शीर्षकहरू

एघार बैंकले दोहोरो अंकको लाभांश क्षमता राख्दा ४ बैंकको ऋणात्मक, कुन बैंकको कति ?

एघार बैंकले दोहोरो अंकको लाभांश क्षमता राख्दा ४ बैंकको ऋणात्मक, कुन बैंकको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा चार बैंकको लाभांश क्षमता नकारात्मक रहेको छ । २० वाणिज्य बैंकहरुमा १६ वटा बैंकहरुको लाभांश क्षमता धनात्मक देखिन्छ । अघिल्लो वर्ष लाभांश दिन नसकेका ५ वाणिज्य बैंक यसवर्ष लाभांश दिनसक्ने अवस्थामा पुगेका छन् । 

२० वटा वाणिज्य बैंकहरुमध्ये कुमारी बैंक, हिमालयन, नेपाल बैंक र एनआइसी एसिया बैंकको लाभांश वितरण क्षमता ऋणात्मक रहेको छ । यी चार बैंकले अघिल्लो वर्ष पनि लाभांश दिन सकेका थिएनन् । अघिल्लो वर्ष लाभांश दिन नसकेका एनएमबि, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको यो वर्ष लाभांश वितरण क्षमता धनात्मक भएको छ ।

प्रकाशित विवरण अनुसार एभरेष्ट बैंकको लाभांश वितरण क्षमता सबैभन्दा धेरै देखिएको छ । गत वर्षको नाफाबाट एभरेष्टले ३८.२७ प्रतिशतसम्म लाभांश दिनमिल्छ । अघिल्लो वर्ष लाभांश वितरण क्षमता २८.०६ प्रतिशत रहेको थियो । गत आवमा बैंकले ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको वितरणयोग्य नाफा भने ४ अर्ब ९५ करोड छ ।

सानिमा बैंकले पनि लाभांश क्षमता दोब्बर बनाएको छ । दोस्रोमा रहेको सानिमा बैंकको लाभांश वितरण क्षमता २०.४७ प्रतिशत छ ।  गत वर्ष २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको वितरणयोग्य नाफा २ अर्ब ७८ करोड छ । 

अघिकांश बैंकहरुको ब्याज आम्दानी बढेको छ । साथै, केहीको इम्पेयरमेन्ट चार्ज घटेको छ । जसकारण नाफामा सुधार देखिएको हो । नाफासँगै लाभांश वितरण क्षमतामा पनि सुधार आएको हो । तर कतिपय बैंकको खराब कर्जा बढेको छ । कतिपय पुँजीकोषको दबाबमा रहेका छन् । जसले गर्दा केही बैंकहरुले लाभांश क्षमता अनुरुपको लाभांश वितरण गर्न नसक्ने अवस्था पनि रहन्छ । गतवर्ष पनि अधिकांश बैंकले आफ्नो लाभांश क्षमता भन्दा कम मात्र लाभांश वितरण गरेका थिए । 

बैंकहरुको विवरण हेर्दा ११ बैंकले दोहोरो अंकमा लाभांश दिन सक्ने अवस्था छ । ५ बैंकले एकल अंकमा लाभांश दिनसक्ने क्षमता राख्दा ४ बैंक लाभांश दिन नसक्ने अवस्थामा रहेका छन् । दोहोरो अंकमा लाभांश बाड्ने क्षमता राख्नेमा स्टान्डर्ड चार्टर्ड बैंकको १९.८५ प्रतिशत, कृषि विकास बैंकको १८.४२ प्रतिशत, नबिलको १७.६४ प्रतिशत लाभांश वितरण क्षमता छ ।

यसैगरी, प्राइम कमर्सियल बैंकको १४.३३, ग्लोबल आइएमईको १४.११, सिद्धार्थ बैंकको १३.२२ प्रतिशत, माछापुच्छ्रे बैंकको ९.२३ प्रतिशत, लक्ष्मी सनराइजको १२.३४, नेपाल एसबीआइको ११.२९, एनएमबिको १०.४० प्रतिशत लाभांश वितरण क्षमता छ । यस्तै, माछापुच्छ्रे बैंकको ९.२३ प्रतिशत र सिटिजन्स बैंकको लाभांश वितरण क्षमता ५.२५ प्रतिशत छ । त्यसैगरी, प्रभु बैंकको ४.४४ प्रतिशत लाभांश क्षमता देखिएको छ ।

कुन बैंकले कति दिन सक्छ लाभांश ?

null