शीर्षकहरू

व्यापार खस्कदै गएको टेलिकमलाई कर र ब्याजदरको असर, नाफा साढे ३ अर्बले घट्यो

व्यापार खस्कदै गएको टेलिकमलाई कर र ब्याजदरको असर, नाफा साढे ३ अर्बले घट्यो

काठमाडौं । नेपाल टेलिकमको नियमित आम्दानीमा गिरावट आउनुका साथै ब्याज आम्दानीमा आएको गिरावट, कर्मचारी निवृत्तिभरण खर्च वृद्धि तथा कर खर्च उच्चदरले बढेपछि नाफामा  भारी गिरावट आएको छ । कम्पनी नविकरण गर्दा एकमुष्ठ रुपमा ठूलो रकम खर्चनुपर्दा नाफामा उच्च गिरावट आएको कम्पनीको भनाई छ ।

कम्पनीले गत आर्थिक वर्ष ०८१-०८२ मा २ अर्ब ६६ करोड ८१ लाख नाफा गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको मुनाफा ३ अर्ब ५६ करोड अर्थात् ५७.२१ प्रतिशतले कमी आएको हो । गत आवको यसै अवधिमा ६ अर्ब २३ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको आम्दानीमा गिरावट आउनुका साथै कर खर्च उच्चदरले बढेपछि नाफामा  भारी गिरावट आएको हो । कम्पनीले गत आर्थिक वर्षमा कुल ३८ अर्ब ७३ करोड ३३ लाख रुपौयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले ४२ अर्ब ११ करोड ६९ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । कम्पनीको कुल आम्दानी नै ३ अर्ब ३८ करोड ३५ लाख अर्थात् ८.०३ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा कम्पनीले आफ्नो उत्पादन तथा सेवाको बिक्री मार्फत ३४ अर्ब ५३ करोड रुपैयाँ संचालन आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनमा २ करोड ७८ लाख अर्थात् ०.०८ प्रतिशत  कम हो । अघिल्लो आर्थिक वर्षमा ३४ अर्ब ५६ करोड रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ६ अर्ब ७८ करोड रुपैयाँबाट घटेर ३ अर्ब ७० करोड रुपैयाँमा झरेको छ । यस्तै अन्य आम्दानी पनि ७७ करोडबाट ४९ करोडमा झरेको छ । साथै कम्पनीको कर खर्च ११ करोड ४४ लाख रुपैयाँ बाट बढेर ४ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले गत वर्ष जीएसएम अनुमति पत्र नवीकरणको लागि २० अर्ब एकमुष्ठ भुक्तानी गर्नुपरेको  जनाएको छ । साथै संचालक समितिको निर्णय बमोजिम कर्मचारीहरुको निवृत्तिभरणको व्यवस्थाको लागि अघिल्लो वर्ष ४ अर्ब ९७ करोड र गत आवको तेस्रो त्रैमासिकसम्म करिब १३ अर्ब १५ करोड छुट्टयाए पश्चात लगानीमा कमी भएको बताएको छ । साथै बैंक ब्याजदर क्रमिक रुपमा घटेकाले अघिल्लो आवको तुलनामा गत आवमा ब्याज आय नै ३ अर्ब ७ करोड ११ लाख अर्थात् ४५.२९ प्रतिशतले घटेको कम्पनीको भनाई छ । 

ओटीटी सेवाहरुको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेका कारण अन्तरआवद्धता आयमा कमी आएको तथा साथै ओटीटी सेवाले कम्पनीको समग्र भ्वाइस एसएमस सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको कम्पनीको भनाई छ ।

नाफा आएको उच्च गिरावटसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उच्चदरले घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३४ रुपैयाँ ६४ पैसाबाट १४ रुपैयाँ ८२ पैसामा झरेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ४९५ रुपैयाँ ३३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५९.१८ गुणा रहेको छ ।१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७१ अर्ब १५ करोड रुपैयाँ सञ्चित छ ।

null