काठमाडौं । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेका जलविद्युत आयोजनाको व्यवसायीक विद्युत् उत्पादन अवधि (आरसिओडी) थप गर्न प्रस्ताव गरिएको छ । प्राधिकरणका सञ्चालक समिति सदस्य डा. बल बहादुर पराजुलीको संयोजकत्वमा गठन अध्ययन समितिले आरसिओडीको समय दुई वर्ष थप गर्न प्रस्ताव गरेको हो ।
अध्ययन समितिले गत साता प्रतिवेदन सञ्चालक समितिलाई बुझाएको छ । अध्ययन प्रतिवेदनमा जलविद्युत आयोजनाको आरसिओडी दुई वर्ष थप गर्न प्रस्ताव गरिएको छ । अध्ययन समितिमा प्राधिकरणका अर्का सञ्चालक सदस्य रतन ऐर र प्राधिकरणका निर्देशक राजन ढकाल छन् ।
प्रतिवेदन मार्फत आरसिओडी सहित ऊर्जा व्यवसायीहरूको विषयमा विभिन्न प्रस्ताव तथा सुझाव दिइएको छ । प्रतिवेदनमा उल्लिखित विषयवस्तु सञ्चालक समितिबाट पारित भएमा मात्रै कार्यान्वयन हुनेछ ।
प्राधिकरण र परियोजना बीच पिपिए हुँदा सम्झौतापत्रमा नै विद्युत् उत्पादन गर्ने मिति उल्लेख गर्नुपर्ने प्रावधान छ । तोकिएको मितिमा नै परियोजनाले विद्युत् उत्पादन गर्नुपर्ने व्यवस्था छ । तोकिएको अवधिमा विद्युत उत्पादन गर्न नसकेमा परियोजनाहरूले प्राधिकरणलाई जरिवाना भुक्तानी गर्नुपर्नेछ । तर, विद्युत् उत्पादन गर्ने अवस्था भएर पनि प्राधिकरणले खरिद नगरेको अवस्थामा भने प्राधिकरणले जरिवाना तिर्नुपर्छ ।
स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था नेपाल (इप्पान) का अनुसार अहिले निजी क्षेत्रका झन्डै चार हजार मेगावाट क्षमताका जलविद्युत् परियोजना निर्माणका चरणमा छन् । तिनीहरू सबैको आरसिओडी म्याद थप गर्नुपर्ने अवस्था छ ।
पछिल्ला समय राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा भएका विभिन्न गतिविधिले परियोजना तोकिएको समयमा सम्पन्न नभएको परियोजना सञ्चालकहरू बताउँछन् । त्यसैले समय अवधि थप गर्नुपर्ने उनीहरुको तर्क छ ।
आर्थिकन्यूज