शीर्षकहरू

ब्रान्ड डिजिटल र टिसिएस स्पोर्टसलाई १०/१० हजार जरिवाना

ब्रान्ड डिजिटल र टिसिएस स्पोर्टसलाई १०/१० हजार जरिवाना

काठमाडौं । विज्ञापन बोर्डले ब्रान्ड डिजिटल लजिक ललितपुर र टिसिएस स्पोर्टस मार्केटिङ टंगाललाई १०/१० हजार रुपैयाँ जरिवाना गरेको छ । विज्ञापन ऐन विपरित बोर्डमा सूचीकृत नभई विज्ञापन कारोबारमा संलग्न भएको भन्दै बोर्डले जरिवाना सहित तीन महिनासम्म सूचना लिन वा दिने कार्यमा रोक समेत लगाएको छ । बोर्डको गत २९ गते बसेको बैठकले कारवाहीको निर्णय गरेको हो । 

बोर्डले आगामी कार्तिक २० गतेसम्म ब्राण्ड डिजिटल र टिसिएम स्पोर्टससँग कुनै पनि प्रकारको विज्ञापन कारोबार नगर्न नगराउनु सबै विज्ञापदाता र सञ्चारमाध्यमलाई आग्रह गरेको छ । 

यस्तै नेपाल क्रिकेट संघलाई बोर्डले विज्ञापन ऐन २०७६ एवं अन्य प्रचलित ऐन तथा नियम विपरीत विज्ञापन नगर्न सचेत गराएको छ । संघले बोर्डको पत्रको समयमा नै जवाफ नदिएको र दिएको जवाफ पनि चित्त बुझ्दो नभएको बोर्डले जनाएको छ ।

संघले गत मंसिर १५ देखि पुस ६ सम्म आयोजना गरेको नेपाल प्रिमियर लिगका खेलहरुका सम्बन्धमा ट्वान्टी फस्ट सेन्चुरी मिडिया नामक विदेशी कम्पनी मार्फत स्टार स्पोर्टस च्यानलबाट विज्ञापन सहित प्रसारण गरेका, जुवा खेल्ने खेलाउने लगायतका विज्ञापनहरू खेलाडीको टिसर्ट, ग्राउण्डमा राखिएको र खेलमा बेटीङ्ग समेत गरिएको भनी बोर्डमा उजुरी परेको थियो । उजुरीको अनुसन्धान पछि बोर्डले कारवाही गरेको हो ।