शीर्षकहरू

६ लाख ग्राहकको घरमा स्मार्ट मिटर राखिने

६ लाख ग्राहकको घरमा स्मार्ट मिटर राखिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका ६ लाख ग्राहकको घरमा जडित मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने भएको छ । प्राधिकरणको ४० औ वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले मुलुक भरका ग्राहकको घरमा जडान भएका मिटरलाई क्रमशः स्मार्ट मिटरले प्रतिस्थापन गर्ने बताएका छन् ।

यस्तै, सन् २०५० को विद्युत माग धान्ने गरी गुणस्तर वृद्धि तथा नियमित आपूर्तिका लागि काठमाडौं लगायत प्रमुख शहरहरूमा प्रसारण तथा प्रणाली निर्माणलाई प्राथमिकता दिइने उनले बताए ।

यस्तै, देशका सम्पूर्ण नागरिकको घरधुरीमा पूर्ण विद्युतीकरण, औद्योगिक एवम् व्यापारिक लगायत सबै वर्गमा ग्राहकको आवश्यकता अनुसार विद्युत आपूर्तिका लागि वितरण प्रणालीको विस्तार एवम् सुदृढीकरणका कार्यहरू गरिने प्रतिबद्धता गरे ।

परम्परगत तथा खनिज उर्जालाई प्रतिस्थापन गर्न गार्हस्थ उपयोग, चार्जिङ्ग स्टेशन, कृषि, उद्योग, पर्यटन आदि क्षेत्रमा विद्युतको खपत वृद्धि कार्यक्रम सञ्चालन गरिनेछ । निजी क्षेत्रलाई समेत यस व्यवसायमा लगानी गर्न प्रोत्साहन गर्ने प्राधिकरणको योजना रहेको छ । साथै प्राधिकरणको संगठनात्मक क्षमता एवम् सेवा प्रवाहको दक्षता अभिवृद्धि गर्न प्राधिकरणको आईटी पोलिसी २०८० अनुरूप डिजिटलाइजेसनको कार्य अगाडि बढाइनेछ।

संस्थागत सुधारका लागि पाँच वर्षे संस्थागत विकास योजना तयार गरी लागू गरिनेछ । आव २०८१/८२ को देखि शुरु गरिएको कर्मचारीहरूको सेवाकालीन तालिम लगायत मानव संसाधन विकासका कार्यक्रमहरूलाई निरन्तरता दिने प्राधिकरणको योजना छ। 

सीमापार विद्युत आदान प्रदानका लागि प्रसारण लाइन अघि बढाइने

नेपाल विद्युत प्राधिकरणले सीमापार विद्युत आदान प्रदानका लागि इनरुवा–न्यूपूर्णिया ४०० केभी र दोधरा (लम्की)–बरेली ४०० केभी प्रसारण लाइन अघि बढाउने भएको छ । प्राधिकरणको ४० औ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्राधिकरणका प्रबन्ध निर्देशक शाक्यले चीनतर्फ चिलिमे–रसुवागढी–केरुङ्ग २२० केभी प्रसारण लाइन पनि अघि बढाइने बताए । यी प्रसारण लाइनहरु नेपालको २०३५ सम्ममा १५ हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य प्राप्त गर्न र भारततर्फ आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत आयात गर्ने प्रतिबद्धता पुरा गर्न महत्वपूर्ण हुने प्राधिकरणको अपेक्षा छ ।

यस्तै, प्राधिकरणले बाह्बिसे–काठमाडौ, हेटौडा–ढल्केवर ४०० केभी प्रसारण लाइन आयोजन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ । नयाँ बुटवल–लमही ४०० केभी, तिङ्ला–दूधकोश–ढल्केवर ४०० केभी, अरुण हब–इनरुवा ४०० केभी, नयाँ खिम्ती–ढल्केवर ४०० केभी र लप्सीफेदी–तीनपिप्ले २२० केभी आयोजना निर्माण प्रक्रिया अगाडि बढाउने योजना अघि सारेको छ । 

साथै उर्जा सुरक्षा र दैनिक माग व्यवस्थापनको दृष्टिकोणबाट आवश्यक देखिएको पम्प स्टोरेज आयोजनाहरू १०० मेगावाटको कुलेखानी–सिस्नेरी, ३३४ मेगावाटको स्यार्पु ताल र ४९५ मेगावाटको हुलिङटार, व्याट्री स्टोरेज आयोजनाहरुको विस्तृत अध्ययन गरी कार्य अगाडि बढाइने भएको छ ।

सरकारको प्राथमिकतामा परेको र प्राधिकरणको सहायक कम्पनीबाट अघि बढाइएका दूधकोसी जलाशययुक्त ६७० मेगावाट, उत्तरगंगा जलाशययुक्त ८२८ मेगावाट, माथिल्लो अरुण १०६३ मेगावाट, तनहुँको तल्लो सेती १२६ मेगावाट, चैतपुर सेती २१० मेगावाट, सेतीनदी–३, ८७ मेगावाट र इखुवा खोला ४० मेगावाट आयोजनाहरुको निर्माणलाई गति दिइने भएको छ । 

३१ वटा निजी प्रवद्र्धकसँग विद्युत खरिद सम्झौता

नेपाल विद्युत प्राधिकरणले ३१ वटा निजी प्रवद्र्धकहरुसँग ९३२ मेगावाटको जलविद्युत अयोजनाको खरिद सम्झौता गरेको छ । आठ वटा प्रवद्र्धकहरुसँग १७० मेगावाटको सौर्य विद्युत आयोजनासँग पिपिए भएको प्राधिकरणले जनाएको छ । यस्तै, कुल विद्युत खरिद सम्झौता संख्या ४९४ र कुल क्षमता ११ हजार ४३६ मेगावाट रहेको छ । 

आव २०८१÷८२ विद्युत व्यापारको क्षेत्रमा ऐतिहासिक वर्ष साबित भएको छ । सो वर्ष नेपाल भारत र बंगलादेश बीचको त्रिपक्षीय सहमति भएको छ । नेपालबाट ४० मेगावाटको विद्युत बंगलादेश निर्यात आरम्भ भएको छ । भारत सरकारबाट भारत निर्यातका लागि नेपालको ३० वटा जलविद्युत केन्द्रको अनुमति प्राप्त भएको छ भने १०१० मेगावाटको लागि निर्यात अनुमति प्राप्त भएको छ ।

नेपालको आन्तरिक विद्युत खपत १०७ प्रतिशतले वृद्धि 

नेपाल विद्युत प्राधिकरणले नेपालको आन्तरिक विद्युत खपत १०ं७ प्रतिशतले वृद्धि भई ११ हजार ३१९ गिगावट घण्टा पुगेको बताएको छ । यस्तै, गत आवसम्ममा राष्ट्रिय विद्युत प्रणालीमा जडित क्षमता तीन हजार ५९१ मेगावाट र राष्ट्रिय प्रणालीमा विद्युत उपलब्धता १५ हजार ६४१ गिगावाट घण्टा पुगेको छ ।

विद्युतमा प्राधिकरण तथा सहायक कम्पनीहरूको योगदान ३४ प्रतिशत छ भने स्वतन्त्र विद्युत उत्पादकहरुको योगदान ५५ प्रतिशत रहेको छ । यस्तै, ११ प्रतिशत विद्युत भारतबाट आयात हुने गरेको छ ।

प्राधिकरणको ग्राहक संख्या अघिल्लो वर्षको तुलनामा ४.६ प्रतिशतले वृद्धि भई कुल ग्राहक संख्या ५७ लाख १० हजार पुगेको छ । राष्ट्रिय ग्रिण पहुँच करिब ९८ प्रतिशत पुगेको छ । विद्युत चुहावटमा ०.४७ प्रतिशत ले कमी आएको छ भने विद्युत चुहावट १२.२६ प्रतिशत कायम रहेको प्राधिकरणले जनाएको छ ।

९ अर्ब ६ करोड नाफा आर्जन ग¥र्यो प्राधिकरणले 

नेपाल विद्युत प्राधिकरणको कर अघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ पुगेको छ । विद्युत विक्री तथा अन्य स्रोतबाट प्राप्त कुल आम्दानी एक खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । सञ्चालन खर्च, ब्याज खर्च लगायतका सम्पूर्ण खर्चहरू सहित कुल खर्च एक खर्ब २९ अर्ब ८१ करोड पुगेको छ ।

यस्तै, प्राधिकरणको कुल सम्पति ६.२ प्रतिशत वृद्धि भएको छ भने कुल सम्पति ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको छ । प्राधिकरणको प्रणालीमा कुल ४३४ मेगावाट थप भएको छ भने सहायक कम्पनीहरूको १५३.५ मेगावाट योगदान पुगेको छ । निजी क्षेत्रको २८०.५ मेगावाट, सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनीबाट १११ मेगावाट र साञ्जेन जलविद्युत कम्पनीबाट र ४२.५ मेगावाट विद्युत थप भएको छ ।

१०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजनाको परिक्षण कार्य अन्तिम चरणमा रहेको छ । प्रणालीमा कुल २५३ सर्किट किलोमिटर लाइन थप भई कुल लम्बाई ६,७६० सर्किट किलोमिटर पुगेको छ ।