको बताए।उनले विश्वबजारमा रुस–युक्रेन साथै हमासमा युद्ध चलिरहेकाले त्यसको असर नेपालमा अर्थतन्त्रमा पनि परेको औंल्याए । युद्धले अर्थक्षेत्र र आर्थिक गतिविधिमा असर पारेको उनको भनाइ थियो ।
उनले भने, ‘सम्मेलनमा विश्वव्यापी परिदृश्य परिवर्तन र यसले आर्थिक क्षेत्रमा पार्ने असरको बारेमा चर्चा गर्नु जरुरी छ । आर्थिक क्षेत्रमा विश्वव्यापी रुपमा नै तनावको माहोल बनेको छ । रुस र युक्रेनको युद्ध अझै जारी छ, हमासमा पनि युद्ध चलिरहेको छ । यो सबै कुराले पनि अर्थ क्षेत्र र आर्थिक गतिविधिमा पनि असर परेको छ ।’
यस्तै, उनले सूचना प्रविधिमा भइरहेको तिव्र परिवर्तनले पनि अर्थतन्त्रलाई नयाँ आकार दिइरहेको भन्दै यसले बैंकिङ्क क्षेत्रलाई पनि असर पारेको बताए। उनले भने, ‘सूचना प्रविधिमा भइरहेको तिव्र परिवर्तन जस्तै एआई, रोबोर्ट जस्ता प्रविधिहरुले पनि हाम्रो अर्थतन्त्रलाई पुनःआकार दिंदैछ । आर्थिक गतिविधिमा कहिले समस्या सिर्जना गर्छ भने कहिले सहयोग पनि पर्छ । यस्तो तिव्र प्राविधिक परिवर्तनले हाम्रो बैंकिङ्क क्षेत्रलाई पनि असर पारेको छ ।’
जलवायु परिवर्तनको असर विश्वव्यापी रुपमा रहेको र नेपाल पनि योबाट टाढा जान नसकेको भन्दै यसले नेपालको आर्थिक क्षेत्रलाई खतरामा पारेको पनि उनको भनाई छ ।
सम्मेलनमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र(इसीमोड)की उपमहानिर्देशक इजाबेला कोजिएलले जलवायु परिवर्तनका कारण अर्थतन्त्रमा असर पारेको बताइन् । इसिमोड र बिएफआइएनबीच सहकार्यका लागि नयाँ परियोजनामा सम्झौता भएकोप्रति खुशी व्यक्त गर्दै आर्थिक क्षेत्रमा केही सुधार गर्न सक्ने औंल्याइन्।
उनले भनिन्, ‘इसिमोड र बिएफआइएनबीचको सम्झौताले आर्थिक क्षेत्रमा सहकार्यका साथ अगाडि बढ्न सहयोग गर्छ । आर्थिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्छ ।’
सम्मेलनमा बिएफआइएनका प्रबन्ध निर्देशक डा.विनोद आत्रेयले आर्थिक रुपान्तरण र आर्थिक संकट समाधानमा सबैको सहयोग आवश्यक रहेको बताए ।
सम्मेलनमा नेपाल र विदेशका प्रतिष्ठित नीति निर्माताहरू, उद्योगी, व्यवसायी, बैंक एवम वित्तिय संस्थाका प्रतिनिधिहरु र विज्ञहरु सहभागी छन् ।
सम्मेलनले विश्वव्यापी अर्थतन्त्र र बैंकिङ, वित्त र बीमाको भविष्यलाई आकार दिन प्रविधिको भूमिकाको बारेमा छलफल गर्दैछ । दिनभर चल्ने सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञ र सरोकारवालाहरुबीच प्यानल डिस्कसन चल्नेछ ।
सम्मेलनमा नेपाल राष्ट्र बैंकका सञ्चालक समितिका सदस्यहरू चिन्तामणि शिवाकोटी र डा. रवीन्द्र प्रसाद पाण्डेलगायतले सम्बोधन गरेका थिए ।
सम्मेलनमा विश्वव्यापी आर्थिक र प्राविधिक परिदृश्यमा रहेका महत्वपूर्ण मुद्दाहरू, नवप्रवर्तनका रणनीतिहरूमा छलफल केन्द्रीत हुनेछ ।
आर्थिकन्यूज