शीर्षकहरू

छोरी शिक्षा बीमा कार्यक्रम स्थगित

छोरी शिक्षा बीमा कार्यक्रम स्थगित

महेन्द्रनगर। मधेस प्रदेश सरकारले सात वर्ष अगाडि सञ्चालनमा ल्याएको मुख्यमन्त्रीले ‘बेटी पढाउ बेटी बचाउ’ योजना अन्तर्गत छोरी शिक्षा बीमा कार्यक्रम स्थगित भएको छ ।

मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा छोरी शिक्षा बीमाको लागि बजेट विनियोजन नगरेको शिक्षा विकास निर्देशनालयले जनाएको छ । 

निर्देशनालयका छोरी शिक्षा बीमा कार्यक्रमका संयोजक प्रियङ्का यादवले बजेट अभावमा सो कार्यक्रम हाल स्थगित भएको बताइन् । निर्देशनालयबाट प्राप्त विवरणअनुसार छोरी शिक्षा बीमा कार्यक्रम अन्तर्गत हालसम्म १४ हजार ४५३ जना छोरीको बिमा गरिएको जानकारी दिइएको छ ।

कार्यक्रम संयोजक यादवका अनुसार आव २०७५/७६ मा पाँच हजार ६६६ जना, आव २०७८/७९ मा एक हजार ७०२, आव २०७९/८० मा तीन हजार ३०२ जना, आव २०८०/८१ मा तीन हजार ७८३ जना छोरीको बिमा गरिएको थियो ।

हाल १० हजार छोरीको बिमाको प्रिमियम तिर्न बाँकी छ । कार्यक्रम अन्तर्गत एक जनाको बिमा गर्दा रु ३७ हजार चार सय ५७ रुपैयाँ ३७ पैसा प्रिमियम तिर्नुपर्छ ।