काठमाडौं । गत आर्थिक वर्ष २०८१/०८२ मा अधिकांश फाइनान्स कम्पनीहरुको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ । सूचीकृत १५ फाइनान्स कम्पनीमध्ये ४ वटा कम्पनीको मात्रै वितरणयोग्य मुनाफा धनात्मक छ । ९ कम्पनीको वितरणयोग्य मुनाफा ऋणात्मक र २ कम्पनीले वितरणयोग्य मुनाफा खुलाएकै छैनन् ।
सबैभन्दा धेरै वितरणयोग्य मुनाफा मञ्जुश्री फाइनान्सको रहेको छ । सो कम्पनीको वितरणयाग्य मुनाफा ३५ करोड ४४ लाख रुपैयाँ रहेको छ । यसैगरी, सबैभन्दा कमजोर पोखरा फाइनान्सको रहेको छ । यस कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ५६ करोड १ लाख रुपैयाँले ऋणात्मक छ ।
वितरणयोग्य मुनाफाले कम्पनीको लाभांश वितरण क्षमता दर्शाउँछ । तर, वितरणयोग्य मुनाफा ऋणात्मक भएको कम्पनीले भने लाभांश वितरण गर्न पाउँदैन ।
प्रति शेयर आम्दानीका हिसाबले आईसीएफसी फाइनान्स अब्बल रहेको छ । आईसीएफसीको ईपीएस २९.१५ रुपैयाँ रहेको छ । सबैभन्दा कमजोर जानकीको ३०.०२ रुपैयाँले ऋणात्मक छ । जानकी सहित ३ कम्पनीको ईपीएस ऋणात्मक रहेको छ । गोर्खाज फाइनान्स र पोखरा फाइनान्सको पनि ईपीएस ऋणात्मक रहेको छ ।
प्रति शेयर नेटवर्थका आधारमा गुडविल फाइनान्स अगाडी रहेको छ । गुडविलको प्रति शेयर नेटवर्थ १९७.१४ रुपैयाँ रहँदा जानकीको सबैभन्दा कम ३.०१ रुपैयाँ रहेको छ । जानकीसहित ४ कम्पनीको प्रति शेयर नेटवर्थ १०० रुपैयाँ भन्दा कम रहेको छ ।

आर्थिकन्यूज