काठमाडौं । गत आर्थिक वर्ष २०८१/०८२ मा निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा खुम्चिएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा ३०.८८ प्रतिशतले नाफा गिरावट भएको कम्पनीहरुले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
अघिल्लो वर्ष कम्पनीहरुले ६ अर्ब १ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । गत वर्षमा मात्र ४ अर्ब १५ करोड १५ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेका छन् ।
सञ्चालनमा रहेका १४ जिर्नीवन बीम कम्पनीमध्ये ८ वटाको नाफा घटेको छ, जसमध्ये एक कम्पनीले घाटा ब्योहोरेको छ । ६ कम्पनीको भने नाफा वृद्धि भएको छ । धेरै नाफा वृद्धि गर्नेमा प्रभु इन्स्योरेन्स पहिलो नम्बरमा छ भने धेरै नाफा कमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स अगाडी छ ।
प्रभुको नाफा ३९.२२ प्रतिशतले वृद्धि हुँदा सानिमा जीआईसी इन्स्योरेन्सको नाफा १०.१२ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ९.६७ प्रतिशत, नेपाल इन्स्योरेन्सको नाफा ४.१८, सिद्धार्थ प्रिमियरको नाफा ३.६३ र शिखर इन्स्योरेन्सको नाफा १.६६ प्रतिशतले वृद्धि भएको छ ।
सिद्धार्थ प्रिमियरले सबैभन्दा धेरै ७१ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गर्दा नेको इन्स्योरेन्सले ५५ करोड ८ लाख र हिमालयन एभरेष्ट इन्स्योरेन्सले ५३ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
नेशनल इन्स्योरेन्सले ६२ करोड ३९ लाख रुपैयाँ घाटा ब्योहोरेको छ । द ओरियन्टल इन्स्योरेन्सको नाफा ८६ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ३१.८३, आईजीआई प्रुडेन्सियलको २७.८४, हिमालयन एभेरेष्ट इन्स्योरेन्सको २०.३०, यूनाइटेड अजोड इन्स्योरेन्सको २१.८८, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १२.५२ र नेको इन्स्योरेन्सको नाफा ६.२७ प्रतिशतले घटेको छ ।
किन घट्यो नाफा ?
गत वर्ष असोज १० गते आएको बाढी पहिरो कारण निर्जीवन बीमा कम्पनीहरुको नाफामा प्रभाव परेको हो । सो बाढीबाट निर्जीवन बीमा कम्पनीहरुमा १२ अर्ब २७ करोड रुपैयाँ बढीको दाबी पेश भएको थियो ।
जसमा कम्पनीहरुले ४ अर्ब ८७ करोड रुपैयाँ दाबी भुक्तानी गरेका थिए । यसरी ठुलो रकम भुक्तानी गर्नुपर्दा कम्पनीहरुको नाफामा असर परेको सानिमा जीआईसी इन्स्योरेन्सका प्रमुख कार्याकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय बताउँछन् ।
यसका साथै बैंकको ब्याजदरमा आएको गिरावटले पनि कम्पनीहरुको नाफामा असर गरेको उनको भनाई छ । उनले भने, 'बीमा कम्पनीहरुको मुख्य लगानी बैंकको मुद्दती निक्षेपमा रहेको छ । बैंकको ब्याजदर घटेको घटै छ । जसले गर्दा नाफा घट्न पुग्यो ।’
निर्जीवन कम्पनीहरुको नाफा उल्लेख्य मात्रामा घटिरहेको बेला सानिमा जीआईसीको नाफा बढ्नुको कारण के हो भन्ने प्रश्नमा उनको जवाफ, 'हाम्रो पुनर्बीमा प्रोटेक्सन राम्रो थियो ।’

आर्थिकन्यूज