काठमाडौं । शेयर बजार ओरालो लाग्ने क्रममाले यो साताको पहिलो दिन आइतबार पनि निरन्तरता पाएको छ । गत विहीबारको तुलनामा आइतबार कारोबार रकम बढेपनि बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक २७.१४ अंकले घटेर २७६१ अंकमा झरेको छ ।
नेप्से घटेपनि यसदिन कारोबार रकम बढेको छ । यसदिन २४९ कम्पनीको ७ अर्ब ७३ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । गत बिहीबार ७ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।
आइतबार ५८ वटा कम्पनीको शेयर मूल्य बढ्दा बजारमा ७ अर्ब ७३ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ। आज १९१ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ।
कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार, अन्य, लघुवित्त, उत्पादन तथा प्रशोधन र बैंकिङको उपसमूहको परिसूचक १ प्रतिशत भन्दा धेरैले घटेको छ ।
बजार निरन्तर ओरालो लागिरहँदा लगानीकर्ताले स्टप लसका लागि शेयर बिक्री बढाएका छन्।जसका कारण लगानीकर्तामा मनोवैज्ञानिक दबाब बढाएपछि बजारमा खरिदचापको तुलनामा बिक्रीचाप बढेको देखिन्छ । पछिल्लो समय बजारमा लगातार दोहोरो अंकको गिरावट आउँदै गर्दा लगानीकर्ताहरु प्यानिक बन्दै गएका छन्।
गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा यही साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो। त्यसयता उतारचढावमा रहेको बजारमा ओरालो गति नै बढी देखिन्छ।
यस दिन सर्वाधिक मूल्यम बढ्नेमा आरबीबी म्युचुअल फण्ड १ को इकाई मूल्य ७.९३ प्रतिशतले बढेको छ । अपर स्याङ्गी हाइड्रोपावर कम्पनीको मूल्य ६.२९ प्रतिशतले बढेको छ भने कालिका पावर र अपर हेवा खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५ प्रतिशत भन्दा बढी बढेको छ।
त्यसैगरी, आजको बजारमा सम्पदा लघुवित्तको शेयर मूल्य सर्वाधिक ७.०६ प्रतिशतले घटेको छ भने ट्रेड टावर कम्पनीको शेयर मूल्य ५.८८ प्रतिशतले घटेर कारोबार भएको हो ।
कारोबार रकमका आधारमा यस दिन नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ५१ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन रिइन्स्योरेन्स कम्पनीको ३५ करोड ४५ लाख रुपैयाँ र नेपाल रिपब्लिक मिडियाको २४ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
आर्थिकन्यूज