शीर्षकहरू

एशियन होटलले ३५ करोडको आईपीओ जारी गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक

एशियन होटलले ३५ करोडको आईपीओ जारी गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक

काठमाडौं । एशियन होटलले ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता साधारण शेयर (आईपीओ) आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ । पर्यटकीय नगरी भैरहवा लुम्बिनीमा विगत ४ वर्षदेखि उत्कृष्ट सेवा र आतिथ्यको पहिचान बनाउँदै आएको होटलले आफ्नो व्यवसाय विस्तार गर्न आईपीओ निष्कासन गर्ने भएको हो ।

आईपीओबाट संकलित रकमबाट होटलको सुविधा पाँचतारे स्तरमा स्तरोन्नति गर्ने, स्पोट्र्स कम्प्लेक्स तथा हेल्थ फिटनेस लगायतका पूर्वाधार विकास गर्ने योजना गरिएको छ । शेयर निष्काशन प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ ।

यसै सन्दर्भमा, आयोजित एक औपचारिक कार्यक्रममा होटल एशियन को तर्फबाट अध्यक्ष पारस अधिकारी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

भैरहवा लुम्बिनीमा अवस्थित एक सांस्कृतिक धरोहरबाट प्रेरित आतिथ्य सेवामा आधारित बौद्ध धर्मावलम्बी र सांस्कृतिक वातावरणको वास्तविक झल्को दिने यो होटल सन् २०२१ मा स्थापित भई स्थानीय आतिथ्य सेवाको उत्कृष्ट प्रतीक बनेको छ । भैरहवा नजिकै अवस्थित लुम्बिनी, युनेस्कोको विश्व सम्पदा स्थल हो। यो सिद्धार्थ गौतम बुद्धको जन्मस्थल र बौद्ध धर्मावलम्बीहरूको लागि एक प्रमुख तीर्थस्थल रहेको छ।

यस होटलले हाल ६६ वटा सुविधा सम्पन्न कोठा, स्पा, फिटनेस सेन्टर, क्यासिनो, बेन्कोट हल, बाह्य बगैंचा, उच्चस्तरीय सेमिनार, कन्फरेन्स तथा डेस्टिनेशन वेडिङ्ग जस्ता अन्य सम्बन्धित सुविधाहरु बाट आफ्नो व्यवसाय गर्दै आईरहेको छ ।

शेयर निष्काशन पश्चात् आफ्नो व्यवसाय विस्तार गर्नका लागि अरु मुख्य सहरहरु जस्तै पोखरा, काठमाण्डौ, चितवन मा आफ्नो सेवा बिस्तार गर्ने योजना गारिएको अध्यक्ष ले जानकारी गराएका छन । उक्त शाखा सेवाहरु थप गरे लगतै स्थानीय स्तरमा रोजगारी सिर्जना र लुम्बिनीको पर्यटन प्रवर्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।

होटलले प्रविधिमा आधारित सेवा व्यवस्थापन प्रणाली, हरित पर्यटनको अवधारणा तथा दीगो विकास लक्ष्यहरुप्रति प्रतिबद्ध रहँदै व्यवसाय विस्तारमा अग्रसर रहने स्पष्ट रणनीति अघि सारेको छ ।