शीर्षकहरू

मधेशको धार्मिक पर्यटन प्रवर्द्धनका लागि भारतीय रक्षामन्त्रीलाई  ज्ञापनपत्र

मधेशको धार्मिक पर्यटन प्रवर्द्धनका लागि भारतीय रक्षामन्त्रीलाई  ज्ञापनपत्र

नयाँ दिल्ली । मधेश प्रदेश सरकारको ’घुमौ मधेश, बुझौ मधेश’ कार्यक्रमका संयोजक विकाश कुमार ठाकुरले मधेशको धार्मिक पर्यटन प्रवद्र्धनका लागि भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई ज्ञापनपत्र बुझाएका छन् ।

बिहीबार नयाँदिल्लीस्थित मन्त्रालयमा मन्त्री सिंहलाई भेटेर १० बुँदे ज्ञापनपत्र बुझाएका हुन् । सो अवसरमा कांग्रेस नेता एवं पूर्वसांसद अभिषेकप्रताप शाह पनि उपस्थित थिए ।  

मधेश प्रदेशका धार्मिक एवं ऐतिहासिक पर्यटकीय स्थलहरुलाई भारतसँग जोड्ने र तिनीहरुको प्रचार–प्रसारका लागि ज्ञापनपत्र बुझाइएको संयोजक ठाकुरले बताए । ’भारतसँग सीमा जोडिएको मधेश प्रदेशको सांस्कृतिक, ऐतिहासिक एवं धार्मिक पर्यटन स्थलहरुको विकास एवं प्रवद्र्धनमा सहयोगको आशा राखेर ज्ञापनपत्र बुझाएको छु,’ उनले भने ।

जवाफमा भारतीय रक्षामन्त्री सिंहले नेपाल भारतको ऐतिहासिक र धार्मिक सम्बन्धलाई अहिलेको समयअनुसार अगाडि बढाउनुपर्ने अवश्यकता रहेको बताए । उनले नेपाल र भारतका श्रद्धालुलाई दुख नदिइ विशेष व्यवहार गर्नुपर्नेमा पनि जोड दिए । ’मधेश प्रदेशको पर्यटन वर्षको लागि भारतले प्रधानमन्त्रीजीको आसन्न भ्रमणमा एजेण्डा बनाउनेगरी पहल गर्छु । धार्मिक तथा पर्यटन आदानप्रदानका लागि चाँडै नै सकारात्मक पहल गर्छु । केही न केही नतिजा दिन्छ,’ उनले भने ।  

ज्ञापन पत्रमा मधेश प्रदेशका नागरिक ऐतिहासिक, सांस्कृतिक, भाषिक एवं पारिवारिक रूपमा भारतसँग जोडिएको र यो क्षेत्र विभिन्न धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटन स्थलहरुले परिपूर्ण रहेको उल्लेख छ ।

मागमा भनिएको छ, ‘धनुषाको जनकपुरधाम (सीताको जन्मभूमि), धनुषाधाम, बाराको महागढ़ीमाई मेला स्थल, पर्साका देवधाम, महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ महादेव, बर्दिवासस्थित बाबा टुटेश्वरनाथ महादेव मन्दिर, सर्लाहीको कविलासी नगरपालिकास्थित श्री चमेली माई मन्दिर, फरहदवास्थित रजवा महादेव मन्दिर, बलराको शितलीमाई मन्दिर, चन्द्रनगरस्थित नाढीमन ताल, बाग्मतीस्थित नुनथर पहाड, सप्तरीको राजविराजस्थित छिन्नमस्ता भगवती मन्दिर, हनुमाननगरस्थित श्री कंकालनी माता मन्दिर, रौटहटको मत्सरीस्थित श्री दुर्गा भगवती मन्दिर, शिवनगरस्थित शिवमन्दिर, सिरहाको सहलेश फुलवारी, लहानस्थित बाबा हरिहरनाथ मन्दिरलगायत अन्य धार्मिक एवम् पर्यटकीयस्थल नेपाल र भारतको साझा सांस्कृतिक धरोहरको प्रतीकको रुपमा रहेको र लाखौ श्रद्धालुको आस्थासँग जोडिएको भन्दै यी सबै धार्मिक स्थलहरुलाई भारतको प्रमुख धार्मिक पर्यटन मार्गसँग जोड्न माग गरिएको छ ।
’यो अति आवश्यक छ ।’