काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरुको खुद नाफा उल्लेख्य रुपमा वृद्धि भएको छ । सञ्चालनमा रहेका २० मध्ये १६ वाणिज्य बैंकको नाफा वृद्धि भएको छ भने ४ वटाको नाफा घटेको छ ।
समग्रमा वाणिज्य बैंकको खुद नाफा ४३.६८ प्रतिशतले वृद्धि भएको हो । बैंकहरुले सार्वजनिक गरेको चाैथाे त्रैमाससम्मकाे अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ७१ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो नाफा ४९ करोड ५४ लाख रुपैयाँ थियो ।
यस अवधिमा सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा नबिल बैंक पहिलो नम्बरमा रहेको छ भने नाफा धेरै वृद्धि गर्नेमा कुमारी बैंक रहेको छ । नबिलको नाफा ७ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । नबिललाई पछ्याउँदै नेपाल इन्भेष्टमेन्ट मेगा दोस्रो नम्बरमा उक्लिएको छ । नेपाल इन्भेष्टमेन्ट मेगाको नाफा ६ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । तेस्रो नम्बरमा ग्लोबल आइएमई रहेको छ । ग्लोबलको नाफा ६ अर्ब २० करोड रुपैयाँ रहेको छ ।
यता, कुमारीको नाफा ४५ हजार ९०० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको यस बैंकले गत वर्ष २ अर्ब ११ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । नेपाल बैंकको नाफा १३ हजार १८५ प्रतिशतले बढेर ३ अर्ब ७७ करोड ३० लाख पुगेको छ । अघिल्लो वर्ष यस बैंकको नाफा २ करोड ८४ लाख रुपैयाँ थियो ।
यसैगरी, प्रभु बैंकको नाफा ९६५ प्रतिशतले वृद्धि भएर ५ अर्ब ४४ करोड पुगेको छ भने माछापुच्छ्रे बैंकको नाफा ९२ प्रतिशतले बढेर २ अर्ब १ करोड पुगेको छ ।
सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई र एनआईसी एसिया बैंकको नाफा क्रमशः २, ७१, १०, र ७७ प्रतिशतले घटेको छ । 
आर्थिकन्यूज