काठमाडौं । आर्थिकन्युजका प्रबन्ध सम्पादक इन्द्र बानियामाथि राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत महिला कर्मचारीले हातखुट्टा भाँच्ने र ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै शाखाले सम्बन्धित सुरक्षा निकाय र प्रशासनलाई घटनाको तत्काल, निष्पक्ष र पारदर्शी अनुसन्धान गरी घटनामा संलग्न दोषीहरुलाई कानूनबमोजिम कडा कारबाही गर्न जोडदार माग समेत गरेको छ ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले प्रेश विज्ञप्ति जारी गर्दै आर्थिकन्युजका प्रबन्ध सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य पत्रकार इन्द्र बानियामाथि राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत महिला कर्मचारीले हातखुट्टा भाँच्ने र ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । 'यस घटनामा अपशब्द प्रयोग, गालीगलौज, अभद्र व्यवहार र प्रत्यक्ष ज्यान मार्ने धम्कीसमेत दिएकी छिन । जुन कुनै पनि दृष्टिले सामान्य वा सह्य हुँदैन।'
पत्रकार बानियाले आफ्नो पेशागत दायित्व निर्वाह गर्दै आर्थिकन्यूज डटकममार्फत साउन २९ गते राष्ट्रिय ट्रमा सेन्टरमा आर्थिक लेनदेनमा दर्जनौ कर्मचारी नियुक्ति, प्रमुखलाई कारवाही र निलम्बनको उजुरी प्रति स्वास्थ्यमन्त्री मौन’ शीर्षकको समाचार प्रकाशन गरेका थिए । उक्त समाचारमा सार्वजनिक सरोकारका गम्भीर मुद्दा आर्थिक पारदर्शिता, नियुक्ति प्रक्रियामा देखिएका अनियमितता र जिम्मेवार निकायको मौनत उठान गरिएको थियो ।
उक्त समाचारको बिषयलाई लिएर कम्पनीका अध्यक्ष तथा प्रबन्ध सम्पादक इन्द्र बानियालाई हात खुट्टा भाचिदिने धम्की आएको थियो । ट्रमा सेन्टरमा कार्यरत भन्ने शोभा ठकुरी बताउने एक महिला र अर्का उपेन्द्र धामीले फोन गरेर धम्की दिएका थिए । ट्रमा सेन्टरको कर्मचारी बताउने ती महिलाले महिलाको शक्ति देखाउने भन्दै आर्थिकन्यूजको कार्यालयमा प्रहरीले घेर्ने धम्की दिदै भनिन्, पत्रकारलाई धम्की दिन पनि हैसियत हुन पर्छ म नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको जिल्लाको काँग्रेस हो त जस्तालाई ठेगान लगाउन जानेकी छु ।’
'यस्तै विषयमा समाचार सम्प्रेषण गर्नु पत्रकारको संवैधानिक अधिकार मात्र नभई लोकतान्त्रिक समाजको दायित्व हो, जुन नेपालको संविधानको धारा १७ ले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको अविभाज्य हिस्सा हो।' विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित समाचारका कारण असन्तुष्ट भएको ट्रमा सेन्टरका केही कर्मचारीहरुले पत्रकारमाथि व्यक्तिगत रूपमा आक्रामक, अपमानजनक र धम्कीपूर्ण व्यवहार देखाएका छन् । यस्तो कार्य प्रेस आचारसंहिता २०७३ को धारा ५ (पत्रकारमाथि शारीरिक तथा मानसिक आक्रमण नगर्ने) को प्रत्यक्ष उल्लंघन हो । साथै मुलुकी फौजदारी संहिता २०७४ अनुसार ज्यान मार्ने धम्की, सार्वजनिक मर्यादा भंग र आपराधिक धम्की दण्डनीय अपराध हुन् जसमा दोषीलाई कैद तथा जरिवानाको प्रावधान रहेको छ ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले यस आपराधिक तथा अमानवीय कार्यको कडाभन्दा कडा शब्दमा भत्र्सना गरेको छ । स्वतन्त्र प्रेस, सत्य सूचनाको अधिकार र निर्भीक पत्रकारिता लोकतान्त्रिक शासन व्यवस्थाका आधारस्तम्भ हुन् । यस्ता आक्रमणहरूले पत्रकार हरूमा त्रास, असुरक्षा र आत्म सेसरको वातावरण सिर्जना गर्ने खतरा हुन्छ जसले अन्ततः नागरिकको सूचनाप्राप्ति अधिकारमै चोट पुयाउँछ ।
साथै शाखाले सम्बन्धित सुरक्षा निकाय र प्रशासनलाई घटनाको तत्काल, निष्पक्ष र पारदर्शी अनुसन्धान गरी घटनामा संलग्न दोषीहरूलाई कानूनबमोजिम कडा कारबाही गर्न जोडदार माग गरेको छ ।
'पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्नु सरकार, न्यायिक निकाय प्रहरी प्रशासन र नागरिक समाजको साझा दायित्व हो । यसर्थ पत्रकारमाथि हुने धम्की, दुव्र्यवहार र आक्रमणका घटनाप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्न हामी सम्बद्ध सबै पक्षसँग दृढ आग्रह गर्दछौं ।' नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

आर्थिकन्यूज