शीर्षकहरू

गत वर्ष ८८ करोड ६६ लाख स्टार्टअप कर्जा वितरण

गत वर्ष ८८ करोड ६६ लाख स्टार्टअप कर्जा वितरण

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा सरकारले ८८ करोड ६६ लाख रुपैयाँ स्टार्टअप कर्जा वितरण गरेको छ । स्टार्टअप कर्जाका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा तीन हजार ३२३ प्रस्ताव परेको थियो । तीमध्ये एक हजार ७३ वटा परियोजनाको व्यावसायिक प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरण दिएकामध्ये ६०० वटा परियोजनाले कर्जा पाएका छन् । छनौट भएका स्टार्टअप उद्यमीहरुले पायक पर्ने वाणिज्य बैंकहरुबाट कर्जा प्राप्त गरेका छन् ।

गत आवमा स्टार्टअप उद्यमका लागि काठमाडौं जिल्लाबाट सबैभन्दा धेरै आवेदन परेको थियो । यस्तै, दुर्गम जिल्लाहरू कालिकोट, जाजरकोट, अछामलगायतका जिल्लाबाट समेत आवेदन परेका थिए । उपत्यकाका तीनवटा जिल्ला काठमाडौं, भक्तपुर, ललितपरका साथै ४० भन्दा बढी जिल्लाबाट स्टार्टअप उद्यम गर्न इच्छुकहरूले आवेदन दिएका थिए । 

स्टार्टअप उद्यम तथा व्यवसायका लागि दिइएको आवेदनमा कृषि तथा पशु फर्म, जडीबुटी संकलन सिलाइ, डेरी, पोल्टीलगायतका उद्योग तथा व्यवसाय सञ्चालन गर्न इच्छुक रहेका थिए  । साथै, निर्माण, प्रविधि, गार्मेन्ट, मासुजन्य उद्योग सञ्चालन गर्न इच्छुक देखिएका छन् । परियोजनाअन्तर्गत कृष्णम् स्मार्ट इन्जिनियरिङ सोलुसन प्रालि नागार्जुन नगरपालिका १०, काठमाडौं, एएस एग्रो फिदिम नगरपालिका ४, पाँचथर, लुनिभा रेष्टुरेन्ट एन्ड गेस्ट हाउस, भक्तपुर नगरपालिका–६ बाट आएको देखिन्छ । साथै, देवलोक केमिकल उद्योग विराटनगर महानगरपालिका १३, रणवीरण प्लेट उद्योग, वीरगञ्ज २८ र नललक्ष्मी ब्लक उद्योग कैलाली–२ बाट आएको थियो  । 

सरकारले नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएको उद्यमीलाई लक्षित गरी स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ अनुरुप कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वीकृत कार्यविधिअनुरुप उद्यम तथा परियोजनालाई धितो मानेर तीन प्रतिशत ब्याजदरमा स्टार्टअप कर्जा पाउन सकिनेछ । कर्जा प्रवाह गर्ने बैंकले कर्जा प्रवाह गर्दा प्रशासनिक वा सेवा शुल्कवापत सम्बन्धित उद्यमीबाट कर्जा रकमको अधिकतम शून्य दशमलव एक प्रतिशतसम्म सेवा शुल्क लिन सक्ने कार्यविधिमा उल्लेख छ ।