काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत कर्मचारीले आर्थिकन्युजका प्रबन्ध सम्पादक इन्द्र बानियालाई मार्ने धम्की दिएका छन् । राष्ट्रिय ट्रमा सेन्टरमा भएको व्यापक आर्थिक तथा प्रशासनिक अनियमितताको भण्डाफोर गर्दै आर्थिकन्युजले समाचार सम्प्रेषण गरेपछि कम्पनीका अध्यक्ष समेत रहेका बानियालाई हात खुट्टा भाचिदिने तथा ज्यान समेत लिने धम्की आएको हो ।
आर्थिकन्युज डटकमले साउन २९ गते बिहीबार ‘राष्ट्रिय ट्रमा सेन्टरमा आर्थिक लेनदेनमा दर्जनौ कर्मचारी नियुक्ति, प्रमुखलाई कारवाही र निलम्बनको उजुरी प्रति स्वास्थ्यमन्त्री मौन’ भन्ने शिर्षकको समाचार प्रकाशित गरेको थियो । सो समाचारमा ट्रमा सेन्टर अहिले कर्मचारी भर्ती केन्द्रका साथै मेडिकल माफियाको मिलेमतोमा उपकरण लगायत सामान महङ्गोमा खरिद गर्दै कमिसन खाने अड्डा बनेको उल्लेख छ । उक्त सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजाल लगायतले प्रतिव्यक्ती ३ देखि ५ लाख रुपैयाँसम्म रकम असुलेर विना दरबन्दी कर्मचारी भर्ना गर्दै आएको बिषय उजागर गरेको छ ।
प्रमुख रिजालले गत हप्ता मात्रै १ दर्जनभन्दा बढी कर्मचारी भर्ना गरी प्रतिव्यक्ती ५ लाख रुपैयाँसम्म पैसा लिएर नियुक्ति गरेको प्रसंग समाचारमा रहेको छ । गएको साता मात्रै ५ जना हेल्थ असिस्टेन्ट, ९ जना मेडिकल अफिसर, १० जना स्टाफ नर्स तथा ल्याबमा ४ जना कर्मचारी भर्ति गरिएको थियो । साथै स्वास्थ्य मन्त्रालयबाट सिफारिस भएर आएकाहरुसँग पनि बिचौलिया मार्फत रकम असुल्ने गरेको खुलासा समाचारमा गरिएको छ ।
उक्त समाचारको बिषयलाई लिएर ट्रमा सेन्टरमा कार्यरत रहेको बताउँदै एक महिलाले बानियालाई हात खुट्टा भाचिदिने धम्की दिएकी हुन् । पछाडि ४८००८ रहेको नम्बरबाट आएको फोनबाट असभ्य र अपशब्दसँगै जे पनि गर्न तयार रहेको भन्दै ज्यान लिनेसम्मको धम्की दिएकी हुन् । उक्त नम्बरलाई ट्रयु कलरले शोभा ठकुरी भनि देखाएको छ ।
आर्थिकन्युजले राष्ट्रिय ट्रमा सेन्टरमा भइरहेको व्यापक आर्थिक तथा प्रशासनिक अनियमितताका बिषयमा प्रकाशित गरेको समाचारमा उनको नाम कतै पनि उल्लेख गरेको छैन । तर, उनले फोन गरेर तथानाम गाली गर्दै हात खुट्टा भाचिदिने, केटी लगाएर तह लगाउने मात्र नभई ज्यान लिनेसम्मको धम्की दिएकी हुन । ट्रमा सेन्टरको कर्मचारी बताउने ती महिलाले महिलाको शक्ति देखाउने भन्दै आर्थिकन्यूजको कार्यालयमा प्रहरीले घेर्ने धम्की दिदै भनिन्, ‘पत्रकारलाई धम्की दिन पनि हैसियत हुनुपर्छ म नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको जिल्लाको काँग्रेस हुँ र म त्यो हैसियत पनि राख्छु । त जस्तालाई ठेगान लगाउन जानेकी छु।’
सोहि समाचारको बिषयलार्ई लिएर राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत हेल्थ असिस्टेन्ट उपेन्द्र धामीले समेत फोन गरेर ट्रमाको समाचार लेख्नेलाई देखाइदिने भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेर फोन गरेका थिए । आर्थिकन्यूज डटकमले राष्ट्रिय ट्रमा सेन्टरमा भएको भ्रष्टचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र प्रधानमन्त्री कार्यालयमा परेको उजुरीका आधारमा सप्रमाण समाचार प्रकाशन गरेको थियो ।
उक्त सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले कर्मचारी भर्ना, उपकरण खरिदमा अनियमितता गरेको र निजी अस्पतालमा अबैध लगानी रहेको उजुरी प्रधानमन्त्री कार्यालयमा समेत परेको छ । अहिले पनि रिजालले सेन्टरबाट बिरामी रेफर गर्दै आफ्नो अस्पतालमा पठाउने गरेका छन् ।
ट्रमा सेन्टरमा बेथिति र भष्टाचार मौलाउदै गएपछि त्यहाँ केही पदाधिकारी, चिकित्सकको सल्लाहमा कर्मचारीहरुले प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग, सर्तकता केन्द्र, सम्पत्ति शुद्धीकरण र स्वास्थ्य मन्त्रालयलाई सम्बोधन गरेर उजुरी दिएका थिए । सोही बिषयलाई आर्थिकन्युजले प्रमाणसहित खबर प्रशारण गरेको थियो ।
आर्थिकन्यूज