काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानी सीमा २ लाख डलरले बढाएको छ । केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र-२०८१ संशोधन गर्दै चाँदी आयातमा भुक्तानीका लागि डलर सटही सुविधा ३ लाख डलरबाट बढाएर ५ लाख डलर कायम गरेको हो ।
केन्द्रीय बैंकले आइतबार एक निर्देशन जारी गर्दै राष्ट्र बैंक बैंकिङ्ग विभागलगायत सम्पूर्ण प्रदेशस्थित कार्यालयहरु, विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरु तथा विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त सम्पूर्ण निकायहरुलाई सो अनुसार गर्न निर्देशन दिएको छ।
संशोधित व्यवस्था अनुसार सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर ५ लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा पाउनेछन् ।
अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रति पटक १ लाख अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ । तर, चाँदीको गरगहना, कलात्मक वस्तु आदि निकासी गर्ने चाँदी व्यवसायीलाई भने निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतीतपत्र वा विदेशबाट खरिद आदेशको आधारमा सटही सुविधा प्रदान गर्न सकिने जनाएको छ । जसका लागि चाँदी आयातमा भुक्तानीको सीमा लागू नहुने जनाएको छ ।
सटही सुविधा दिने सम्बन्धित वाणिज्य बैंकले प्रत्येक पटक सटही सुविधा प्रदान गर्दा सो पूर्व सटही सुविधा प्रदान भएको भए सो अन्तर्गत चाँदी आयात भई तोकिएबमोजिम निर्यात भए नभएको एकिन गर्नु पर्नेछ । सम्बन्धित वाणिज्य बैंक बाहेक अन्य वाणिज्य बैंकबाट चाँदी आयातको सटही सुविधा लिई निर्यातको भुक्तानी लिन वक्यौता नरहेको सम्बन्धी स्वःघोषणा चाँदी व्यवसायीसँग लिनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।
आर्थिकन्यूज