काठमाडौं । अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीहरूलाई शैक्षिक परामर्श प्रदान गर्दै आएका व्यवसायीहरूको अर्को एउटा छाता संस्थाको खुलेको छ। शुक्रवार धुम्बाराही स्थित होटेल स्मार्टमा आयोजित एक भव्य समारोहकाबीच नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) को खुलेको हो। शैक्षिक परामर्श व्यवसायीहरूका समस्यामा अभिभावकत्व लिने साझा संस्थाको अभाव भएको भन्दै सो भूमिका निभाउनका लागि नेक्साको स्थापना गरिएको हो।
नेक्साका नवनिर्वाचित अध्यक्ष सन्तोष खनालको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापा प्रमुख अतिथिका रूपमा रहेका थिए। प्रसिद्ध हास्य कलाकार मनोज गजुरेलको विशेष उपस्थिति रहेको कार्यक्रममा विभिन्न विदेशी शैक्षिक संस्थाको प्रतिनिधित्व गर्ने व्यक्तित्वहरू, विदेशी भाषा परीक्षा प्रदायकका प्रतिनिधिहरू तथा अन्य विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा नेक्सामा आबद्ध करिब १०० शैक्षिक परामर्श व्यवसायीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै नेक्साका वरिष्ठ उपाध्यक्ष आशिष कुँवरले यो उद्घाटन केवल नयाँ अध्याय सुरुवात मात्रै नभई नेपालको शैक्षिक भविष्यको नयाँ भविष्य लेखनको पनि सुरुवात भएको बताए। अन्तर्राष्ट्रिय शिक्षा प्रवर्द्धन गर्दै उच्चतम व्यावसायिक मापदण्डमा काम गर्न नेक्सा प्रतिबद्ध रहेको उनको भनाई थियो। सदस्य, साझेदार र शुभेच्छुकहरूको विश्वास नै संस्थाको बल भएको भन्दै उनले सबैलाई बहुपक्षीय हित सहितको साझेदारीका लागि अपिल गरे।
कार्यक्रममा नेक्साका नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अतिथिको हातबाट प्रमाण पत्र प्रदान गरिएको थियो। त्यस्तै तिन जना साझेदारहरूलाई प्रमुख अतिथिकै हातबाट सम्मान गरिएको थियो। यस अन्तर्गत मात्र एजुकेसनका सम्पादक रमेश लामिछानेलाई सञ्चारकर्मी सम्मान, नेक्साका कानुनी सल्लाहकार सुदिप अर्याल र नेक्सा सदस्य प्रवीण आचार्यलाई विशेष समान प्रदान गरिएको थियो।
आर्थिकन्यूज