शीर्षकहरू

चितवनमा चोरी गर्न बालबालिकाको प्रयोग बढ्दो

चितवनमा चोरी गर्न बालबालिकाको  प्रयोग बढ्दो

चितवन । गत एक वर्षको अवधिमा विभिन्न अपराधमा संलग्न १० देखि १८ वर्ष उमेर समूहका ८६ बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ। चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीका अनुसार ती बालबालिका आठ किसिमका मुद्दामा पक्राउ परेका हुन्।

उनका अनुसार सार्वजनिक कसूर तथा अभद्र व्यवहारमा २६, चोरीमा २२, लागुऔषधमा २१, ज्यानमार्ने उद्योगमा सात, जबरजस्ती करणीमा पाँच, जबरजस्ती करणी उद्योगमा दुई, सवारी ज्यानमा दुई र साइबर अपराधमा एक जना बालबालिका पक्राउ परेका छन्।

एसपी पुरीले पछिल्लो समय विभिन्न अपराधमा बालबालिकाको प्रयोग बढ्दै गएको बताए। विशेषगरी चोरी र लागुऔषध ओसारपसारमा बालबालिकालाई बढी प्रयोग गर्ने गरिएको छ। उनले भने, “बालबालिकालाई सामान्य रकम दिएर अपराधमा सहभागी गराउन थालिएको छ।”

उनका अनुसार सार्वजनिक कसूर तथा अभद्र व्यवहारमा समेत बालबालिकालाई प्रयोग गरिएको छ। चोरीका मुद्दामा भने वयस्कहरूले बालबालिकामार्फत आर्थिक लाभ उठाउने गरेको तथ्य फेला परेको छ।

“चोरीका घटनामा तराई क्षेत्रका बालबालिकालाई ल्याएर चोरी गराइने गरेको पाइएको छ। यस्ता कतिपय घटनामा चोरी गराउने वयस्कलाई समेत पक्राउ गरी कारबाही गरिएको छ,” उनले जानकारी दिए।