काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले आर्थिक वर्ष २०८१-८२ को वित्तीय विवरण सार्वजनिक गरेका छन् । अधिकांश बैंकको नाफा र अन्य वित्तीय सूचकमा उल्लेखनीय सुधार देखिएको छ । लामो समयदेखि खराब कर्जाको दबाबमा रहेका बैंकहरू क्रमशः सुधारतर्फ उन्मुख हुँदै नाफामा वृद्धि भएको देखिन्छ ।
वाणिज्य बैंकहरुले प्रकाशित गरेको विवरण अनुसार गत आर्थिक वर्षमा २० वाणिज्य बैंकहरुको कुल नाफा ७१ अर्ब १८ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकहरुको नाफा ४३.९७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष बैंकहरुले ४९ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएका थिए।
नेपाल राष्ट्र बैंकले वित्तीय विवरण प्रकाशन गर्ने म्याद १५ दिन थप गरेपछि बैंकहरुको यसको लाभ उठाएकाले पनि धेरैजसको प्रगति उन्मुख देखिएको हो । केन्द्रीय बैंकले मौद्रिक नीति मार्फत विशेषगरी २ करोडसम्मको लघु, घरेलु, साना तथा मझौला क्षेत्रको कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरणको सुविधा दिएकाले पनि बैंकहरुको नाफामा सुधार देखिएको हो।
यस्तै, निर्माण क्षेत्रमा दिएको ऋण पुनर्तालिकीकरणको सुविधा, चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा गरिएको पछिल्लो संशोधनले बैंकहरुलाई प्रोभिजनिङ घटाउन मद्दत पुगेकाले यसको लाभ उठाएका छन् । नियमित कारोबार भन्दा पनि नियामकीय सहजीकरणले बैंकहरुलाई नाफा बढाउन सहयोग पुर्याएको देखिन्छ । यसले गर्दा विगत दुई वर्षदेखि लाभांश नदिएका कतिपय बैंकहरुको नाफामा सुधार देखिएको छ भने कतिपयले गत वर्ष लाभांश वितरण नगरेका कारण यस वर्ष लाभांश दिने क्षमता बनाएका छन्।
नाफामा नबिल अब्बल, एनआईसी एशिया कमजोर
२० वाणिज्य बैंकमध्ये सबैभन्दा उच्च नाफा नबिल बैंकले गरेको छ । बैंकले अघिल्लो वर्षको भन्दा १५ प्रतिशतले नाफा वृद्धि गर्दै ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा भने बैंकले ६ अर्ब १९ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
दोस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६ अर्ब ७५ करोड ६६ लाख नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ४ अर्ब १० करोडको नाफा कमाएको थियो । त्यस्तै ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ नाफा गरेको ग्लोबल आइएमई बैंक तेस्रो स्थानमा परेको छ ।
सबैभन्दा कम नाफा एनआईसी एशियाको छ । जसले १६ करोड १५ लाख मात्र नाफा कमाएको छ । जसको नाफा करिब ७७ प्रतिशतले घटेको हो । अघिल्लो आवमा बैंकले ७० करोड १४ लाख नाफा गरेको थियो ।
चौथो नम्बरको प्रभु बैंकको ५ अर्ब ४४ करोड नाफा गरेको छ । ४ अर्ब ९१ करोड कमाएको एभरेष्ट पाँचौ र ४ अर्ब ११ करोड रुपैयाँ कमाएको लक्ष्मी सनराइज बैंक छैठौ स्थानमा परेका छन् । यस्तै, गत आवमा प्राइम बैंकले ४ अर्ब २ करोड, कृषि विकास बैंकको ३ अर्ब ८२ करोड, राष्टिय वाणिज्य बैंकको ३ अर्ब ८१ करोड, नेपाल बैंकको ३ अर्ब ७७ करोड, सिद्धार्थ बैंकले ३ अर्ब ३९ करो तथा एनएमबि बैंकले ३ अर्ब २८ करोड नाफा आर्जन गरेका छन्।
यसैगरी स्ट्याण्डर्ड चार्टड बैंकको नाफा ३ अर्ब, सानिमा बैंकको २ अर्ब ५७ करोड, कुमारी बैंकको २ अर्ब ११ करोड, माछापुच्छ्रे बैंकको २ अर्ब १ करोड, नेपाल एसबिआई बैंकको १ अर्ब ८० करोड, हिमालयन बैंकको १ अर्ब ५१ करोड र सिटिजन्स बैंकको १ अर्ब २९ करोड रुपैयाँ रहेको छ ।
स्ट्याण्डर्ड चार्टडसहित ४ बैंकको नाफा घट्यो
समीक्षा अवधिमा ४ वाणिज्य बैंकहरुको नाफा भने घटेको छ । यस अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र एनआईसी एशिया बैंकको नाफा घटेको हो। जसमध्ये एनआईसी एशिया बैंकको नाफा सबैभन्दा झण्डै ७७ प्रतिशतले नाफा घटेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको साढे ७ प्रतिशत, नेपाल एसबिआई बैंकको करिब १० प्रतिशत, सिटिजन्स बैंक इन्टरनेशनलको २ प्रतिशतले नाफा घटेको छ ।
नाफा वृद्धिदरमा कुमारी अगाडि
नाफा वृद्धिदर कुमारी बैंकको वृद्धिदर सबैभन्दा उच्च देखिएको छ । यस बैंकको नाफा वृद्धिदर ४५ हजार ८२१ प्रतिशत देखिएको छ । त्यस्तै, प्रभु बैंक र नेपाल बैंकको नाफा वृद्धिदर उल्लेख्य देखिएको छ । नेपाल बैंकको नाफा १३ हजार १७५ तथा प्रभुको नाफा ९६५ प्रतिशतले बढेको छ ।
कुन बैंकको नाफा कति ?

आर्थिकन्यूज